• २०८३ आश्विन १५, बिहीबार

‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ धरानमा सम्पन्न

धरान ।

९० दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ असोज १० गते शनिबार धरानमा सम्पन्न भएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामा, जेलर्स ब्यान्डका मनोज मोते, रोहित मास्के र ओझेल ब्यान्डका दिलु राईले ९० दशकमा लोकप्रिय आफ्ना गीत प्रस्तुत गरेका थिए। लामाले ‘बिर्सिएका यादहरू’, ‘म सधैंलाई’, ‘घुम्दै आउनू धरान बजार’ र ‘चिपुगुच्चा’ लगायतका गीत प्रस्तुत गर्दा मोतेले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’ र ‘भेडेटार’ सुनाएका थिए। मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’ र ‘मर्छु कि क्या हो’ तथा राईले ‘माछी पर्यो’, ‘पूर्णिमाको जुनेली रात’ र ‘उमेरले नौ डाँडा काटेछ’ लगायतका गीत प्रस्तुत गरे। कलाकारका प्रस्तुतिमा दर्शकले गीतसँगै गाउँदै र नाच्दै साथ दिएका थिए ।

कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई लामो सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ संगीतकर्मी रोशन शर्मा तथा कलाकार मनोज मोते, रोहित मास्के र दिलु राईले उनलाई खादा र सम्मानपत्र प्रदान गरेका थिए । त्यसैगरी लामाले जेलर्स ब्यान्डका गायक मनोज मोतेलाई ट्रफी तथा नगदसहित व्यक्तिगत रूपमा सम्मान गरेका   थिए । सम्मानपछि सञ्जीव लामा र मनोज मोतेले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ प्रस्तुत गर्दै कार्यक्रमको समापन गरे। लामो समयपछि एउटै मञ्चमा देखिएका दुई पुराना सहकर्मीको संयुक्त प्रस्तुतिमा दर्शकले उत्साहजनक साथ दिएका थिए । कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गरेका   थिए ।

९० दशकका लोकप्रिय गीत, कलाकार र ब्यान्डलाई पुनः दर्शकमाझ ल्याउने उद्देश्यले आयोजित कार्यक्रमले पुरानो पुस्ताको सांगीतिक सम्झना ताजा गराउनुका साथै नयाँ पुस्तालाई समेत त्यसबेलाको संगीतसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ । सिल्भर इन्टरटेनमेन्टले पूर्वी नेपालका विभिन्न सहरमा यस्तै सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको पनि जनाएको छ ।