• २०८३ आश्विन ९, शुक्रबार

निबन्ध लेखनसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौँ ।

निबन्ध लेखनसम्बन्धी कार्यशाला आइतबार, २० सेप्टेम्बर २०२६ अर्थात् असोज ४, २०८३ मा सम्पन्न भएको छ। नेपाली समयअनुसार साँझ ६ः४५ बजे तथा उत्तर अमेरिकी पूर्वीय समयअनुसार बिहान ९ बजे सुरु भएको कार्यशालामा संस्कृत विश्वविद्यालयबाट नेपाली निबन्ध विषयमा विद्यावारिधि प्राप्त गरेका डा. जीवलाल बस्यालले प्रशिक्षण दिएका थिए ।

नेपालसहित जर्मनी, रुस, अमेरिका र क्यानडाका विभिन्न स्थानबाट साहित्यकार तथा स्रष्टाहरू कार्यशालामा सहभागी भएका थिए । कार्यशालामा विश्वमा निबन्धको सुरुआतदेखि विकासक्रम तथा नेपालमा निबन्ध लेखनको प्रारम्भसम्मका विषयमा डा. बस्यालले चर्चा गरेका थिए। विभिन्न देशका निबन्धकारका धारणालाई उद्धृत गर्दै उनले निबन्धको परिभाषा, स्वरूप र प्रकारबारे प्रशिक्षण दिएका थिए ।

उनका अनुसार निबन्ध स्वतन्त्र ढङ्गले सङ्क्षिप्त रूपमा लेखिने र आख्यानबाट पृथक् रहेको साहित्यिक विधा हो। निबन्ध आत्मपरक तथा वस्तुपरक दुवै हुन सक्ने उल्लेख गर्दै उनले विचार, चिन्तन र अनुभूतिबाट निबन्ध सिर्जना हुने बताए । कार्यशालामा नेपाली निबन्धका प्रमुख स्रष्टा लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, भैरव अर्याललगायतका निबन्धका अंश र तिनका विशेषताबारे समेत चर्चा गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले निबन्ध लेखनसँग सम्बन्धित जिज्ञासा राखेका थिए। जिज्ञासामाथि प्रशिक्षक बस्यालले जवाफ दिँदै सहभागीहरूसँग छलफल गरेका थिए । वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रमका सुरेन उप्रेतीले सञ्चालन गरेको कार्यशालाको अन्त्यमा प्रशिक्षक तथा सहभागीलाई धन्यवाद दिइएको थियो । सो अवसरमा उप्रेतीले आगामी आइतबार, असोज ११ गते (२७ सेप्टेम्बर २०२६) सोही समयमा डा. पुष्करराज भट्टबाट लघुकथा लेखन कार्यशाला आयोजना गरिने जानकारी दिए ।