समाचार
काठमाडौं ।
अभिनेता तथा गीतकार नीर शाहका सिर्जना, नेपाली सङ्गीतका अग्रज सर्जकसँग जोडिएका संस्मरण र रमाइला किस्साले यसपटकको ‘पलेँटी’लाई सम्झना र सङ्गीतको सङ्गम बनाएको छ । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजित कार्यक्रममा शाहले आफ्ना चर्चित गीत प्रस्तुत गर्नुका साथै नारायण गोपाल, अम्बर गुरुङ, अरुणा लामा, दीप श्रेष्ठ, नातिकाजीलगायत सर्जकसँग जोडिएका संस्मरण सुनाए ।
झण्डै २२ वर्षअघि सुरु भएको लघु सांगीतिक कार्यक्रम ‘पलेँटी’ यसपटक संगीतकार आभासले सञ्चालन गरेका थिए। कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा शाहले जीवन र दर्शनसँग निकट रहेर लेखेका शब्दमा आधारित गीत प्रस्तुत गरिए। विगतमा विभिन्न गायक–गायिकाको स्वरमा चर्चित बनेका गीत अभिज्ञा घिमिरे र रूपक चौधरीले प्रस्तुत गरे। कार्यक्रमको सुरुवात ‘गहिराईमा डुब्दै नडुब’ बोलको गीतबाट भएको थियो ।
कार्यक्रमका क्रममा शाहले आफ्ना समकालीन सर्जक तथा कलाकारसँग जोडिएका विभिन्न संस्मरण सुनाए। विशेषगरी नारायण गोपालसँगको संगत सम्झँदै उनले विदेश यात्रादेखि पारिवारिक सम्बन्धसम्मका प्रसङ्ग सुनाए । ‘गोल्डन काइट वल्र्ड सङ फेस्टिभल’मा नारायण गोपालसँगै गरेको यात्राको प्रसङ्ग सुनाउँदै शाहले जगदम्बाश्री पुरस्कार पाएपछि नारायण गोपालले पुरस्कार रकमको हिसाबकिताब गर्दै किनमेल गरेको सम्झिए। उनले नारायण गोपालले किनेको ‘पी’ अक्षर अंकित सुनको लकेटको प्रसङ्गसमेत सुनाए । त्यसपछि नारायण गोपालकै स्वरमा चर्चित ‘पर्खि बसेँ आउला भनी मेरो उठ्ने पालो’ गीत प्रस्तुत गरिएको थियो ।
अग्रजदेखि पछिल्लो पुस्तासम्म
‘पलेँटी’मा पछिल्लो पुस्ताका सर्जकका सिर्जनासमेत प्रस्तुत गरिए। ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’ र ‘जून तारा जडेको’ बोलका गीतका क्रममा शाहले गायक तथा संगीतकार दीप श्रेष्ठसँगको लामो मित्रता सम्झिए । उनले ‘संगीत संगम’ र ‘प्रतिभाको डबली’ जस्ता कार्यक्रमको स्मरण गर्दै ती कार्यक्रमले दीपक खरेल, उदित नारायण झा र शम्भुजित बास्कोटालगायत प्रतिभाको पहिचान र विकासमा योगदान पु¥याएको बताए । ‘मैले मेरो माया छोडेर आएँ’ गीतको प्रसङ्गमा उनले संगीतकार नातिकाजीलाई सम्झिए। प्रेमध्वज प्रधान तथा संगीतकार एवं अभिनेता शिवशंकरसँग जोडिएका प्रसङ्ग पनि उनले सुनाए ।
रोमान्टिक गीत प्रस्तुत गर्ने क्रममा आफू ‘अलि अनरोमान्टिक’ रहेको ठट्यौली गर्दै शाहले हनिमुन अवधिमा लेखेको ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’ गीतको प्रसङ्ग सुनाए । डेनी डेन्जोङ्पाको अनुरोधमा लेखिएको ‘हिउँभन्दा चिसो’ गीत पनि कार्यक्रममा प्रस्तुत भयो। प्रवासमा रहेका र नेपालभित्रका नेपालीबीचको सम्बन्ध समेटिएको गीत गाउने डेनीको इच्छापछि उक्त गीत सिर्जना भएको शाहले बताए ।
फिल्मी गीतसँगै भावुक बनेको साँझ
कार्यक्रमको पछिल्लो चरणमा शाहका फिल्मी गीत प्रस्तुत गरिए। ‘मेरी बसन्ती’, ‘आँखैमा कसैको तस्बिर बसेछ’, ‘यो साँझ यो सुभाष’, ‘जति निर्मल’ र ‘छोरी मलाई भागीभागी नसताऊ’ लगायत गीत प्रस्तुत गरिएका थिए । ‘आँखैमा कसैको तस्बिर बसेछ’ गीतको प्रसङ्गमा शाहले नारायण गोपालको घरमा अरुणा लामाको सम्मानमा आयोजना गरिएको एक साँझको संस्मरण सुनाए। उक्त अवसरमा अम्बर गुरुङ, भूपी शेरचन, विश्वम्भर प्याकुरेल र आफू सहभागी भएको उनले बताए । उनका अनुसार त्यस साँझ अरुणा लामाले गीत प्रस्तुत गरेकी थिइन्। महेफिल बिहान ४ बजेसम्म चलेको स्मरण गर्दै शाहले त्यसलाई आफ्नो जीवनकै अविस्मरणीय क्षणमध्ये एक बताए ।
कार्यक्रमको अन्त्य ‘के घर के डेरा’ फिल्मको ‘को हो त्यो जसले मलाई मोहनी लगायो’ बोलको गीतबाट भयो। गीतमा रहेको ‘धजथ मयल’त थयग बकप थयगच यिखभ’ लाइन आफूले नलेखेको भन्दै शाहले ठट्यौली गरेपछि दर्शक हाँसेका थिए । कार्यक्रममा अभिनेत्री सनी र हनी रौनियारले ‘वी लभ यु नीर अङ्कल’ भनेपछि शाहले ‘आइ लभ माइसेल्फ टू’ भन्दै जवाफ दिएका थिए । यसपटकको ‘पलेँटी’मा किबोर्डमा मोहन राना मगर, बाँसुरीमा बुद्ध लामा, लिड तथा रिदम गिटारमा प्रविण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी, तबलामा मिलेश तण्डुकार र पर्कसनमा सुन्दर कुमार महर्जनले साथ दिएका थिए ।
कार्यक्रमपछि कार्टुनिस्ट राजेश केसीले सामाजिक सञ्जालमार्फत शाहले नारायण गोपाल, अम्बर गुरुङ र अरुणा लामासँगका संस्मरण सुनाउँदै दर्शकलाई हँसाउनुका साथै भावुक बनाएको उल्लेख गरेका छन् ।
