Uncategorized
कवि सरस्वती तिमिल्सिनाको कवितासङ्ग्रह ‘पाइला पाइलामा पाइला टेकेर’ लोकार्पण गरिएको । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीले सोमबार विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, कवि गोविन्दराज विनोदी, डाक्टर नवराज लम्साल, प्राडा नारायणप्रसाद खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र कविकी आमा देवी तिमिल्सिनाले संयुक्तरूपमा कृति विमोचन गरेका हुन् ।
विमोचनपछि बोल्दै प्रमुख अतिथि थापाले राजनीति र साहित्यको लाइन अलगअलग हुने बताए । ‘राजनीतिमा जे पनि हुन्छ, उथलपुथल आउँछ, जस्तो परिस्थिति पनि सामना गर्नुपर्छ’, थापाले भने – ञतर साहित्यले एउटा सही मार्ग निर्धारण गरेको हुन्छ । सरस्वतीजीका कविताहरू पनि त्यही सही मार्गबाट प्रेरित छन् । थापाले राजनीतिज्ञका रूपमा चिनिरहेको व्यक्तिलाई आज कविको रूपमा देख्न पाउँदा खुसी लागेको बताए ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ कवि गोविन्दराज विनोदीले कवि सरस्वतीका कवितामा नारी मुक्तिका स्वर मुखरित भएर आएको बताए । समाज र मुलुकको वर्तमान अवस्थालाई शब्दचित्रमा उतारेर तिमिल्सिनाले जीवन्त कविता लेखेको विनोदीले दाबी गरे । विद्यालयको कक्षाकोठामा कवि तिमिल्सिनाको कविता सुनेको स्मरण गर्दै विनोदीले आज सङ्ग्रह विमोचन गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि डाक्टर नवराज लम्सालले सरस्वतीका कवितामा मानवताको नयाँरुप भेटिएको बताए । ञसरस्वतीका कवितामा देखावटी छैन, खोक्रो आदर्श मात्र छैनझ, लम्सालले भने – ञपरम्पराभन्दा माथि उठेर लेखिएका कविता छन् । समाजको जटिलताबाट माथि उठेर मानवताको नयाँ स्वरुप र जीवनका बहुगुण उहाँका कवितामा छन् ।
कार्यक्रममा मुना धनञ्जय, गीता पौडेल ढकाल, धनराज गिरी, शिव त्रिपाठी, सुदीप चापागाईं, पुरु लम्साल, शंकर तिवारी र मुक्तिनाथ घिमिरेले कवि तिमिल्सिनाका कविता प्रस्तुत गरेका थिए । कवि तिमिल्सिनाकी आमा देवीले छोरीको किताब विमोचन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भाव व्यक्त गरिन् । त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालको अध्यक्षतामा गरिएको कार्यक्रमलाई पत्रकार एवम् पठन संस्कृति प्रबर्द्धक लेखराम सापकोटाले सहजीकरण गरेका थिए । कवितासङ्ग्रहलाई त्रिवेणी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । सङ्ग्रहमा ५९ वटा कविता छन् । किताबको मूल्य ११११/– रुपैयाँ छ।
