लघुकथा
काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ अग्रज गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको छ । राष्ट्रकवि घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा असोज ७ गते मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले संयुक्त रूपमा गीतकार रिजाललाई नगद एक लाख रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहित पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले नेपाली साहित्यको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले राष्ट्रकवि घिमिरेलाई नेपाली काव्य तथा साहित्य क्षेत्रको ‘सगरमाथा’का रूपमा चित्रण गर्नुभयो । पुरस्कृत व्यक्तित्व गीतकार रिजालले राष्ट्रकवि घिमिरेको नाममा स्थापित पुरस्कारबाट आफू सम्मानित हुन पाएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो । नेपाली भाषा, कला, साहित्य, संस्कृति तथा ज्ञानविज्ञानको उन्नयनका लागि २०५३ सालमा स्थापित मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘माधव घिमिरे पुरस्कार’ गीतकार रिजाललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे तथा सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेले प्रतिष्ठानको कोषमा रहने गरी २७ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अक्षयकोषबाट प्राप्त ब्याजमार्फत हरेक वर्ष नेपाली साहित्य तथा सिर्जनाका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाली साहित्य र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका गीतकार रिजालका थुप्रै गीत लोकप्रिय छन् । उहाँद्वारा रचित तथा नारायणगोपालको स्वरमा चर्चित बनेको ‘केही मीठो बात गर’ नेपाली सङ्गीतका लोकप्रिय गीतमध्ये एक हो ।
रिजालले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानबाट उत्कृष्ट कविको पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको साहित्यकार प्रा. डा. सनतकुमार वस्तीले जानकारी दिनुभयो । उहाँले पहलमानसिंह स्वाँर स्मृति पुरस्कार, वानिरा प्रज्ञा पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतिष्ठानका कोषाध्यक्ष कृष्ण अधिकारीका अनुसार भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि लमजुङबाट काठमाडौं आएका साहित्यकार तथा कलाकारको पहलमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानले पछिल्ला चार वर्षदेखि राष्ट्रकवि घिमिरेको नाममा पुरस्कार प्रदान गर्दै आएको छ ।
अक्षयकोष स्थापना भएपछि पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिमा विज्ञका तर्फबाट प्रा. डा. सनतकुमार वस्ती र दाताका तर्फबाट डा. हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।
