• २०८३ आश्विन १७, शनिबार

डा. डीआर उपाध्यायको ‘श्रीराम’ भजन सार्वजनिक

काठमाडौं ।

गीतकार तथा विश्व कीर्तिमानी व्यक्तित्व डा. डीआर उपाध्याय खनालको नयाँ भक्तिमूलक भजन ‘श्रीराम’ सार्वजनिक भएको छ । हालै ‘हरे कृष्ण’ भजन सार्वजनिक गरेका उपाध्यायले आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत ‘श्रीराम’ डिआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरेका हुन् ।उपाध्यायकै शब्द र स्वर रहेको भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ । भजनमा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ–माष्टरिङ रहेको छ ।

खेमनाथ खनालको निर्देशनमा तयार भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ । भिडियोमा डा. उपाध्यायसँगै सुनिता खनाल तथा उनका पारिवारिक सदस्यहरूको अभिनय छ । उनको ‘श्रीकृष्ण’ भजन गत साता मात्र सार्वजनिक भएको थियो । गीत–संगीतमा निरन्तर सक्रिय उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन् । उनका ३७ एल्बमका १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक भएको बताइएको छ । गीत–संगीतसँगै पुस्तक लेखनमा समेत सक्रिय उनले गीत, कविता र उपन्यासका विभिन्न कृति पाठकमाझ ल्याएका छन् ।

उपाध्यायका ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’ र ‘आशक्ति’लगायत उपन्यास प्रकाशित छन् । केही समयअघि उनको कवितासङ्ग्रह ‘अन्तसंस्करण’ पनि सार्वजनिक भएको थियो । सिर्जनात्मक प्रयोगका कारण विभिन्न विश्व कीर्तिमान कायम गरेका उपाध्यायले विभिन्न संस्थाबाट १५३ वटा विश्व कीर्तिमानका प्रमाणपत्र प्राप्त गरेको जनाइएको छ । उनका कीर्तिमान गीत–संगीत तथा सिर्जनात्मक प्रयोगसँग सम्बन्धित छन् ।

प्रेम, समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनालगायत विविध विषयमा सिर्जना गर्दै आएका उपाध्यायले मनोरञ्जनसँगै सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आफूले सिर्जना गर्दै आएको बताएका छन् । ‘श्रीराम’ पनि यही सिर्जनात्मक यात्राको पछिल्लो कडी भएको उनको भनाइ छ ।