• २०८३ आश्विन २०, मंगलवार

डा. अनन्त अधिकारीको ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक

काठमाडौं ।

नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक भएको छ ।

डा. अधिकारीकै आधिकारिक युट्युब च्यानल ‘अनन्त अधिकारी’मार्फत सार्वजनिक गीतमा डा. अधिकारीको शब्द, संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार अष्ट लामाको संगीत र नेपाल आइडल विजेता गायिका गंगा सोनामको स्वर रहेको छ । वरिष्ठ निर्देशक सुनिल पाण्डेको निर्देशनमा तयार भिडियोमा सोनी लगुन, प्रवीण डीसी र राजेश श्रेष्ठले अभिनय गरेका छन्। काठमाडौं उपत्यकाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोले प्रेम, समर्पण, विरह र धोकाका भावनालाई दृश्य तथा अभिनयमार्फत प्रस्तुत गरेको छ । नियात्रा, कविता तथा गीत लेखनमा समेत सक्रिय डा. अधिकारीका ‘सिरीरिरी बतासै चल्यो लै लै’ र ‘म पागल होइन’ लगायतका गीत यसअघि नै चर्चामा छन् ।

‘मुटुसँग खेल खेल्यौ’मा प्रेम र वियोगका सूक्ष्म अनुभूतिलाई संवेदनशील रूपमा प्रस्तुत गरिएको छ। डा. अधिकारीको भावनात्मक शब्दमा अष्ट लामाको संगीत र गंगा सोनामको प्रभावशाली स्वरले गीतलाई जीवन्त बनाएको छ भने कलाकारहरूको अभिनय तथा सुनिल पाण्डेको निर्देशनले भिडियोको भाव पक्षलाई थप सशक्त बनाएको छ । आधुनिक नेपाली गीत–संगीतका पारखीका लागि ‘मुटुसँग खेल खेल्यौ’ भावनात्मक तथा श्रवणीय सांगीतिक प्रस्तुति बनेको छ ।