समाचार
काठमाडौँ ।
ख्यातिप्राप्त रङ्गकर्मी तथा अभिनेता हरिहर शर्मा, गायक तथा सङ्गीतकार सञ्जय श्रेष्ठ र पत्रकार वीरेन्द्र जैरी सम्मानित भएका छन्। हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत प्रतिष्ठानले रेडियो नेपालका प्रथम गायक तथा विशिष्ट रङ्गकर्मी एवं अभिनेता स्व. हरिप्रसाद रिमालको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजना गरेको विशेष समारोहमा उनीहरूलाई कला, सङ्गीत र सञ्चार क्षेत्रमा पु¥याएको योगदानका लागि सम्मान गरिएको हो । समारोहको सुरुवात मध्यवानेश्वरस्थित रिमालको निवासमा निर्मित अर्धकदको प्रतिमा अनावरणबाट गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठी, संस्थापक संरक्षक कल्याणी रिमाल तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललगायतले लयप्रसाद मैनालीद्वारा निर्मित प्रतिमा अनावरण गरेका थिए ।
कार्यक्रममा हरिहर शर्मालाई नगद ५१ हजार १ रुपैयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत सम्मान पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, पत्रकार वीरेन्द्र जैरीलाई ३१ हजार १ रुपैयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्यसञ्चार सेवा सम्मान पुरस्कार र गायक तथा सङ्गीतकार सञ्जय श्रेष्ठलाई ३१ हजार १ रुपैयाँसहित हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत विशेष सम्मान पुरस्कार प्रदान गरिएको थियो । समारोहमा गायक जे पापीले रिमालको लोकप्रिय गीत ‘न त सम्झिनु, न त बिर्सनु’, घनश्याम गौतमले ‘बिना बादल असिना पर्दैन’ तथा कपिल लोहनीले ‘फगत एक नजरमा’ प्रस्तुत गरेका थिए । यी गीत रिमालले गाएका लोकप्रिय गीतमध्येका हुन् ।
प्रतिष्ठानका सदस्यसचिव तथा अभिनेता सम्राट् सापकोटाले रिमाललाई कला, साहित्य र सङ्गीतका तीनै विधामार्फत जीवित राख्ने उद्देश्यले प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको बताए। उनले रिमालकै निवासमा रङ्गमञ्च तथा नमोबुद्धमा फिल्म स्टुडियो निर्माण गर्ने योजना रहेको जानकारी दिए। प्रतिष्ठानले यसअघि नाट्य महोत्सव र लघु चलचित्र प्रतियोगिता आयोजना गरिसकेको र आगामी दिनमा सङ्गीत महोत्सव आयोजना गर्ने तयारी रहेको पनि उनले बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनालले दसैँअघि आयोजित उक्त कार्यक्रम कला क्षेत्रका लागि विशेष अवसर भएको बताए। कार्यक्रमका सभापति प्रा. डा. वासुदेव त्रिपाठीले रिमालको निवासमा अर्धकदको प्रतिमा स्थापना भएपछि उनी पुनः फर्किएजस्तो अनुभूति भएको बताए । हरिप्रसाद रिमाल नेपाली रेडियो नाटकका अग्रणी व्यक्तित्वका रूपमा समेत परिचित छन् । रेडियो नेपाल स्थापना भएपछि सन् १९५०÷५१ तिर शङ्कर लामिछानेको रचनामा आधारित ‘दिल टुक्रा भएर आँखाको बाटो बगेछ’ बोलको गीत रेकर्ड गराएर उनी रेडियो नेपालका प्रथम गायक बनेका थिए। रेडियो नाटकको विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याएका कारण उनलाई नेपाली रेडियो नाटकका पिता भनेर चिनिन्छ ।
करिब सात दशक लामो नेपाली रङ्गमञ्च, रेडियो, सङ्गीत र अभिनय यात्रामा रिमालले बहुआयामिक योगदान दिएका थिए । नेपाली रङ्गमञ्चलाई व्यावसायिक तथा कलात्मक रूपमा अघि बढाउने प्रारम्भिक पुस्ताका कलाकारका रूपमा उनको योगदानलाई महत्त्वपूर्ण मानिन्छ । वि.सं. १९८२ असोज ४ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते निधन भएको थियो ।
