लघुकथा–हिन्दी
काठमाडौं ।
साहित्यकार महेन्द्र चालिसेद्वारा लिखित निबन्धसङ्ग्रह ‘मिथकभित्र लुकेका सत्य’ लोकार्पण गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा असोज ४ गते सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा आयोजित कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । चालिसेको यो १५औँ कृति हो । २८ वटा निबन्ध सङ्गृहीत कृतिलाई प्रमुख आमन्त्रित साहित्यकार तथा पूर्वराजदूत प्रा. डा. जयराज आचार्यले साहित्यकार रमेश विकलको तस्बिरमा पुस्तक समर्पण गरेपछि मञ्चासीन व्यक्तित्वहरूले सामूहिक रूपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा प्रा. डा. आचार्यले विशेश्वरप्रसाद कोइराला र किसुनजीको तपोभूमिमा आयोजित कार्यक्रममा सहभागी भएर कृतिमाथि बोल्न पाएकोमा खुसी व्यक्त गरे । उनले बीपी सङ्ग्रहालयमा विद्यालय तथा कलेजका विद्यार्थीलाई सहभागी गराएर साहित्यिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न र लेखकहरूलाई त्यहीँ बसेर साहित्य सिर्जना गर्ने वातावरण बनाउन आग्रह गरे । कृतिमाथि टिप्पणी गर्दै समालोचक प्रमोद प्रधानले महेन्द्र चालिसे बालचित्रकथामार्फत साहित्यमा प्रवेश गरेको बताए । अक्षर र भावनालाई प्रेम गर्ने चालिसेको ‘मिथकभित्र लुकेका सत्य’ फरक र महत्त्वपूर्ण कृति भएको उनको भनाइ थियो ।
कथा, कविता र निबन्धमा मिथकको प्रयोग भए पनि मिथकलाई नै केन्द्रमा राखेर लेखिएको कृति कम रहेको उल्लेख गर्दै प्रधानले चालिसेको कृति नेपाली साहित्यमा नौलो प्रयास भएको बताए । मिथक वैज्ञानिक सत्य हो वा होइन भन्नेभन्दा पनि पुस्तौँदेखि श्रुति र परम्पराका रूपमा हस्तान्तरण हुँदै आएको महत्त्वपूर्ण सांस्कृतिक दस्तावेजका रूपमा यसलाई बुझ्नुपर्ने उनको भनाइ थियो । नेपालमा विभिन्न जाति र समुदायका आफ्नै मिथक रहेको उल्लेख गर्दै उनले रामायण र महाभारतका मिथकीय प्रसङ्गसमेत चर्चा गरे ।
समीक्षक रमेशप्रसाद खनालले मिथकलाई विगतको वास्तविकता र वर्तमानको कल्पनाबीचको सम्बन्धका रूपमा व्याख्या गरे । हिजोको वास्तविकता आज काल्पनिक र आजको यथार्थ भोलि मिथक बन्न सक्ने उल्लेख गर्दै उनले कृतिमा धर्म, दर्शन, संस्कृति तथा नाथ समुदायसँग सम्बन्धित प्रसङ्गहरू रहेको बताए । कृति पठनीय तथा सङ्ग्रहणीय रहेको उनको भनाइ थियो ।
कृतिका भूमिकाकार तथा नियात्राकार रामप्रसाद पन्तले मिथकलाई अर्धसत्यका रूपमा व्याख्या गर्दै पूर्वीय र पाश्चात्य सभ्यतामा मिथकसम्बन्धी बुझाइ फरक रहेको बताए । समालोचक गोपी मैनालीले मिथक भ्रम वा असत्य नभई तत्कालीन समाजको कल्पना भएको बताए । उनले रोमन तथा गोथेजस्ता मिथकीय प्रसङ्गको चर्चा गर्दै पूर्वीय सभ्यताका कतिपय मिथक यथार्थमा परिणत भइसकेको बताए । आधुनिक समयमा मिथकको विस्तार अझ बढ्दै गएको उनको भनाइ थियो ।
समालोचक ठाकुर शर्मा भण्डारीले ‘मिथकभित्र लुकेका सत्य’ साहित्यिकभन्दा अनुसन्धानात्मक प्रकृतिको कृति भएको बताए । यात्राका क्रममा देखेका र भोगेका विषय तथा पत्रकारिताको अनुभवले कृति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । लेखकीय मन्तव्य राख्दै महेन्द्र चालिसेले आफू यात्रामा पुस्तक पढ्ने गरेको भए पनि अमेरिकाको यात्राका क्रममा पुस्तक बोक्न छुटेपछि जहाजमा उपलब्ध एउटा म्यागजिन पढ्दा मिथकप्रति आफ्नो जिज्ञासा बढेको बताए । उनले २०५४ सालदेखि नै आफ्ना लेखनमा मिथकको प्रयोग गर्दै आएको भए पनि मिथकको अवधारणाबारे गहिरो जानकारी भने त्यही यात्राका क्रममा प्राप्त भएको बताए । त्यसपछि मिथकबारे अनुसन्धान गर्दै कृति तयार पारेको उल्लेख गर्दै चालिसेले पत्रकारिताको तालिम र आफूले सञ्चालन गरेका विभिन्न तालिमले पनि कृति लेखनमा सहयोग पुगेको बताए । कृति तयार पार्ने क्रममा बाजुराम पौडेल, के.के. कर्माचार्य, रामप्रसाद पन्त र ठाकुर शर्मा भण्डारीको महत्त्वपूर्ण सहयोग रहेको उनले स्मरण गरे ।
कार्यक्रममा इतिहासविद् प्रा. डा. दिनेशराज पन्त, के.के. कर्माचार्य, साहित्यिक पत्रकार रोचक घिमिरे, बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल तथा समालोचक युवराज मैनालीले शुभकामना मन्तव्य राख्दै चालिसेको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गरेका थिए । सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले महेन्द्र चालिसेको कृति प्रकाशन तथा लोकार्पणको अवसर प्राप्त भएकामा आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित साहित्यकार तथा साहित्यानुरागीलाई धन्यवाद दिए । अध्यक्ष पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव अच्युत घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने प्रतिष्ठान सदस्य तथा कथाकार आलोक चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा साहित्यकार, समालोचक तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
