• २०८३ आश्विन १६, शुक्रबार

चिकित्सक तथा गायक निपेन कट्टेलको ‘तिमी नबोल्दा’ सार्वजनिक

काठमाडौँ ।

अमेरिकामा कार्यरत नेपाली चिकित्सक तथा गायक निपेन कट्टेलले नयाँ गीत ‘तिमी नबोल्दा’ सार्वजनिक गरेका छन् । पप शैलीमा तयार पारिएको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । ओहायोको कोलम्बसमा चिकित्सकका रूपमा कार्यरत कट्टेलकै शब्द, संगीत र स्वर रहेको गीतको संगीत संयोजन तथा निर्माण सुवास सेन्चुरीले गरेका हुन् । गीत कोलम्बसस्थित एसएम स्टुडियोमा रेकर्ड गरिएको हो। कट्टेलको आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियो लक्ष्मण अधिकारीले निर्देशन गरेका छन् । अमेरिकामै निर्माण गरिएको भिडियोमा कट्टेलसँगै नवकलाकार वर्षा घिमिरेले अभिनय गरेकी छन् । राम अधिकारीको छायांकन तथा सम्पादन रहेको भिडियोका अधिकांश दृश्य कोलम्बस आसपासका क्षेत्रमा छायांकन गरिएको छ । ब्ल्याकलिकमा बस्दै आएका कट्टेल ओहायोको न्यु अल्बानीस्थित माउन्ट कार्मेल क्लिनिकमा प्राथमिक उपचार चिकित्सकका रूपमा कार्यरत छन् । चिकित्सा पेसासँगै उनी गीत-संगीतमा समेत सक्रिय छन् ।

कट्टेलले यसअघि ‘माया देऊ मलाई’ सार्वजनिक गरेका थिए भने सन् २०२५ मा ‘मेरो हात समाऊ’ बोलको लिरिकल गीत ल्याएका थिए । सन् २०१६ मा जर्जियाको एटलान्टामा बस्दादेखि गायनमा सक्रिय उनले त्यसअघि चारवटा गीत रेकर्ड गराइसकेका थिए । पप शैलीका गीतमा रुचि राख्ने कट्टेलले गीत–संगीतप्रतिको आफ्नो रुचि पुरानै रहेको बताउँदै आगामी दिनमा पनि नयाँ सिर्जनालाई निरन्तरता दिने बताएका छन् ।