• २०८१ मंसिर १७ सोमबार

प्रिन्सेस झरी

रञ्जना शर्मा

रञ्जना शर्मा

ओ प्रिन्सेस झरी !
कति वर्षेकी दरदरी ?
ओभाएको छैन मेरो
अझै आँखाको बलेँसी
कति बेहाल पार्न जानेकी
मेरो मायालु आँगनैभरि

कति खुसी भा’की हौ यसपालि
आकाश बादलसँग
बाजी मार्दा
तिम्रै विजय भएसरि
त्यसैले त होला
यो वर्ष छ मौन बादल
कमै छ रिसाएर
धर्तीमा वज्रेको समाचार

तिमी यसरी वर्षिदिँदा
ओत लाग्न नपाई
निथ्रुक्क भिजिरहने
मेरी आमाको याद आउँछ
हिजो मात्रै छाउगोठ
पसेकी प्यारी बैनीको
चिन्ताले छाती चस्किन्छ,
अनि पहिरोमा थुनिएका
बाबाको सम्झनाले पिरोल्छ

हुनत समय तिम्रै हो
मेरो व्यथा तिमी
हौसिएको वेला
सुन्छौ कि सुन्दिनौ
म त भन्छु नि
पर्दैन बर्सन, ओ प्रिन्सेस झरी
अरूलाई दुःख दिने नियत गरी
वर्षन्छौ भने बरू
वर्षिरहू त्यो घडी
जब दाइजोको निहुँमा
जल्न लागेकी हुन्छे
एउटी दुःखी पन्छी
अनि वर्षिरहू बारम्बार
दुष्ट महलमा उन्मुक्तिको
मार्ग बनी
वर्षिरहू बारम्बार !!


(शर्मा विगत एक दशकदेखि सिर्जनामा आवद्ध स्रष्टा हुन्.)
[email protected]