समाचार

बैनी, आज मसित मेरो कार्यालय जाने है ! आफ्नो बाको खास चेली अपराजिता पूर्णिमाको न्यानो प्रस्तावले भवानी खुशीलाई सम्पूर्ण खुशी दियो । हुन्छ दिदी, आज म पनि फुर्सदमा छु । सहर्ष प्रस्ताव स्वीकार । सोचिन् खुशीले, हाम्रो बाले पढाउनुभएका अर्जुनहरू थुप्रै अर्जुन बने, कृष्ण बने, मुन्नीको पिता बने, अनेक बने, तर चेली ? दिदी अपराजिता मात्र एक अब्बल चेली ! सरकारी हाकिम ! त्यो युगमा यो प्राप्ति कम होइन । अरू दिदीहरू उही गृहमन्त्री ! उही डबल डिग्रीवाली काजोल मयूरी भीमानी !
बैनी, हाम्रो गुरुले हामीलाई शिक्षा मात्र दिनुभएन, दीक्षा पनि दिनुभयो । आज म जहाँ छु, त्यसको क्रेडिट गुरुलाई जान्छ । सीतामणिदेखि रामपुरसम्म, गोर्खादेखि कान्तिपुरसम्मको यात्रामा, कदम कदममा गुरुको दीक्षा काम लागेको छ । देवीनगर, र देवीनगरको भवानी माध्यमिक विद्यालयको गौरवमय इतिहासमा हाम्रो गुरुको नाम स्वर्णिम अक्षरले लेखिने छ । तिमीहरू भाग्यमानी हौ खुशी ! भाउजू जानकी गोस्वामीले स्वस्थानी सुनेर गोमाको मर्म बुझेकी, काम लाग्यो । वनवास जान परेन । हे हे हे, म त गुरु होइन, दाइ भन्छु । अपराजिता ।
बीस वसन्तपछि खुशीले रुसी कथा सुनेपछि यो दीक्षा पुराण सुनाइन् ,आफ्नो बा प्रोफेसर शान्तेश्वर महादेव विजयश्रीलाई, बा, हजुरको आफ्नै परिचय छ, उर्दूमा वजूद छ, अस्तित्व छ, हजुरको नामलाई कुनै उपसर्ग र प्रत्यय चाहिन्न । म जाम्बवान बनेर हजुरलाई आन्जनेय बनाउन पर्ला र ? आजको शिवानि लघुकथा गज्जब, अब हजुर पहिलेकै जस्तो आलोकको विम्व । तमालय होएइन हाम्रो बाको हृदय । हाम्रो आरजू साझा, यही हो, कविता या गजल, उज्यालो मात्र ! सत्यम् शिवम् सुन्दरम् यात्रा, रूपनगरदेखि प्रेमनगरसम्म ! दहचोकदेखि महचोकसम्म, सिर्जनामा श्रद्धा र साधनामा पूजा ! छोरीको दीक्षा र शिक्षा, ब्याजसहित वापसी ! बच्चा हजुर, र सच्चा हजुर ! बा तह लगाउने छोरीले हो ! हरेक युगमा ! प्रोफेसर । दीक्षा लिएर गयो, जेसीको घरबाट केसीको निवासतिर । मनमा भानोदय, उज्यालो ।
धनराज गिरी