• २०८३ आश्विन १७, शनिबार

मिरा राणाको एकल साँझमा छ दशक लामो सांगीतिक यात्रा

काठमाडौँ ।

दिग्गज गायिका तथा सङ्गीतकार मिरा राणाको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। आइतबार साँझ कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा राणाले आफ्नो छ दशक लामो सांगीतिक यात्राका चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शक तथा श्रोतामाझ पुराना सांगीतिक सम्झना ताजा गराइन् ।

कार्यक्रममा शम्भुजित बास्कोटा, रामभक्त जोजिजु, कृष्णगोपाल श्रेष्ठ, योगेन्द्र उपाध्याय, छिरिङ भुटिया, कपिल लोहनी, क्यान्सर विजेता गायिकाद्वय तारा थापा र सङ्गीता थापा शाक्य, निशा देशार, रुपी सिंह, माण्डवी त्रिपाठी, सविना कार्की, इतु जोजिजु, शीतल थापा र युनिशा देशारलगायतका कलाकारले राणाका चर्चित गीतहरू प्रस्तुत गरेका थिए । मनोहर सुनामले म्युजिक कन्डक्टरको भूमिका निर्वाह गरेका थिए ।

प्रकाश सायमीले सञ्चालन गरेको कार्यक्रममा मिरा राणाले स्वरसम्राट् नारायणगोपालसँग गाएका ‘तिमी देऊ या नदेऊ’, ‘मेरो जोवन लैजाऊ’, ‘आँखैमा कसैको तस्बिर बसेछ’ र ‘बैनीको दया छ भने’ लगायतका गीत प्रस्तुत गरिएका थिए । त्यस्तै, शम्भुजित बास्कोटासँग गाइएको ‘नाच्देउ मैच्याङ’, सिन्धुपाल्चोक जिल्लामा तथा कुमार बस्नेतसँगको ‘मादल घनघन घन्काऊँ कि’, ‘लेक फुल्यो लालीगुराँस’ लगायतका गीत पनि कार्यक्रममा गुञ्जिएका थिए ।

राणाका चर्चित एकल गीत ‘मखमली चोलो चाहिँदैन’, ‘मात चढेको साँझ’, ‘नशालु रात’, ‘मेरो पाउमा आज’, ‘साम्द सदा शिव’, ‘बिर्सिएर मैले फेरि’, ‘आजसम्म जसरी बाँचेर आएँ’ र ‘मेरो फूललाई वसन्त भयो’ लगायतका गीतसमेत प्रस्तुत गरिएको थियो । क्यान्सरलाई जितेकी तथा क्यान्सरकै कारण आफ्ना पति उदयजङ्ग राणालाई गुमाएकी मिराले क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले मिरा राणा क्यान्सर समाज स्थापना गरेकी छन् । सोही समाजमार्फत कोष स्थापना गरी क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले एकल सांगीतिक साँझ आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रमका अवसरमा एक संस्थाले राणाको दीर्घ सांगीतिक योगदानको सम्मान गर्दै उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।