समाचार
काठमाडौं ।
नेपाली कथा साहित्यको पुनर्जागरण अभियानमा समर्पित सर्जकहरूले नियमित कथावाचन कार्यक्रमलाई निरन्तरता दिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा दिवंगत स्रष्टा माधवलाल कर्माचार्यको कथा ‘तिनको रिस’ वाचन गरियो । २००७ सालमा शारदा मासिक पत्रिकाको वर्ष १६ संख्या १ मा प्रकाशित यो कथा कथाकार इल्या भट्टराईले वाचन गरिन् । दिवंगत कथाकारको कथावाचनपछि कथाकार जलेश्वरी श्रेष्ठले २०६१ सालमा प्रकाशित आफ्नो कथा ‘चिसिएको रगत’ वाचन गरिन् । त्यस्तै ९६ वर्षीय कथाकार माधवप्रसाद गौतमले आफ्नो कथा ‘मेघिया’ वाचन गरे । गौतम नेपाली तथा भोजपुरी भाषामा कलम चलाउँछन् ।
कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले नेपाली कथाहरूको कालखण्डगत विकासक्रमबारे अध्ययन अनुसन्धान गर्ने र नयाँ नयाँ धारका कथा लेख्न लेखकलाई प्रेरित गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम थालिएको बताए । अभियानका परिकल्पनाकार तथा अग्रज कथाकार पुष्कर लोहनीले भने, “हिजोआज यथेष्ठ अध्ययन नगरी कथा लेख्ने गरिएको पाइन्छ । कथामा मानसिक द्वन्द्व पाइँदैन । मानसिक द्वन्द्वबिनाको कथा कथा हुनै सक्दैन । यौन र यौनको अस्तित्वबारे लेखेमा अश्लील मानिन्छ । जुङको सिद्धान्त धेरैले पढेकै छैनन् । शीर्षकसम्म पनि कपी गर्ने गरेको देखिन्छ । यद्यपि आजको समयमा पाठक सचेत छन् । तिनले प्रश्न गर्ने नै छन् ।”
