समाचार
काठमाडौं ।
आख्यानमा कलम चलाउँदै आएकी साहित्यकार अनुपम रोशीको निबन्धकृति ‘भगाः एक मौन ब्रह्माण्ड’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो । कृतिमा अस्तित्व, शरीर, सत्ता, समाज, मृत्यु, चेतना र आध्यात्मिकताजस्ता विषयहरू दार्शनिक तथा प्रश्नमुखी दृष्टिले केलाइएको छ । कार्यक्रमका वक्ता विश्लेषक युग पाठकले अनुपमको कृतिलाई चिन्तन र विचारको समग्र एउटा बलियो धरातलमा उभिएको पुस्तकका रूपमा व्याख्या गरे । उनले समकालीन राजनीतिक र परिवेश कमजोर हुँदै गएको पठन–संस्कृतिको अवस्थाबीच रोशीले कृतिमार्फत उठाएका प्रश्नहरू आज हामीले खोजिरहेको जवाफतर्फ संकेत गर्ने बताए ।
साहित्यकार सगुना शाहले कृतिको भावनात्मक तथा दार्शनिक गहिराइको चर्चा गरिन् । उनले एउटा अत्यन्त सुन्दर कृतिको आगमन भएको बताउँदै पुस्तक पढ्दै जाँदा पाठकले विभिन्न ठाउँमा आफूलाई नै भेटने र आफ्नै जीवन, अनुभूति तथा अस्तित्वसँग जोडिएको महसुस गर्ने बताइन् । उनले कृतिभित्रका मृत्यु–चिन्तनसम्बन्धी निबन्धहरू अत्यन्त गम्भीर र दार्शनिक रहेको उल्लेख गरिन् । राम लोहनीले कृतिको समग्र लेखनमा रहेको आध्यात्मिकता र स्वत्वसँगको गहिरो रुझानलाई विशेष रूपमा उल्लेख गरे । पुस्तकका प्रत्येक प्रसंगले पाठकलाई केहीबेर रोकिएर सोच्न बाध्य बनाउने उनको तर्क थियो । शिखा बुक्सले प्रकाशित गरेको यस निबन्धकृतिको मूल्य ६९५ रुपैयाँ रहेको छ ।
