समाचार
काठमाडौँ ।
नेपाल प्रज्ञाप्रतिष्ठानले १६ असोजमा आयोजना गरेको ‘मोती–लय’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आदिगजलकार मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा जलजला परियारले मोतीराम भट्टका गजल प्रस्तुत गरिन्। गायनमा तबलामा शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका ११ चित्रकारले मोतीरामसम्बन्धी प्रत्यक्ष चित्रकला प्रस्तुत गरे भने शिल्पी थिएटरका कलाकारले मोतीरामको जीवनी तथा गजलमा आधारित अभिनय प्रस्तुत गरे ।
कार्यक्रममा सातै प्रदेशबाट तीन–तीन जनाका दरले नयाँ पुस्ताका २१ गजलकारले गजल वाचन गरे। त्यसैगरी करिब एक दर्जन अग्रज गजलकारले पनि आफ्ना गजल प्रस्तुत गरेका थिए। कार्यक्रमलाई मूल आयोजक समिति सदस्यहरू बाबु त्रिपाठी, सङ्गीता थापा, रूपक अलङ्कार र प्रज्वल अधिकारीले सहजीकरण गरेका थिए । गजल अभियन्ता तथा ‘मोती–लय’ मूल आयोजक समिति सदस्य घनेन्द्र ओझाले गजललाई त्रिभुवन विश्वविद्यालयले यसअघि नै स्वीकार गरिसकेको उल्लेख गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानले मोतीजयन्तीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेकोमा धन्यवाद दिए। उनले मोतीराम आदिगजलकार मात्र नभई आदिप्रकाशक, आदिसम्पादक, आदिजीवनीकार, आदिसमीक्षक, चित्रकार तथा सङ्गीतकारसमेत रहेको उल्लेख गर्दै नाटक, चित्रकला, सङ्गीत र गजल वाचनलाई एउटै कार्यक्रममा समेटिनु मोतीरामको वास्तविक सम्मान भएको बताए ।
कार्यक्रम संयोजक तथा काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले नेपाली साहित्यको मूलधारमा स्थापित गजलको विकास र मोतीरामको सम्मानका लागि कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरिएको बताए। उनले आगामी वर्षदेखि प्रत्येक मोतीजयन्तीमा गजल महोत्सव आयोजना गर्ने र मन्त्रिपरिषद्बाट ‘राष्ट्रिय गजल दिवस’लाई औपचारिक निर्णय गराउने पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका सहसंयोजक तथा दलित, युवा एवं डिजिटलाइजेसन विभाग प्रमुख नवीन अभिलाषीले नेपाली गजलले व्यापकता मात्र नभई आधिकारिक सम्मानसमेत प्राप्त गरेको बताए। कुलपति कुमार नगरकोटीले गजल अभियन्ता घनेन्द्र ओझासँगको संवाद स्मरण गर्दै प्रतिष्ठानले नेपाली गजलको प्रवद्र्धनमा विशेष ध्यान दिने बताए। सचिव डा. रोशन शेरचनले वार्षिक कार्ययोजनामै ‘राष्ट्रिय गजल दिवस’ समेटेर हरेक वर्ष गजल महोत्सव आयोजना गर्ने जानकारी दिए ।
आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती अर्थात् कुशे औँसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय नेपाल प्रज्ञाप्रतिष्ठानको गत साउन २८ गते बसेको पहिलो बैठकले गरेको थियो। सोही निर्णयअनुसार २६ भदौमा आयोजना गर्ने भनिएको ‘मोती–लय’ कार्यक्रम भोटेकोशी बाढीका कारण १६ असोजमा सारिएको थियो ।
