वासुले फर्केर उसलाई हेर्यो अनि उसले पनि भन्यो– ‘तिमी…तिमी यहाँ…? त…तिमी त…।’
‘वासु , भित्र आइज…!’ बिनीले कुनै जवाफ फर्काउनुभन्दा पहिल्यै मैले सोफाबाटै भनेँ । उसले बिनीको काँधमाथिबाट भित्र चिहायो, अनि मलाई देखेर ढुक्कको सास फेर्दै भन्यो ‘थ्याङ्क गड ! म गलत ठाउँमा पसेको रहेनछु । त…. र…।’ ऊ अन्योलपूर्ण भावले बिनीलाई हेर्दै बिनीको छेउबाट भित्र पस्यो र मेरो छेउमा आएर बस्यो । बिनीले ढोका बन्द गरी ।
‘तिमीहरू एकअर्कालाई चिन्छौ ?’ मैले वासुसँग सोधेँ ।
‘तिमीहरू ? को तिमीहरू ?’ उसले उल्टै सोध्यो ।
‘तिमीहरू…।’ मैले ऊ र बिनीतिर इसारा गरेँ ।
‘म, म कसरी…।’ ऊ अकमकायो
‘उहाँले चिन्नुहुन्छ, चिन्नुहुन्न मलाई थाहा छैन तर म उहाँलाई राम्ररी चिन्दछु ।’ बिनीले हामीतिर आउँदै भनी ।
‘कसरी ? के ऊ पनि…!’
‘छोड् न यार…।’ वासुले मेरो कुरा बीचैमा काट्दै भन्यो ।
‘एकपटक पुलिस रेडमा परेर म थाना पुग्दा, उहाँ त्यहीँ हुनुहुन्थ्यो….।’ बिनीले वासुतिर इसारा गर्दै भनी– ‘उहाँ आफ्नो इन्स्पेक्टर साथीलाई भेट्न आउनुभएको थियो सायद । उहाँले आफ्नो साथीसँग आग्रह गरेर मलाई छोडिदिन लगाउनुभएको थियो । उहाँकै करण पुलिसको हातबाट दुर्गति हुनबाट बचेकी थिएँ म त्यसदिन । कसरी बिर्सन्छु म त्यो मान्छेलाई जसको मलाई नामसुद्ध थाहा थिएन, उसैले मेरो मद्दत गरेको थियो रिटर्नको अपेक्षा नै नगरी…।’ ऊ वासुतिर फर्की अनि दुवै हात जोडेर कृतज्ञतापूर्वक भनी–‘त्यस दिनका लागि धन्यवाद !’
म केही बोल्न सकिनँ । यस्तै थियो वासु ! परचक्रीलाई पनि गुनले जित्ने । मैले वासुको हात दरोसँग समातेँ ।
‘यो सब के हो यार ?’ वासुले बिनीको कुरै सुनेन मानौँ, उसलाई यस्ता कुराहरूसँग दुईचार हुने आदतै थिएन । त्यसैले उसले बिनीलाई कुनै जवाफ दिएन । बरु मेरो पिठ्यूँमा धाप मार्दै भन्यो– ‘तैँले त बामे सर्न नसिक्दै दौडन सुरु गरिछस् यार ।’ उसले हाँस्तै भन्यो– ‘थाहा छ यति बेला सुप्रिया यहाँ आइपुगी भने के भन्छे ? भन्छे –‘यस जुकाले भतुवागिरी छोडेर दलाली सुरु गरेछ ।’
‘वासु…!’ मैले विरोधपूर्ण स्वरमा भन्न खोजेँ, तर वासुले फेरि भन्यो– ‘यदि मैले गÞलत भनेको हो भने भन् ? जे होस् मर्दको बच्चाले उठाउने जोखिम उठाएको छस् । तेरी स्वास्नीले सुइँको मात्र पाई भने तँलाई मात्र होइन, मलाईसमेत बम लगाएर उडाइदिन्छे ।’ ऊ फेरि हाँस्यो तर म हाँस्न सकिनँ । बिनी मलाई नियालेर हेर्दै थिई । एकदमै असहज महसुस गर्दै म उठेर बाथरुमभित्र पसेँ ।
म बाथरुमबाट निस्कँदा वासु बियर लिएर बसिसकेको थियो अनि बिनीचाहिँ टीभीसँग टाउको जोडेर बसेकी थिई ।
‘हिजो बिहानदेखि तँलाई फोन गर्दागर्दा हैरान । घरको फोन त फोन, मोबाइल किन नउठाएको नि ?’ मैले उसको छेउमा बस्दै सोधेँ ।
‘अस्तिदेखि बाग्लुङ गएको थिएँ । मोबाइल सधैँझैँ अफिसमै बिर्सेछु । आज बिहान फर्कनेबित्तिकै सम्झिएँ– यो हप्ता तेरो बैङ्कको ओपनिङ् छ यहाँ । म त यहाँ छँदै थिइनँ । त्यसैले सोचेँ– पोखरा आएको भए तँ पक्कै यहीँ छस् । यहाँ फोन गरेको, नभन्दै तँ यहीँ रहेछस् । त्यसैले झोला पनि नबिसाई यतै आएँ । तर मैले सोचेको थिइनँ तँ यहाँ एक्लै छैनस् भनेर ।’ उसले अलिपर, टीभीसँग टाँसिएर हाम्रो वार्तालापदेखि पूर्णतया उदासीन बसेकी बिनीलाई पुलुक्क हेर्यो अनि सानो स्वरमा भन्यो– ‘यार, जहाँसम्म मलाई थाहा छ तँ त घृणा गर्थिस् प्रस्टिच्युटहरूलाई, तर आज त…?
‘द्याट्स डिफ्रेन्ट स्टोरी ।’ मैले उसको कुरा काटदै भन,ेँ ‘हिजो राती झन्डै खुस्केथेँ म । उसलाई साथमा नल्याएको भए त सायद कसैले थाहै पाउँथेन होला म राती कति बेला सुइकेँ भनेर ।’
‘के भन्छ यो ?’ उसले हातको बियरको क्यान टेबलमा बिसाएर चिन्तित हुँदै सोध्यो– ‘अचानक के भयो त्यस्तो ?’
‘अचानक कहाँ ? तँलाई त थाहै छ अचेल त्यति सन्चो भैरहँदैन मलाई । हिजो त पराकाष्ठा नै भएको थियो । त्यसमाथि सुप्रियासँगको झोँकमा अर्धौंमा मज्जाले जाँड खाइदिएको थिएँ अनि त…।’
‘जाँड, अनि तैँले ? त्यो पनि बाटोमा ? त्यो पनि आफैँ ड्राइभ गरेर आउँदा ? ह्वाट्स् रङ् विथ यु म्यान ? दिस इज नट यु… दिस इज…।’
‘आइ नो…।’ मैले दिक्क मान्दै उसको कुरा काटेँ– ‘तर सुप्रियाको चालामाला देखेर मेरो प्रेसर त्यसै त्यसै बढ्छ आजकल । त्यसमाथि यो घरिघरिको चढ्ने, ओर्लने ज्वरोले त दिमाग नै खराब गरेको छ । हुँदाहुँदा अब त म आफूलाई यति कमजोर महसुस गर्न थालेको छु– कुनैकुनै बेला त यस्तो लाग्छ, म आफ्नो हातखुट्टा चलाउन पनि असमर्थ हुँदैछु ।’
‘हेर, यो त अति हो है…।’ उसले मेरो हात थामेर चिन्ता मिसिएको स्वरमा भन्यो– ‘तँ किन राम्ररी चेकअप गराउँदैनस् आफ्नो ? यसो गर, तँ अहिल्यै हिँड् मसँग । त्यो तेरो साथी थियो नि, डाक्टर पाण्डे, त्यो अचेल यहीँ छ ।’
‘कहाँ यार, दुई दिनको कुरा त हो । त्यसपछि काठमाडौँ गएर राम्ररी चेकअप पनि गराउँछु । रेस्ट पनि गर्छु केही दिन ।’ मैले भनेँ ।
‘पक्का ?’
‘पक्का, पक्का !’
‘त्यसो भए ठीक छ ।’ ऊ मेरो अझ नजिक सर्यो, अनि मतिर झुक्दै सानो स्वरमा भन्यो– ‘डिड यु डु समथिङ् लास्ट नाइट ?’
‘ह्वाट ?’ मैले असमञ्जसपूर्ण भावमा भनेँ र उसको अनुहारमा हेरेँ । उसको अनुहारमा खेलिरहेको उच्छृङ्खल भाव देखेर मैले लाजले भुतुक्क हुँदै भनेँ– ‘ओ.. कमअन !’
‘भन् न भन् प्लिज, पैसा डुबाइस् कि उठाइस् ?’
‘गरेँ नि, किन गरिनँ ?’ मैले पनि बिस्तारै भनेँ– ‘बान्ता गरिदिएँ उसैमाथि अनि मूर्दासँग सर्त लगाएर लडिदिएँ ।’
‘सत्यानाश !’ उसले निराशाजनक स्वरमा भन्यो । तर फेरि तुरुन्तै उत्सुकतापूर्वक सोध्यो– ‘आज के गर्ने विचार छ ? आज फर्कन्छे कि ?’
‘दस हजार एडभान्स दिएको छु, म बस्दासम्म यहीँ बस्ने सर्तमा ।’
‘ओह, नो…!’ उसले अविश्वासपूर्ण भावले मलाई हेर्यो र भन्यो– ‘म्यान, आई थिङ्क यु आर रियल्ली सिक, एकदम सिरियस बिरामी, निड टु चेकअप प्रपर्ली ।’
म अप्ठ्यारो मान्दै मुस्कुराएँ ।
‘अघि त मैले मजाकमा भनेथेँ मर्दको बच्चाले गर्ने काम गरिछस् भनेर । तर…तर यार, दिस इज नट राइट र यो कुरा मलाईभन्दा धेरै तँलाई थाहा छ । मलाई यो पनि थाहा छ, पैसा तिरेर मोज उडाउने न तेरो नियत छ, न नेचर नै । त्यसमाथि तँ त्यति प्रतिष्ठित, विवाहित मान्छे । जिस्कन, ठट्टा गर्न जे भने पनि यो ठीकचाहिँ हैन है । सोच्, यदि सुप्रिया अचानक यहाँ आइपुगी भने ?’ वासुले गम्भीर हुँदै भन्यो ।
‘सुप्रियालाई मेरो खोजखबर राख्दै यहाँसम्म आउने फुर्सद भए यो स्थिति नै किन आउँथ्यो र !’ मेरो स्वर वितृष्णाले भरियो– ‘अब छोड् न यार जे हुने त भै नै सक्यो । अब जे त होला, देखा जाएगा । कसैलाई धोका दिने, छल्ने नियतले केही गरेको होइन मैले । म त बस्…।’
‘आज के गर्छस् ?’ मलाई गम्भीर भएको देखेर वासुले जिस्कँदै भन्यो– ‘आज त तँ ठीकठाकै देखिन्छस्, यहाँ एउटै बेडमा सँगै सुतेकी…।’
‘बस् गर यार…।’ मैले अगाडिकोे कल्पना गर्न नसकेर उसलाई रोक्दैभनेँ– ‘भने नि, जे त होला । मन यसै खराब छ मेरो, अब तँ दिमाग पनि खराब नगर त !’
‘ओके, त्यसो भए एकबाजी चेस जाओस् न त । धेरै दिन भयो तँसँग चेस नखेलेको ।’
‘तर यहाँ कहाँबाट चेस बोर्ड…।’
‘मेरो ब्यागमा छ । पख, म रिसेप्सनबाट ब्याग लिएर आउँछु ।’
‘ब्याग किन उता छोडेको त ?’
‘मैले सोचेँ– कहीँ तँ सुप्रियाको साथमा आएको भए…।’
‘तँ किन जानुपर्यो त, म फोन गरेर तेरो ब्याग यहीँ मगाउँछु ।’ मैले उसको कुरा काटेँ ।
‘द्याट्स ग्रेट ।’ उसले फेरि बियरको क्यान समात्यो । मैले फोन गरेर उसको ब्याग मात्र होइन, कफी र हल्काफुल्का स्न्याक्स पनि मगाएँ । बिनी अझै टीभी हेरेर दङ्ग पर्दैथिई ।
त्यसको दस मिनेटपछि म र वासु चेसमा ब्यस्त भयौँ ।
निक्कैबेरपछि टाउको उठाउँदा मैले देखेँ– बिनी पनि टीभी हेर्न छोडेर उत्सुकतापूर्वक हाम्रो खेल हेर्दै मेरै छेउमा बसेकी रहिछ । मलाई आश्चर्य लाग्यो । घरमा म प्रायः कोसिस गर्थें सुप्रियालाई चेस खेल्न सिकाउन तर उसका लागि यो एउटा टाउको दुःखाइसिवाय अरू केही थिएन । ऊ भन्थी– ‘आ है छोडिस्योस् न, नदुःखेको कपाल डोरी लगाएर कसले दुःखाउँछ ?’
खेलको बीचमा म घरिघरि आँखा उठाएर बिनीलाई हेरिरहन्थेँ । ऊ बडो तन्मयतापूर्वक चेसबोर्डमा आँखा गाडिरहेकी हुन्थी ।
लगभग डेढ घन्टापछि मैले वासुलाई चेक दिँदैभ नेँ– ‘चेक एन्ड मेट ।’
‘सिट , म्यान…!’ उसले थाप्लो ठोक्दै भन्यो– ‘यति ध्यानपूर्वक खेलिरहेथेँ तर…।’
‘तँ जति नै ध्यान दिएर खेल, तर यो जुनीमा तैँले मसँग जित्न सक्दैनस् ।’ मैले हाँस्दै भनेँ ।
‘वेट अ मिनेट…!’ अचानक बिनीले वासुको साइडका केही गोटी यताउता गर्दै भनी– ‘तपाईंले यो सिपाहीलाई छोडेर हात्ती यता सर्नुभयो भने आफू त बँच्नु हुन्छ नै, उसलाई चेक दिन पनि सक्नुहुन्छ ।’ उसले मतिर औँला तेस्र्याई ।
‘ह्वाट.. ?’ हामी दुवैले एकसाथ भन्यौँ ।
‘यो, आई मिन…।’ वासु अकमकायो एकैछिन । त्यसपछि व्यग्रता पूर्वक करायो– ‘कसरी, कसरी भयो यो ? सो मि अगेन ?’
उसले फेरि गरेर देखाइदिई । म छक्क परेँ र उसलाई हेरिरहेँ ।
‘यस , सी इज राइट म्यान ! आई वन ! मैले जितेँ तँलाई !’ वासु दङ्ग पर्दै करायो ।
‘अहिले कहाँ ?’ मैले गोटी यताउता सार्दै भनेँ । तर सत्य त्यही थियो । यसपटक वासु साँच्चै जित्न सफल भएथ्यो ।
‘वाओ !’ ऊ आश्चर्यपूर्वक करायो– ‘मैले जितेँ तँलाई । चेसमा मैले जितेँ तँलाई । मैले जितेँ ! थ्याङ्स् बैनी ।’ उसले उठेर बिनीलाई गम्ल्याङ्ग अँगाल्दै भन्यो ।
म अझै अविश्वासपूर्वक चेसबोर्डतिर हेरिरहेथेँ ।
बिनी जबर्जस्ती वासुबाट फुत्केर पर उभिन पुगी । वासुले लजाउँदै भन्यो– ‘सरी… सरी ! आइ डिन्ट मिन एनिथिङ्, तिमी मेरो व्यवहार नहेर बैनी, मेरो सम्बोधन हेर…!’
‘बैनी ?’ बिनीले थुक निल्दै बिस्तारै भनी ।
‘आज त म तिमीले जे मागे पनि दिन तयार छु । योसँग मेरो यो बाजी बच्चा बेलादेखि चल्दैआएको हो । तर आज पहिलोपटक जित्न सफल भएको छु म यसलाई । तिमी अनुमान गर्न सक्तिनौ, आज यसलाई जितेर कस्तो महसुस गरेको छु मैले । भन ! यो जितको बदलामा म के दिऊँ तिमीलाई ?’
‘मलाई केही चाहिँदैन ।’
‘केही त माग !’
‘यो मासुको व्यापारमा सबैले बिनीलाई एउटा शरीरसिवाय अरू केही देखेनन् । तर आज तपाईंले मुखैले सही, सम्बोधन दिनुभएको छ–बैनीको । योभन्दा धेरै र योभन्दा ठूलो अरू म के माग्न सक्छु म तपाईंसँग ?’ उसले भावपूर्ण स्वरमा भनी ।
‘वासुले जे गर्छ, मनले गर्छ । मनमा भिन्दै र मुखमा भिन्दै राख्न जानेको भए आज यो ‘वासु’ पनि ‘वासुदेव थापा’ भइसक्ने थियो त्यसैले…।’
‘यो सब छोड । पहिले यो भन बिनी, तिमीले चेस खेल्न कहाँबाट जान्यौ ? खेल्न मात्र होइन, यसरी दिमाग लगाएर जित्न कसरी जान्यौ ?’ मैले वासुको कुरा बीचमै काटेर उत्सुक्तापूर्वक सोधेँ ।
‘जब बाबा दुर्घटनामा परेर घर बस्नुभा’थ्यो, त्यति बेलै उहाँसँग सिकेथेँ ।’ उसले मोहित स्वरमा भनी– ‘त्यसताका एकफेर बाबालाई जित्ने यस्तो सनक चढेथ्यो मलाई, म राती सबै निदाइसकेपछि उठेर एक्लै चेस खेलेर बस्थेँ । एक–एक स्टेपको लागि म यति सोचेर खेल्थेँ कि खेलको बीचमा बाबा सोध्नुहुन्थ्यो ‘निदाएकी त छैनस् ?’ ऊ मुग्धभावले बिस्तारै हाँसी । तर फेरि तुरुन्तै उदास हुँदै भनी– ‘चेसको स्टेप्समा त्यस्तरी सोचेर, सम्झेर अघि बढ्ने मैले, वास्तविक जीवनमा पनि त्यसै गरी सोचेर, सम्झेर स्टेप चाल्न सकेकी भए सायद मेरो जिन्दगीको अर्कै स्वरूप हुने थियो ।’ अनायास उसका आँखा ममाथि परे । ऊ पलभरमै सम्हालिई । उसको अनुहारको उदासी तुरुन्तै पुछियो । उसले पहिलेझैँ सामान्य स्वरमा भनी– ‘तर फेरि यही जिन्दगी हो, होइन त ?’
मैले र वासुले मुखामुख गर्यौं । केही बोलेनौँ । उसको अनुहारमा मडारिएको वर्षायामको आकाशको कालो बादलजस्तो भाव एकपलमै यसरी गायव भएको थियो– मलाई, वासुलाई पनि लाग्यो– त्यो हाम्रो भ्रम मात्रै थियो । के थियो त्यो ? उदासी ? पीडा ? पश्चात्ताप ? या अरू नै केही ? मेरो दिमागमा सहस्र प्रश्न उठिरहे । किन यति रहस्यमयी थिई ऊ ?
ऊ भने बडो उदासीनतापूर्वक फेरि टीभीअगाडि गएर बसिसकेकी थिई । हामीले पनि चेस खेल्न बन्द गर्यांै ।
राती निक्कै अबेर खानासाना खाएर वासु आफ्नो डेरातिर हिँड्यो ।
बिनी फेरि टीभीकै अगाडि जमिसकेकी थिई । म पनि सोफाबाट चकटी टिपेर उसकै छेउमा गएर बसेँ । उसको ध्यान फेरि पनि भङ्ग भएन ।
‘के हेरेको त्यति ध्यान दिएर ?’ मैले सोधेँ । खासमा म टीभीमा समाचार र गेमबाहेक अरू केही हेर्दैनथेँ । एक त समय हुन्थेन, अर्को इन्ट्रेस्ट पनि लाग्थेन ।
‘यो सिरियल म प्रायः हेर्छु । एकदमै राम्रो छ । अहिलेसम्म मैले हेरेकोमा सबैभन्दा बेस्ट । तिमीलाई मनपर्दैन र ?’ उसले मतिर हेर्दै सोधी ।
मैले अनविज्ञता जनाउँदै कुम उचालेर भनेँ– ‘म त कहिल्यै पनि सिरियल हेर्दिनँ । कहिलेकाहीँ न्युज हेर्छु अनि गेम हेर्छु, बस् ।’
‘तिमी सिरियलहरू हेर्दैनौ ?’ उसले यसरी सोधी मानौँ सिरियलहरू नहेर्नु मेरो जघन्य अपराध थियो ।
‘घरमा यस्तो टीभी हुँदा पनि तिमी टीभी हेर्दैनौ ? झन् अझ यो सिरियल हेर्दैनौ ? मान्छेहरू त यो सिरियलका कारण आइतबार राती यस समयमा घरमै हुन रुचाउँछन् तर तिमी त…।’ त्यसपछि ऊ मलाई त्यो सिरियलका बारेमा डिटेलमा सुनाउन थाली ।
मैले बुझ्ने भएदेखि मेरो सङ्गतमा कुनै स्वास्नीमानिस थिएनन् । घरमा आमा हुनुहुन्थेन । बाहिर कुनै केटी साथीहरू थिएनन् । केवल फुपू एकजना यस्तो हुनुहुन्थ्यो, जोसँग मेरो धेरथोर समय बाँडन्थ्यो, नत्र त सुप्रिया नै यस्ती थिई– जो मेरो समीप, मेरो साथमा थिई । तर जब ऊ र मसँगै हुन्थ्यौँ, उसका कुराहरू पैसा, प्रेस्टिज, गहना, सपिङ् र पार्टीमै सीमित हुन्थे । कहिलेकाहीँ मलाई आश्चर्य पनि लाग्थ्यो– जुन सुख, सुविधा र सम्पन्नतामा म हुर्किएँ, त्यसले मलाई कहिल्यै घमण्ड गर्न सिकाएन, त्यही सम्पन्नताले सुप्रियालाई त्यति छोटो समयमै त्यति बिधी अहङ्कारी कसरी बनायो होला ? या सायद ऊ जन्मजात त्यस्तै थिई । उसको कुरा गराइमा केवल ‘म’ र ‘मेरो’ सिवाय अरू केही हुन्थेन । त्यसैले पनि होला म उसको कुराले छिट्टै वाक्क भएर कुनै न कुनै बहानाले उसको छेउछाउबाट उम्कन्थेँ । उसै पनि उसलाई मेरो छेउछाउमा हुने फुर्सत कमै जुथ्र्याे । उसको सधैँको एकै किसिमको कुरा गराइले मलाई यही सोच्न बाध्य बनाएको थियो– सायद सबै स्वास्नीमानिसहरू यस्तै बोरिङ् हुन्छन् । त्यसैले त लोग्नेमानिसहरू कामपछि सीधै घर गएर स्वास्नीको कान पाक्ने कुरा सुन्नुभन्दा कुनै रेस्टुरेन्टमा पसेर बियर तान्दै साथीभाइसँग गफ लडाउन रुचाउँछन् ।
तर यहाँ, यति बेला जुन स्वास्नीमान्छे मेरो अगाडि बोलिरहेकी थिई, उसको कुरा गराइमा यति मिठास, यति सम्मोहन थियो कि मलाई आँखा झिम्क्याउन समेत मन थिएन । यद्यपि ऊ के भनिरहेकी थिई, मैले बुझिरहेको थिइनँ । केवल उसको हाउभाउ, उसका आँखाको चमक हेरिरहेको थिएँ म । उसको स्वरको मिठास अनुभूत गरेर रोमाञ्चित बनिरहेको थिएँ । अनि उसको भावपूर्ण स्वर सुन्दै मन्त्रमुग्ध भएर सोचिरहेको थिएँ– साँच्चै, कुनै स्वास्नीमान्छेको बोलीचालीमा नै यति सम्मोहन हुन्छ या फेरि मेरो नियत खराब हुँदै थियो ? एउटा सम्भ्रान्त परिवारको विवाहित पुरुष म, एउटी पेसेवर केटीको सम्मोहनमा बाँधिएर कहीँ पथभ्रष्ट हुँदै त छैन ? म अचानक हडबडाएर उठेँ ।
‘के भयो ?’ उसले आश्चर्य मान्दै सोधी ।
‘म…म…बाथरुम जान्छु ।’ मैले बेडरुमतिर लम्कदै भनेँ । ऊ केही बोलिन । बेडरुममा पसेर मैले लामो सास फेरेँ । म निरुद्देश्य, निकैबेर बेडरुममा यताबाट उता गरिरहेँ । अन्त्यमा आफ्नै सोचसँग आजित भएर बेडमा पल्टिएँ ।
थाहा छैन त्यो रातको कुन प्रहर थियो जब म अचानक बिउँझिएँ ।
सजग भएपछि मलाई याद आयो म बिनीको छेउबाट उठेर यहाँ आएर पल्टिएको थिएँ । अरू बेला लाख कोसिसपछि, अनेक कसरतपछि मात्र निदाउने म, त्यतिबेला त्यति सहजै, ओछ्यानमा पल्टनेबित्तिकै कसरी निदाएँ, आश्चर्यित थिएँ । मैले यताउता हेरेँ, तर बिनी हिजोजस्तै त्यहाँ बेडमा थिइन । म बेडरुमबाट बाहिर निस्किएँ ।
बिनी टीभीको अघिल्तिर एउटै डल्लो परेर निदाइरहेकी थिई । टीभी अझै खुल्लै थियो अनि रिमोट अझै उसको हातमा थियो । मैले बिस्तारै उसको हातबाट रिमोट लिएर टीभी बन्द गरिदिएँ । छेउको चकटी तानेर उसको सिरानीमा राखिदिएँ । ऊ चलमलाई तर बिउँझिन । उसको छोटो टिसर्ट अझै माथि सर्यो । मेरो आँखा उसको नाइटोमा भएको झल्किने पत्थरमा ठोक्कियो । म टाउकोदेखि र्पातालासम्मन थरथराएँ । मेरो हात अघिबढ्यो तर मैले उसको नाभीमा उनिएको बेली पिन छुन सकिनँ । मेरो निधारमा पसिना चिटचिटायो । म फरक्क फर्केर बेडरुममा छिरेँ । भित्रबाट ब्ल्याङ्केट ल्याएर उसलाई ओढाइदिएँ र उसैको छेउमा घुस्रेर सुत्ने आफ्नो तीव्र इच्छालाई जबरजस्ती गलहत्याउँदै म फेरि बेडरुम भित्र पसेँ ।
भोलिपल्ट बिहान सबेरै बैङ्क पुग्नुथियो मलाई । त्यसैले म सबेरै उठेर तयार भएँ । जब म ऐनाअगाडि उभिएर टाई बाँध्ने कोसिस गरिरहेको थिएँ, तब बिनी मेरो छेउमा आएर उभिई अनि खेदपूर्ण स्वरमा भनी– ‘सरी, म त त्यसै निदाएछु । तिमीले पनि उठाएनौ । म…।’
‘द्याट्स् ओके…।’ मैले टाई मिलाउँदै ऊतिर नहेरी भनेँ । मलाई उसको सुडौल, सुन्दर नाभीमा जडिएको पिन फेरि याद आयो । मैले ऊतिर पिठ्यूँ फर्काएँ ता कि मेरो अनुहारको भाव उसले नदेखोस् । तर ऊ मेरो सामुन्ने आएर उभिई । मैले झर्को मानेझैं गरी थरथराएको हातले टाई थुतेँ ।
म वर्षौँदेखि टाई लगाइरहेथेँ तर आज पनि टाई बाँध्ने काम एउटा झन्झट नै लाग्दथ्यो । विवाह भएदेखि प्रायः सुप्रिया नै मलाई टाई बाँध्न मद्दत गर्थी । कहिलेकाहीँ मेरी १९ वर्षकी साली पनि मेरो टाई बाँध्न अघिसर्थी तर उसको ध्यान टाई बाँध्नमा भन्दा मसँग टाँसिनमा ज्यादा हुन्थ्यो । त्यसैले म सधैँ उसबाट टाई बाँधाउन तर्किन्थेँ ।
कहिलेकाहीँ सुप्रिया कराउँथी, भन्थी– ‘के भो त, बिचरी कति उत्साहले हजुरको टाई बाँध्न अघिसर्छे तर हजुरको त कुरै अर्को छ । यस्तो व्यवहार गरिसिन्छ मानौँ, ऊ साली नभएर सासू हो, बिचरी श्रेया…!’
तर उसलाई के थाहा– उसकी श्रेया कति बिचरी थिई भनेर !
‘म बाँधिदिऊँ ?’
मलाई अझै टाईसँग कुस्ती लडिरहेको देखेर बिनीले बिस्तारै सोधी र मैले जवाफ दिन नपाउँदै ऊ दुई कदम अघिसरेर मेरो टाई मिलाउन थाली । त्यसबेला ऊ मेरो यति नजिक थिई कि उसको शरीरबाट उठिरहेको महकले पहिल्यैदेखि तरङ्ग उठिरहेको मेरो मनमा रोमाञ्चक छाल उल्याएर पागल बनाइरहेथ्यो मलाई । मेरो हाइट धेरै भएकोले मेरो छेउमा उभिँदा सुप्रिया एकदमै होची देखिन्थी तर मेरो सामुन्ने उभिएकी बिनीको ओठलाई म अलिकति झुकेर चुम्न सक्थेँ । म सायद त्यसै गर्थें पनि होला तर उसले मेरो अगाडिबाट हट्दै भनी– ‘हेर त कस्तो भयो ?’
त्यो क्षण मेरो मुटुले यसरी हल्ला मच्याइरहेको थियो– मलाई डरलाग्यो, कहीँ बिनीले समेत त्यो हल्लाखल्ला सुनिरहेकी त छैन भनेर । मैले ऊसँग आफ्नो नजर बचाउँदै ऐनामा हेरेँ ।
‘अरे वाह…!’ मैले प्रशंसापूर्ण स्वरमा भनेँ– ‘यति राम्रो टाई बाँध्न कसरी जान्यौ तिमीले ?’
‘कुनै दिन म पनि टाई बाँध्ने स्कुलको विद्यार्थी थिएँ ।’ उसले बिस्तारै भनी । मैले ध्यानपूर्वक उसलाई हेरेँ । तुरुन्तै उसको अनुहारको भाव फेरियो उसले उत्तिखेरै विषय परिवर्तन गर्दै भनी– ‘तिमी यति सबेरै तयार भएर कता नि !’
‘काममा, अन्त कता जानु ! खासमा त हिजै पुग्नुपथ्र्यो एकपटक, तर जीउ सन्चो नभएर जान मनै लागेन । अब आज त अलि चाँडै जानैपर्यो नि !’ मैले भनेँ ।
‘कतिबेला फर्कन्छौ ?’
‘थाहा छैन, तर ढिलै हुन्छ होला ।’
‘त्यसो भए म यहाँ बसेर के गर्नु, म पनि फर्कन्छु ।’
‘होइन होइन…।’ मैले हतारिँदै भनेँ– ‘म सकभर चाँडै फर्कने कोसिस गर्छु । तिमी बसेर टीभी हेर । मुभी हेर्ने हो भने पनि…।’
‘होइन, पर्दैन । म बस्छु यतिकै ।’
‘त्यो फोन उठाएर ११ नम्बर डायल गरे किचनमा पुग्छ । ९ नम्बर डायल गरे रिसेप्सनमा पुग्छ । तिमीलाई चाहिएको चीज मगाउन नहिच्किचाउनु । ०१ थिचेर तिमीले चाहेको नम्बर डायल गरेर साथीहरू वा घरमा पनि कुरा गर्न सक्छ्यौ । आफ्नो मोबाइल चलाउन पनि छुट छ तिमीलाई, मवरपरि नहुँदा । मन लागे तल बगैँचामा घुमे पनि हुन्छ स म…।’
‘मेरो चिन्ता नगर ।’ उसले भनी– ‘आई विल बि फाइन ।’
‘द्याट्स गुड । मलाई अबेर हुनथाल्यो म हिँडिहाल्छु ।’ म ब्रिफकेस उठाएर ढोकातिर लम्केँ ।
‘सुन !’ म बाहिर निस्कँदानिस्कँदै उसको स्वर मेरो कानमा पर्यो । मैले ढोकैबाट टाउको तन्काएर उसलाई हेरेँ ।
‘हुन त म प्रायः आफ्नो ग्राहकको नाम सोध्दिन’ उसले केही हिच्किचाउँदै भनी– ‘तर थाहा छैन तिमीसँग कति दिन बस्नुपर्ने हो । के…के म तिम्रो नाम जान्न सक्छु ?’
हामी दुई दिनदेखि सँगै थियौँ तर उसलाई मेरो नाम थाहा थिएन । मलाई अनौठो अनुभूत भयो किनभने मानिसको पहिलो परिचय सधैँ नामबाटै सुरु हुन्छ तर हामी विनापरिचय एकआर्काको साथमा थियौँ, तर अपरिचित थिएनौँ । कस्तो अचम्म !
‘प्रत्यूष, प्रत्यूष प्रधान !’ मैले भनेँ ।
‘प्र.. प्रत्यूष ! कस्तो नाम हो यो ? मैले त पहिले कहिल्यै सुनेकी थिइनँ । प्रत्यूष ! अर्थ के हुन्छ यसको ?’ उसले उत्सुक हुँदै सोधी ।
‘उदाउन लागेको सूर्य ।’ मैले भनेँ ।
‘वाओ !’ उसले प्रशंसात्मक स्वरमा भनी ‘नाम भनेको त यस्तो पो हुनुपर्छ ।’
‘तिम्रो नाम पनि त नराम्रो छैन नि !’
‘राम्रो पनि त छैन । किनभने यो नामको कुनै अर्थ छैन, मजस्तै…।’ उसले पुलुक्क मलाई हेरी अनि फेरि सामान्य स्वरमा भनी– ‘ओके, म बाथरुम छिर्छु । तिमी जाऊ अब । ह्याव अ ग्रेट डे प्रत्यूष !’ ऊ बाथरुम भित्र छिरी, तर उसले भनेका शब्दहरू निक्कैबेर मेरो कानमा गुन्जिरहे ।
पूरा दिन म यति व्यस्त भएँ, मलाई अरू कुनै कुराको होस भएन ।
पाँच बजेतिर बल्ल मलाई बिनीको याद आयो । मैले होटलमा फोन गरेँ । निक्कै बेरपछि बिनीले फोन उठाई ।
‘कतिबेर लगाएको, कहाँ थियौ ?’ उसको स्वर सुन्नेबित्तिकै मैले सोधेँ ।
‘कहाँ नि ! म त अरू नै कसैको फोन भनेर नउठाई बस्या । मैले त सोचेकै थिइनँ तिमीले फोन गर्छौ भनेर ।’
‘किन नि ? तिमीले किन सोचिनौ यो मेरो फोन पनि हुनसक्छ भनेर ?’ मैले मुस्कुराउँदै सोधेँ ।
‘साँच्चै भनूँ ?’
‘भन !’
‘म स्वास्नी हुँ र ? जसको खोजखबरमा घरबाट निस्किएको लोग्नेले फोन गर्छ ? म त मोल चुकाएको सजावटको त्यो चीज हुँ जसलाई आँखाले बाहेक मनले छुन सक्दैन । अब तिमी नै भन म कसरी आस गर्थें तिम्रो फोनको ?’ उसको स्वर सामान्य नै थियो तथापि मेरो मन खिन्न भयो ।
‘के खायौ ?’ कुरा अन्तै मोड्ने उद्देश्यले मैले त्यतिकै सोधेँ । ऊ केही बोलिन । मैले फेरि सोधेँ– ‘खान त खायौ के ?’
‘मलाई एकदमै अप्ठ्यारो लाग्यो त्यसैले…।’ उसले हिचकिचाउँदै भनी ‘मगाउने हिम्मत भएन । एकपटक तलबाट फोन गरेर सोधेको त थियो तर मैले ‘चाहिए म आफैँ मगाउँछु’ भनेर फोन राखिदिएँ ।’
‘ओहो ! बिहानदेखि अहिलेसम्म भोकै छ्यौ तिमी ?’ मैले नचाहँदानचाहँदै पनि मेरो स्वरमा चिन्ता मिसियो ।
‘होइन होइन, फ्रिजमा फलफूल थियो, त्यो खाएँ । पानी थियो, त्यो पिएँ । म भोकै छैन । तिमी चिन्ता नगर । काम सकाएर आऊ अनि सँगैबसेर खाऊँला ।’ उसले भनी । मैले फोन राखेँ । तर मेरो मन त्यसपछि काममा लाग्न सकेन । मेरी स्वास्नीले मलाई त्यसरी नै कुरेर बसेको पल याद गर्ने कोसिस गरेँ तर मेरो मगजमा त्यस्तो कुनै पल झुल्केन । यतिबेला बल्ल मलाई अनुभव भयो– मेरो वैवाहिक जीवनमा धेरै कुरा मिसिङ् थियो । तर मलाई पहिले किन त्यस्तो लागेन ? के म खुसी छैन सुप्रियाको साथमा ? तर योभन्दा अघि मैले सुप्रियाबाहेक अरू कुनै स्वास्नीमान्छेसँग सङ्गत नै कहाँ गरेको थिएँ र ? त के म सुप्रियालाई बिनीसँग तुलना गरिरहेको छु ? मलाई मेरो यो सोच नै अप्रिय लाग्यो– म आफ्नी अर्धाङ्गीनिको तुलना एउटी पेसेवर आइमाईसँग गरिरहेको थिएँ ।
बाँकी बचेको सारा काम अरूको जिम्मामा छोडेर म होटल फर्किएँ, जुन मेरो स्वभावको एकदम विपरीत थियो ।
साँझा वासु आएपछि हामी चेस खेल्नमा ब्यस्त भयौँ ।
खानासाना खाएर डेरामा फर्कन ठिक्क परेको वासुलाई त्यो रात मैले जबर्जस्ती त्यहीँ रोकेँ ।
वासु र म बेडरुममा सुत्यौँ । बिनी टीभी हेर्दाहेर्दै सोफामै निदाई ।
बिहानै उठेर चिया मगाउनुभन्दा पहिल्यै वासुले कतै
घुम्न जाने प्रस्ताव राख्यो ।
काम त थियो मेरो तर त्यो दिन सार्वजनिक विदा परेकोले एक्लै गएर काम गर्ने जाँगर थिएन । मैले उसको प्रस्तावलाई अनुमोदन गरेँ ।
कहाँ जाने भन्ने प्रश्नको जवाफमा उत्साहित हुदै बिनीले भनी–‘बागलुङ जाँऊ न है ? त्यहाँ भगवतीको दर्शन पनि हुन्छ अनि घुमघाम पनि ।’
मैले अचम्म मानेर उसलाई हेरेँ । उसका हरेक कुरा किन अनअपेक्षित हुन्थे मेरा लागि ? मैले सोचेथेँ– उसले कुनै सिनेमाको नाम लिनेछे, कुनै रेस्टुरेन्टको नाम लिनेछे । सपिङ्को कुरा गर्नेछे तर ऊ मन्दिर जान आग्रह गर्दैथिई । मेरो अनुहारको त्यस बेलाको भावको उसले के अर्थ लगाई कुन्नि ? हतारिँदै फेरि उसैले भनी– ‘होइन, होइन, तिमीलाई मन्दिर जान मन पर्दैन भने अन्तै कतै गए पनि हुन्छ । मैले त खालि…।’
‘प्रत्यूषलाई मन्दिर जान मन पर्दैन ? यो त सायद दुनियाँको नवौँ आश्चर्य मानिनेछ,’ वासुले बिनीलाई उछिन्दै भन्यो– ‘के कुरा गर्या तिमीले पनि ?’
‘ठीक छ, बाग्लुङ् नै जाने…।’ मैले भनेँ– ‘धेरै भयो भगवतीको दर्शन नगरेको, म…।’
‘त.. तर त्योभन्दा पहिले म एकपटक घर जानुपर्छ ।’ बिनीले मेरो कुरा नटुङ्गिँदै बिस्तारै भनी ।
“किन ?” मैले भन्दा पहिले वासुले सोध्यो ।
‘कमसेकम मन्दिर जाँदा त अलि गतिलो लुगा लगाएर जानुपर्यो नि !’ उसले भनी ।
‘तिमीले लगाएका लुगा गतिला छैनन् भने थाहा छ भने किन लगाउँछ्यौ त्यस्ता लुगा ? अनि जब यतिका आँखासँग लाज लाग्दैन भने मन्दिरमा भगवानसँग केको लाज ?’ मैले व्यङ्ग्यपूर्वक भनेँ ।
‘यी कृतघ्न आँखाहरूसँग लाज मानेर मेरो बिजनेस चल्दैन । अनि भगवानको दरबारमा अर्धनग्न उभिन वेश्या नै भए पनि मेरो मनले मान्दैन ।’ उसले विनाकुनै हिचकिचाहट भनी । वासुले मलाई आँखा तर्यो । मलाई आफ्नो व्यङ्ग्यमाथि अपसोच लाग्यो । म केही बोल्न सकिनँ ।
‘अनि फेरि यो मलाई जति कसलाई थाहा छ कि हेर्ने आँखामा, जुनमा शरम हुन्छ, इज्जत र सम्मान हुन्छ, उसले नाङ्गो शरीरलाई पनि इज्जतले हेर्छ । अनि जुन आँखाको लाज मेटिइसकेको हुन्छ, त्यो आँखाले दसपत्र लुगाभित्रको शरीरलाई पनि नाङ्गै देख्छ ।’ उसको स्वरमा कुनै व्यङ्ग्य, कुनै उदासी थिएन । मैले असहायभावले वासुलाई हेरेँ । उसले मेरो मद्दत गरेझैँ गरी त्यो अप्रिय प्रसङ्गलाई अन्तै मोड्दै भन्यो– ‘ठीकै छ नि त, जाँदाजाँदै तिमीलाई हामी तिम्रो घरमा…।’
‘मेरो घरसम्म गाडी जाँदैन ।’ उसले भनी । प्रस्ट थियो, ऊ हामीलाई आफ्नो बासस्थान देखाउन चाहन्नथी ।
‘त्यसो भए घरै किन जानुपर्यो त, त्यहीँ बजारमै केही किनेर चेन्ज गरे त भै हाल्यो नि ।’ मैले समाधान बताएँ ।
उसले केही अप्ठेरो मान्दै स्वीकृति जनाई ।
हामी बागलुङतिर हिँड्यौँ ।
बजारमा खुलेका केही सीमित पसलहरूमध्ये एउटा पसलबाट उसले एकजोर कुर्था–सुरुवाल छानी । पैसा तिर्न ठिक्क परेको मेरो हात पन्छाउँदै उसले आफैँले पैसा तिर्दै भनी– ‘पहिल्यै थुप्रै पैसा लिइसकेकी छु मैले तिमीसँग । त्यसैले यो पैसा मलाई नै तिर्न देऊ ।’
ऊ कुर्था–सुरुवाल लिएर चेन्जिङ् रुमभित्र पसी । वासु र म छेउ लागेर उभियौँ र बैङ्कको ओपनिङ्को बारेमा कुरा गर्नथाल्यौँ । जब ऊ बाहिर निस्की, मैले बोल्न त के, आफ्नो खुलेको मुख बन्द गर्नै बिर्सिएँ । रातो र हलुका पहेलो रङ मिसिएको राजस्थानी प्रिन्टको कुर्था–सुरुवालमा ऊ सुकुमारी, सौम्य र सुसंस्कृत देखिएकी थिई । ऊ एउटी पेसेवर केटी थिई भन्ने कुरालाई विश्वासगर्न मेरो मन सधैँ हिचकिचाइरहन्थ्यो । यतिबेला त मेरो मनले कामना नै गर्यो– त्यो सत्य नहोस् !
वासुले कुहिनाले धकेलेपछि मात्र मैले आफ्नो मुख बन्द गरेँ । वासु मतिर आँखा झिम्क्याएर बिस्तारै हाँस्यो । म टाउको झुकाएर अघि बढेँ ।
गाडीमा वासु मसँगै अगाडिको सिटमा बस्यो अनि बिनी पछाडि ।
मैले आफ्नो मनको लाख विरोधलाई कुल्चँदै रियर भ्यू मिरर यसरी एडजस्ट गरेँ कि त्यस मिररबाट म उसलाई देख्न सकूँ ।
यति बेला उसको अनुहारमा अस्तिको जस्तो उच्छृङ्लता नभई गम्भीरता थियो । झ्यालबाट बाहिर हेर्दै ऊ नजाने के सोचिरहेकी थिई । अस्ति देख्दा मैले उसको उमेर त्यस्तै २०–२१ वर्ष अनुमान गरेथेँ तर यतिबेला ऊ मुस्किलले १७–१८ वर्षकी देखिइरहेकी थिई । ‘साँच्चै कति उमेर होला उसको ? २० भन्दा धेरैकी त पक्कै होइन होली ।’ मैले मनमनै सोचेँ । अनायास उसले टाउको घुमाई । उसका आँखा सीधै मेरा आँखासँग जुधे । मैले हडबडाएर अगाडितिर हेरेँ । मैले ऊतिर नहेरे पनि मलाई यस्तो लाग्यो– ऊ मुसुक्क हाँसी अनि उसको कमलको फूलझैँ फक्रने मुस्कानको कल्पनाले मेरो मुटुले फेरि कोलाहाल मच्याउन सुरू गर्यो ।
क्रमस…
…