• २०८१ माघ २७ आइतबार

विश्वराज र खेमराजको यौनकथा सार्वजनिक

विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त यौनकथाकृति ‘रनाहा’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि कथाकार माया ठकुरीलगायतले कृति सार्वजनिक गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका साहित्यकारद्वय अधिकारी र पोखरेल नेपाल आएको अवसर पारी सो यस कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा बोल्दै ठकुरीले आफू प्रज्ञा–प्रतिष्ठानमा हुँदा यौनकथाबारेको अनुसन्धानात्मक कृतिमाथि काम भएको बताइन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा सक्रिय दुवै स्रष्टाको उनले प्रशंसा गरिन् । कार्यक्रममा सार्वजनिक कथाकृतिमाथि डा. दीनबन्धु शर्मा र मन्दिरा मधुश्रीले समीक्षात्मक टिप्पणी गरे । यस संयुक्त कथाकृतिमा दुवै कथाकारका आठ–आठ यौनकथा समावेश छ ।

मोलुङ फाउन्डेसनद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा कथाकारद्वय अधिकारी र पोखरेलसहित प्रा. डा. भूपप्रसाद धमला, राधेश्याम लेकाली, श्रीओम रोदनले बोलेका थिए ।