• २०८३ आश्विन १५, बिहीबार

टोरोन्टोमा डा.खेम गुरागाईंको पुस्तक लोकार्पण

टोरोन्टो–

डा. खेम गुरागाईंको नयाँ पुस्तक Redefining Postcolonial Theory Through Dalit and Adivasi LiteratureM Centring Marginalized Voices को लोकार्पण तथा परिचर्चा कार्यक्रम टोरोन्टोमा सम्पन्न भएको छ । नेपाली साहित्य समाज क्यानडाको आयोजनामा टोरोन्टो पब्लिक लाइब्रेरीको अल्बर्ट क्याम्पबेल अडिटोरियममा आयोजित कार्यक्रममा पुस्तकका साहित्यिक, सामाजिक तथा सैद्धान्तिक पक्षमाथि चर्चा गरिएको थियो ।

रुटलेजबाट प्रकाशित पुस्तकले दलित तथा आदिवासी साहित्यलाई उत्तरऔपनिवेशिक सिद्धान्तको बहससँग जोड्दै सीमान्तकृत समुदायका आवाज, अनुभव र दृष्टिकोणलाई केन्द्रमा राखेको छ । कार्यक्रममा समाजका अध्यक्ष मोहनप्रसाद खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । पुस्तकको लोकार्पणपछि डा. पुष्पराज आचार्य, मोहनप्रसाद खरेल र लेखक डा. गुरागाईंले पुस्तकका विभिन्न पक्षमाथि धारणा राख्नुभयो। दलित तथा आदिवासी साहित्यको प्रतिनिधित्व, उत्तरऔपनिवेशिक चिन्तन र सीमान्तकृत समुदायका अनुभवलाई साहित्यिक तथा शैक्षिक बहसमा समेट्नुपर्ने आवश्यकतामाथि वक्ताहरूले चर्चा गर्नुभयो ।

कार्यक्रममा लेखककी छोरी सिरिन गुरागाईं र धर्मपत्नी शोभा गुरागाईंले पुस्तक लेखन तथा प्रकाशन यात्रासँग जोडिएका अनुभव साझा गर्नुभयो। त्यसपछि आयोजित प्रश्नोत्तर सत्रमा सहभागीहरूले पुस्तकका विषयवस्तु तथा सीमान्तकृत आवाजको प्रतिनिधित्वसँग सम्बन्धित जिज्ञासा राखेका थिए, जसको जवाफ लेखक गुरागाईंले दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण नेपाली साहित्य समाज क्यानडाकी सचिव पारु पाण्डेयले गर्नुभएको थियो ।MD & PS Inc. र प्रदीप पौडेलको प्रायोजन रहेको कार्यक्रममा अध्यक्ष खरेलले लेखक, वक्ता, अतिथि, प्रायोजक तथा साहित्यप्रेमीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।