• २०८१ असोज २४ बिहीबार

तिमीले बनाएको तस्वीर

रञ्जना निरौला

रञ्जना निरौला

तिम्रो मातृत्वले कुँदेर
शिलान्यास भएको हो जीवन
स्नेहको कुचिले पोतेर
आफ्नै शरीरको क्यानभासमा
बनाएकी हौ मेरो देहको चित्र
र टेकाएकी हौ वासन्ती भुगोलमा
स- साना मेरा पाउहरू !

अन्त्यहिन संघर्षको
विपक्षी बनेर उसैगरी
सिकाइरहन्छौ सुधा जस्तै अमूल्य ज्ञान
देखाइरहन्छौ सुर्यले जस्तै उज्याला बाटाहरू
गरिरहन्छौ गुलावलाई काँडाले झैँ सुरक्षा
अनभूतिकाती उकालीबाट
भरिरहन्छौ प्रेरणा !

तिमी छौ र त छ यो जीवन जीवन जस्तो
घर घर जस्तो परिवार परिवार जस्तो
तिमीभएर नै उभिएका छन्
अरू आधारहरू
मजबुत, सुरक्षित र सुन्दर संसारको !

यदाकदा घरबाट निस्कँदा तिमी
नियास्रिन थाल्छन कोठाहरू
चुहिन खोज्छ घरको छानो
गनगन गर्छन् चोटा, आँगन र बलेँसी
अस्वस्थ बन्छौ नी जब
धरमराउँछ घरको जग र
हल्लाउँछ हामीलाई भित्रैदेखि !

सबै सबै तिमी मै छ निहित
प्रेरणा ममता, स्नेह र संरक्षणका
चार दिशा माथी
तिम्रो साहसका अक्षाँस र गोलाद्र्धमा
अडिएको छ मेरो विश्व
उर्वर छ मेरो धर्ती
र उभिएकी छु म सजीव चित्र !

तिमीले नै सिकायौ
काँडा बनेर हुरी छेक्न
र त म गुलाव बनेर फुल्न सकेकी छु
ढाकिरहन्छौ आकास बनेर
र त म जूनबनेर चिहाउन सकेकी छु
मिलाइरहन्छौ थपिरहन्छौ स्नेहको रंग
र त म सजीव बनेर हाँस्न सकेकी छु

तिमीले रचे बसाएको मातृत्वको क्यानभासमा
तिमीले कोरेको यौटा छवि हुँ
यौटा नक्सा र यौटा कवि हुँ
सँधैभरी तिमी मिलाइरहु रंग
म अपलक हेरिरहुँ तिमीलाई र
समाइरहुँ तिम्रो रंगमा सजीव
कला बनेर
बसिरहुँ तिम्रो आँखाको सामु र
बनुँ कहिले कोरेर नसकिने चित्र
किनकी
तिमीले चलाइरहनु परोस मातृत्वको कुचि
थपिरहनु परोस रंग
मिलाइरहनु परोस धर्साधर्सी
र म रमाइ रहनपाउँ तिम्रा कुचिहरूमा
रंगिइ रहनपाउँ तिम्रा रंगहरूमा
बनेर तिम्रो सुन्दर रचना सुन्दर प्रतिमा !
आमा !
तिमीले बनाएको तस्वीर न हुँ !


(निरौला कवि तथा साहित्यकार हुन् ।)
[email protected]