• २०८३ आश्विन १, बिहीबार

साहित्य चौतारीमा १६१औँ मोतीजयन्ती तथा ‘देवीभक्तका सिर्जनाहरू’ लोकार्पण

झापा ।

साहित्य चौतारी, बिर्तामोडको आयोजनामा १६१औँ मोतीजयन्ती तथा चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको प्रथम साहित्यिक कृति ‘देवीभक्तका सिर्जनाहरू’ कविता सङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।चौतारीका उपाध्यक्ष हिम्मत नेम्वाङको अध्यक्षता तथा प्रसिद्ध महाकाव्यकार मित्रप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृतिकार देवीभक्त श्रेष्ठ, चौतारीकी संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, पूर्व प्राज्ञसभासद् सुमित्रा वाङ्देल ‘चेली’, आख्यानकार पुण्यप्रसाद खरेल, तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल र समीक्षक हरिनारायण भट्टराईलगायतको उपस्थिति थियो ।

चौतारीका सचिव तुलसी निरौलाले स्वागत मन्तव्य तथा सदस्य भानुभक्त कुभिण्डेलीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा चौतारीका पूर्वअध्यक्ष टङ्क काफ्लेले कृतिकार देवीभक्त श्रेष्ठको साहित्यिक परिचय प्रस्तुत गरेका थिए । प्रमुख अतिथि दाहालसहित मञ्चासीन अतिथिहरूले संयुक्त रूपमा ‘देवीभक्तका सिर्जनाहरू’ कविता सङ्ग्रहको लोकार्पण गरेका थिए। लोकार्पणपछि प्रा.डा. गङ्गाप्रसाद अधिकारी र समीक्षक हरिनारायण भट्टराईले कृतिको समीक्षात्मक चर्चा गरेका थिए । उनीहरूले कविता सङ्ग्रहका विषयवस्तु, भावबोध तथा साहित्यिक पक्षबारे धारणा राखेका थिए ।

कार्यक्रममा कविहरू लीला अनमोल र पदम अधिकारीले कृतिमा सङ्गृहीत कविता वाचन गरेका थिए। त्यसैगरी कविहरू मिना अधिकारी, इलामे जेठो, जमुना खरेल र गगन भट्टराईले कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रारम्भमै शिरो सान्दाइले युवककवि मोतीराम भट्ट, प्रसिद्ध सङ्गीतकार फत्तेमान, जेन्जी सहिद तथा गत भदौ १० गते रसुवागढीबाट भोटेकोसी हुँदै त्रिशूलीमा आएको बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

संयोगवश कृतिकार देवीभक्त श्रेष्ठको जन्मदिनसमेत सोही दिन परेको थियो। उनी ६६ वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रमुख अतिथि मित्रप्रसाद दाहाल, आख्यानकार पुण्यप्रसाद खरेल, डिएल प्रधान, इलामे जेठो, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ तथा प्रलेस कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मुकदर्शक’ले जन्मदिनको शुभकामना व्यक्त गर्दै कृति प्रकाशनका लागि बधाई दिएका थिए। उनीहरूले आगामी दिनमा पनि श्रेष्ठबाट थप सिर्जनात्मक कृतिहरू आउने अपेक्षा व्यक्त गरेका थिए ।

कृतिकार श्रेष्ठले आफ्ना धारणा राख्नुका साथै कार्यक्रममा संस्थाको स्वागत गान तथा भजन प्रस्तुत गरेका थिए। केही कलाकारले श्रेष्ठद्वारा रचित अन्य भजनसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा चौतारीका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष हिम्मत नेम्वाङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कृतिकार श्रेष्ठलाई बधाई तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार, कवि, पत्रकार तथा विभिन्न क्षेत्रका स्रष्टासहित सयभन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रममा राजेन्द्र सङ्ग्रौला, पूर्वप्रधानाध्यापक कर्णबहादुर डाँगी, यज्ञ परिश्रमी, भवानी क्षेत्री, डा. खगेन्द्र दाहाल, देशु वनेम, अभागी थेगुवा, देवीचरण भण्डारी, कृष्ण सुवेदी ‘निराकार’, हस्त परियार, लीलाप्रसाद अधिकारी, अनिरुद्र ओली, डिपी शर्मा, मेघनाथ बन्धु, दिलीप घिमिरे, एनबी दाहाल ‘नवीन’, निर्माण दाहाल, भरत प्रसाईं, गोपीकृष्ण प्रसाईं, कृष्ण पौडेल र राजु बराललगायत सहभागी थिए ।

त्यसैगरी पत्रकार सुव्रत नेउपाने, कवि जीवनहरि शर्मा, माधव पौडेल, कुमार श्रेष्ठ, मुक्ति अस्तित्व, ज्ञानु बुढाथोकी, देवेन्द्रकिशोर ढुङ्गाना, कृष्ण निरौला, सतीश निरौला, कमला नेम्वाङ, लीला खत्री, शेखर ढकाल, इन्द्र बाँस्तोला, भवानी गौतम, कृष्णमाया बुढाक्षेत्री, शान्ता पौडेल, पूर्ण धिमाल, विमान लामा, सन्दीप सापकोटा, चेतनाथ गुरागाईं, देव बाँस्कोटा, दीपक रायमाझी, सौगात मैनाली र जिना अधिकारीलगायतको सहभागिता थियो ।