कविता
काठमाडौँ ।
मनोहरा साहित्य समाजको ११७ औँ नियमित मासिक रचनावाचन शृङ्खला तथा आख्यानकार श्याम सिंघकद्वारा लिखित उपन्यास ‘कोइलाखाद’ माथिको परिचर्चा कार्यक्रम पेप्सीकोलास्थित विश्वज्ञान पाठशालाको सभाकक्षमा भव्य रूपमा सम्पन्न भएको खबर छ । संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता तथा प्राज्ञ एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. धनप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा समालोचक डा. रमेश शुभेच्छु, हास्यव्यङ्ग्य स्रष्टा आर.सी. रिजाल र औपन्यासिक कृति ‘कोइलाखाद’का लेखक श्याम सिंघक विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव भावकेशर बरालले गर्नुभएको थियो ।
सभाध्यक्ष डिल्लीराज अर्यालले उपस्थित अतिथि तथा स्रष्टाहरूलाई संस्थाको तर्फबाट स्वागत गर्दै राष्ट्रकवि माधव घिमिरेको जन्मदिवसका सन्दर्भमा उहाँलाई सम्झँदै उहाँको ‘राष्ट्रनिर्माता’ खण्डकाव्यका केही श्लोक वाचन गरेर रचनावाचन शृङ्खलाको शुभारम्भ गर्नुभएको थियो। त्यसपछि पहिलो चरणमा स्रष्टाहरू बलराम विष्ट, सरिता घिमिरे, मकुन्दराज शिवाकोटी, सूर्यप्रसाद डुम्रे, सरिता तिमल्सिना, पदम दाहाल, मदनराज घिमिरे, केशव ज्ञवाली ‘आगत’ र भुवन शिवाकोटी ‘चौघरे’ गरी १० जना स्रष्टाहरूले समसामयिक विषयमा आधारित आ–आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा भारतको मेघालयका कोइलाखानीमा मजदुरी गर्ने वर्गको जीवनमा आधारित तथा पहिचान पुरस्कार कोषको संक्षिप्त कृतिसूची– २०८१ मा पर्न सफल ‘कोइलाखाद’ उपन्यासमाथि समीक्षात्मक परिचर्चा गरिएको थियो। कृतिमाथि टिप्पणी राख्दै समालोचक डा. रमेश शुभेच्छुले यो उपन्यास अत्यन्तै पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो। लेखकको लामो साधनाको प्रतिफलका रूपमा आएको यस कृतिमा सरस, सहज र पात्रानुकूल भाषाशैलीको प्रयोग गरी अन्तरसांस्कृतिक, अन्तरजातीय र अन्तरभाषिक समाजको सूक्ष्म अध्ययन गरिएको भन्दै उहाँले लेखकप्रति आभार व्यक्त गर्नुभयो ।
सो क्रममा लेखक श्याम सिंघकले पुस्तकको रचनागर्भबारे प्रकाश पार्दै आख्यानलाई केवल कथा मात्र नबनाएर संस्कृति र इतिहासको दस्तावेज बनाउने इमानदार प्रयत्न गरेको धारणा राख्नुभयो । नौ वर्षको दीर्घ साधना र ६–६ पटकसम्म मेघालयका कोइलाखानीमा पुगी त्यहाँको जनजीवनलाई नजिकबाट नियालेर तयार पारिएको यो कृति पहिचान पुरस्कारको सूचीमा पर्दा थप हौसला मिलेको उहाँले बताउनुभयो । पुस्तक परिचर्चा पश्चात् शुरु भएको रचनावाचनको दोस्रो चरणमा सम्पत् काफ्ले, रामकुमार पण्डित क्षेत्री, चन्द्र मादेन’ आन्छन’, अप्सरा पोखरेल, कविराज घिमिरे, गोविन्द नेपाल, रत्ननिधि रेग्मी ’शुक्राचार्य’, कृष्णप्रसाद पौडेल, चेवन बस्नेत, मधुसूदनप्रसाद घिमिरे, डम्बर घिमिरे, दुर्गा घिमिरे, सञ्जय सोती, अल्फीफोहेन फाक्लुप्पा, घनश्याम प्रसाईं, गोविन्द घिमिरे ’वेदमणि’, मधुसूदन आचार्य, जी.के.एन. खडेरी, प्रिन्स प्रमोद तथा भावकेशर बराललगायत २० जना स्रष्टाहरूले गीत, गजल, कविता, भजन, मुक्तक, तान्का र लघुकथा प्रस्तुत गर्नुभएको थियो । यस्तै विशिष्ट अतिथि आर.सी. रिजालले व्यङ्ग्यविनोदपूर्ण केही टुक्राहरू जोड्दै सारपूर्ण लघुकथासमेत सुनाउनुभएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथि डा. धनप्रसाद सुवेदीले केन्द्रमा प्रज्ञा–प्रतिष्ठान तथा प्रदेश र स्थानीय सरकारबीच उचित समन्वयको अभावमा साहित्यिक–प्राज्ञिक संस्थाहरूको संरक्षण र विकासमा चुनौती देखिएको बताउनुभयो । अन्तमा, संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक भावकेशर बरालले सहभागी सम्पूर्ण स्रष्टा र अतिथिहरूप्रति आभार व्यक्त गर्दै सभापतिको अनुमतिमा कार्यक्रम समापन गर्नुभएको थियो ।
