नियात्रा

नित्यपूर्व दिशाबाट दिवाकर उदाईरहन्छ ।
पंक्षीले त्यो सुमधुर प्रभाती सुनाइरहन्छ ।।
चराचर बीच एउटा अनमोल प्रीति रहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
गर्मीको प्रकोप बढाउँदै ग्रीष्म ऋतु आउँछ ।
पसिना बगाउँदै किसानले बाली लगाउँछ ।।
यतिबेला प्रकृतिले धर्तीमा जल सिँचिरहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
गृष्म ऋतु पछि बिस्तारै वर्षा ऋतु आउँछ ।
सुकिसकेको धरतीले फेरि प्राण पाउँछ ।।
साउन भदौ दुई महिना वर्षाको मितिरहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
असोज र कात्तिकलाई स्वागत् जनाउँछ ।
वर्षा पछि आउने ऋतु शरद कहलाउँछ ।।
समशितोष्णता मौसमको स्थिति रहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
न हो यो वर्षा न हो शिशिर न नै हो वसन्त ।
हिमपातमा बढोत्तरी हुने ऋतु हो हेमन्त ।।
मंसिर र पुष महिना हेमन्तले चिस्सिरहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
कठ्याङ्ग्रिदो जाडोको सिउँदो भन्छन् ।
हेमन्त पछिको ऋतु यो हिउँदो भन्छन् ।।
माघ र फागुनमा शिशिरको मितिरहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
सम्पूर्ण ऋतुहरू मध्येमा वसन्त ताज हो ।
शिशिर पछि आउने वसन्त ऋतुराज हो ।।
वसन्तले सधैँ सबैको अन्तर जितिरहन्छ ।
रातपछि आउने दिन यसैगरी बितिरहन्छ ।।
बिकाश दुलाल, विश्वनाथ, असम