• २०८३ भाद्र २६, शुक्रबार

घोगी

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

पहाडबाट तराई झरेको त्यो समय मेरो जीवनको एउटा नयाँ अध्याय थियो। क्याम्पस पढ्न गाउँ छाडेर तराईको सहरमा पुगेको थिएँ। पहाडको चिसो हावा, डाँडाकाँडा र आफ्नै गाउँले परिवेश तथा बोलीमा हुर्किएको मलाई तराईको तातो हावा, फराकिलो फाँट र फरक भाषा सुरुमा निकै अपरिचित लाग्थ्यो ।
पहाड भन्नेबित्तिकै दूरदराज, दुर्गम बस्ती, अशिक्षा, गरिबी, भोक र रोग व्याप्त ठाउँ बुझिन्छ। जे–जस्तो बुझाइ रहे पनि पहाड विकट भने निश्चित रूपमा छ नै । तराई समथर फाँट मात्र होइन, यहाँको सम्पूर्ण परिवेश नै मेरा लागि नयाँ थियो। जसोतसो नेपाली त बोल्थेँ, तर तराईमा बोलिने स्थानीय शब्द र थारू भाषाका कुरा बुझ्न मलाई निकै कठिन हुन्थ्यो। मेरो उच्चारण सुनेर साथीहरू कहिलेकाहीँ हाँस्थे पनि ।

क्याम्पसमा फरक–फरक भूगोल, संस्कृति र भाषाका साथीहरू थिए। जो जहाँबाट आए पनि उच्चशिक्षाको एउटै गोरेटोमा हामी सँगसँगै थियौँ। सबै एकअर्काका लागि अपरिचित नै थियौँ। क्रमशः चिनजान भयो, परिचय बढ्यो र साथित्व तथा सान्निध्यता पनि बढ्दै गयो। त्यही क्रममा मेरो एउटा असल साथी बन्यो—सुखराम ।
क्याम्पसमा बार्कु, बिहिपती, सोमरु अरू पनि थारू साथीहरू थिए। तर अरूभन्दा सुखरामसँग मेरो निकटता बढ्दै गयो। एकाएक हाम्रो मित्रता जोडिएको थियो । सुखरामसँगै एक दिन थारू बस्तीमा जाने मौका मिल्यो। उसको साइकलमा चढेर हामी गएका थियौँ। बाटोमा गफ गर्दै गएका थियौँ। उसको बोलीमा मिठास थियो, व्यवहारमा अपनत्व। उसले मेरो भाषा राम्ररी बुझ्थ्यो, तर म उसको भाषा बुझ्दिनथेँ। भाषा फरक भए पनि मित्रतालाई भाषाले छेक्दैनथ्यो । तराईमा थारूसँगै पहाडीहरूको पनि बसोबास थियो । थारू केटाकेटीहरू पहाडी भाषा राम्ररी बोल्थे, त्यस्तै त्यहाँ बस्ने पहाडीहरू सहजै थारू भाषा बोल्थे। तर मेरा लागि त्यो बिल्कुलै नयाँ अनुभव थियो ।

एकै ठाउँमा गुजुधुम्म मिलेका ठूला–ठूला घर र फराकिला आँगन। डोरीले बनेका खाट र पिर्कासहितको घरमा हामी पुग्यौँ। ठूला घर मात्र थिएनन्, मन पनि ठूलो थियो। फराकिलो आँगन मात्र थिएन, स्नेह र माया अझै चौडा थियो । परिवेश निकै फरक थियो। संस्कार फरक थियो। ‘साथित्वले वर्ग, क्षेत्र, वर्ण र जातभन्दा माथि लैजान्छ’ भन्थे—हो रहेछ भन्ने लाग्यो । सुखरामको घर पुगेर मैले एउटा अर्कै संसार देखेँ। घरको बनोटदेखि पहिरनसम्म, बोल्ने शैलीदेखि खानपिनसम्म सबै कुरा मेरो पहाडी संस्कारभन्दा फरक थियो। बिहानैदेखि घरका मानिसहरू कृषि कार्यमा व्यस्त हुन्थे। कोही खेततिर लाग्थे, कोही गाईवस्तु हेर्थे, कोही घरायसी काममा व्यस्त हुन्थे ।

ठूलो परिवार एउटै आँगनमा मिलेर बसेको देख्दा मलाई आफ्नै गाउँको सम्झना आउँथ्यो। तर मेरो परिवेश अलि फरक थियो। यति ठूलो परिवार एकैसाथ बसेको थिएन। उनीहरूको संस्कार र संस्कृति मेरोभन्दा पृथक थियो । सबैभन्दा मन परेको कुरा थियो—पाहुनाको सम्मान। म बाहिरको मान्छे थिएँ, तर सुखरामको परिवारले मलाई कहिल्यै बाहिरको ठानेन । त्यही बसाइमा सुखरामकी बहिनी चाँदसँग मेरो भेट भयो। ऊ हँसिली र चञ्चले स्वभावकी थिई। उसले मलाई हेर्दै सोधी, “पहाडबाट आएको हो ?

“हो । नयाँ–नयाँ मान्छे हो । त्यसैले हाम्रो भाषा बुझ्दैनौ है ?” सायद सुखरामले मेरो परिचय गराएको हुनुपर्छ ।
म हाँसेँ, “बुझ्न खोज्दैछु ।”
उसले पनि हाँस्दै भनी, “हामीलाई तपाईँहरूको भाषा राम्रोसँग आउँछ ।”
ऊसँग पनि मेरो सम्बन्ध बाक्लिँदै गयो। चाँदले भनी, “नदीतिर जाऔँ, माछा मार्न।”
मलाई पनि रमाइलो लाग्यो । चाँद र उसका केही गोहीहरूसँगै हामी नदीतिर लाग्यौँ ।
कसैको हातमा जाल थियो, कसैले फट्याल बोकेको थियो। नदीको पानीमा घाम टल्किरहेको थियो । हामीले जाल फाल्यौँ, पानीमा हात हाल्यौँ, ढुङ्गामुनि र छेउतिर कुर खोज्यौँ। केही बेरपछि जालमा माछा छटपटाउन थाले ।
“ल, आजका लागि पुग्छ!” चाँद बोलिरहेकी थिई ।
त्यही बेला मेरो नजर पानीछेउ शंखेकिराजस्ता देखिने, चुन्नीमा राखिएका केही चिजमा प¥यो।
“यी के हुन?”
चाँदले भनी, “घोगी !”
मैले हातमा उठाएर हेरेँ । “यो पनि खान्छौ?”
चाँद हाँसी । “किन नखाने? आज सबैले खानुपर्छ ।”
घोगीको थुप्रो नजिक पुगेर उसले भनी, “आज त राम्रै भोज हुने भयो।”
मैले सोधेँ, “घोगी खानुको के फाइदा छ र?”

चाँदले निकै गम्भीर भएर भनी, “हाम्रो गाउँमा यसको ठूलो महत्त्व छ। पानी र खोल्साको वरिपरि पाइने यो परिकार हाम्रो पुरानो खानाको हिस्सा हो । शरीरलाई बल दिन्छ भन्ने हाम्रो विश्वास छ। पहिलेका बूढापाकाहरूले गर्मी, वर्षा र रोगव्याधिको समयमा पनि यस्ता स्थानीय खानेकुरा खानुपर्छ भन्थे । मलेरिया, डेंगीजस्ता रोगबाट बच्न शरीर बलियो राख्नुपर्छ भन्ने कुरा उनीहरू सुनाउँथे ।” आज्ञाकारी भएर मैले उसका कुरा ध्यान दिएर सुनेँ । त्यो दिन मैले पहिलोपटक बुझेँ—खाना केवल पेट भर्ने वस्तु रहेनछ। त्यसमा इतिहास, भूगोल, संस्कृति र पुर्खाको अनुभव पनि मिसिएको हुँदोरहेछ । जसरी मेरा लागि नदीजन्य उत्पादनहरू नौला थिए, तिनीहरूलाई के थाहा सिस्नु, कोइरालो, तिमुला, तरुल र गिठाको स्वाद! हामीले वनैली खानेकुराको अभ्यास गरेजस्तै यिनीहरू नदीका उत्पादनको अभ्यास गर्दा रहेछन् । हरेक जलचरलाई खाद्य सामग्री बनाउँदा रहेछन् ।

चाँद र उसका साथीहरू—फुलमती, चमेली—मलाई जिस्क्याउँथे ।
“ए पहाडिया !”
“खसुवा !”
कहिलेकाहीँ अझै अनौठा, अलि अश्लीलजस्ता लाग्ने शब्द पनि भन्थे। थरुनी बठनियासँग एउटा पहाडी केटो हाँससँग बकुल्लाजस्तै बसेको थियो । म चुपचाप उनीहरूका अनुहार हेर्थें। उनीहरू हाँस्थे ।
फुलमतीले सोधी, “माखुर खाइटो ।”
म हेरेको हे¥यै भएँ। के हो माखुर? खाइटो भनेको के हो ?
मैले सोधेँ, “तिमीहरूले मलाई गाली गरेको हो?”

फुलमती र चाँद पेट मिची–मिची हाँसे । फुलमतीले कुरा बढाउँदै भनी, “तपाईँलाई के थाहा! हाम्रो भाषाका आधा शब्द गालीजस्तै लाग्छन् ।”
मैले पनि हाँस्दै भनेँ, “तिमीहरूको कुरा बुझ्न नेपाली शब्दकोशभन्दा ठूलो थारू शब्दकोश बनाउनुपर्ला जस्तो छ ।”
चाँदले टाढैबाट भनी, “भाषा सिक्न कान खोलेर सुन्नुपर्छ, किताब खोलेर मात्र होइन ।” हाम्रो नदीतिरको माछा मार्ने यात्रा सकियो। त्यसले सान्निध्यमा नयाँ आयाम थप्यो। माछा, घोगी र गँगटाहरू बोकेर हामी घर फर्कियौँ ।
चाँदले माछा सफा गरी। घोगी पनि राम्ररी धोई। मसला, खुर्सानी, नुन र स्थानीय स्वादका सामग्री मिलाएर परिकार बनाउन थाली। आगोको भुङ्ग्रोमा गँगटा राखी। भान्साबाट आएको सुगन्धले मेरो भोक बढाइरहेको थियो ।

गँगटा आगोबाट निकालेर खान दिई। गँगटा देखेको थिएँ, तर स्वाद पहिलोपटक चाख्दै थिएँ। थारू बस्तीको बसाइ र अनुभव बिल्कुलै नयाँ थियो । माछाको एउटा परिकार तयार भयो। अर्को भाँडामा घोगी पाक्यो । चाँदले एउटा घोगी हातमा लिएर भनी, “यसरी खाने ।”
उसले सजिलै घोगी निली। मलाई पनि खान सिकाई र खान भनी । मैले घोगी मुखमा राखेँ। चाँदले सिकाएझैँ निल्न खोजेँ । तर मेरो घाँटीले मान्दै मानेन । घोगी निल्न सकिएन। अचानक घोगी घाँटीमै अड्कियो। म आत्तिएँ ।

“अँ… अँ…!”
चाँद पनि झस्किई। ऊ तुरुन्तै उठी।
“पानी !”
पानी दिइयो । तर सहज भएन । त्यसपछि उसले मेरो घाँटी वरिपरि समातेर सावधानीपूर्वक सहयोग गरी। गर्धनमा चाँदले थपथपाई। केही क्षणपछि अड्किएको घोगी निस्कियो। मैले लामो सास फेरेँ ।
सबैको अनुहारमा चिन्ता थियो । केही बेरपछि चाँद हाँस्न थाली ।
“पहाडबाट आएको मान्छेले तराईको घोगीसँग पहिलो दिनमै युद्ध हा¥यो !”
म पनि हाँसेँ। फुलमतीले भने गम्भीर हुँदै भनी, “खाना रमाइलो हो, तर खाने तरिका पनि जान्नुपर्छ ।”
त्यो दिनदेखि घोगी देख्दा मलाई स्वादभन्दा पहिले त्यो अड्किएको क्षण सम्झना हुन थाल्यो ।

त्यही बसाइमा मैले पहिलोपटक स्थानीय मिजडीको स्वाद पनि चाखेँ। मगर बस्तीमा बसेर तीनपानेको स्वाद लिएको थिएँ। तीजको बेला विद्यालयका साथीहरूसँगै तीज हेर्न पुगेको थिएँ । त्यहाँ तीनपानेको स्वाद र त्यसको प्रभाव बुझेको थिएँ । आज चाँदका साथीहरूसँग थारू संस्कृतिसँग जोडिएको थिएँ । सुखराम क्याम्पसको मात्र साथी रह्यो, त्यहाँ चाँद र फुलमती पनि साथी भए। एक दिनको बसाइले स्नेह र आत्मीयता बढेर गयो । स्नेहमय बसाइमा परिकारको स्वाद र प्रभाव भित्रसम्म पुग्यो। मैले थोरै चाखेँ। स्वाद मेरा लागि बिल्कुलै नयाँ थियो ।

चाँदले हाँस्दै भनी, “आज तिमी साँच्चिकै हाम्रो मान्छे भयौ ।” त्यो रात माछा, घोगी, मिजडी, हाँसो र स्थानीय गीतसँगै बित्यो। चाँद, फुलमती मात्र होइन, पुरै परिवार झुमेको थियो। ‘जाँड खाएको थारू’ भन्ने सुनेको थिएँ, त्यहाँ देखेँ ।
क्याम्पसका दिनहरू बित्दै गए ।
वर्षौँपछि एक दिन सहरमा अचानक चाँद भेटिइ । ऊसँग एउटी साथी थिई—बिन्दु। मेरो अनुरोधमा हामी खाजा खान बस्यौँ ।
कुराकानी गर्दागर्दै चाँदले मलाई हेरेर भनी, “तपाईँलाई केही सम्झना छ ?”
“के ?”
चाँदले मुस्कुराउँदै भनी, “घोगी !”
म एकछिन चुप भएँ। अनि हामी हाँस्यौँ ।
बिन्दुले अचम्म मान्दै सोधी, “घोगीको के कथा हो?”
चाँदले मेरो घाँटीतिर हेर्दै भनी, “हाम्रो घर गएको बेला उहाँलाई घोगीले एकपटक घाँटीमा अड्किएर समस्या पारेको थियो !”
मैले हाँस्दै भनेँ, “मलाई तराईको संस्कृतिमा दीक्षित गर्न खोजेको थियो, केही गाह्रो भएको हो ।”
बिन्दु पनि हाँसी । त्यसपछि धेरै बेर हामी पुराना दिन सम्झिरह्यौँ।
सुखरामले क्याम्पस छोडे । चाँदसँग पनि भेटघाट दुर्लभ हुँदै गयो । कहिलेकाहीँ संयोगले भेट हुन्थ्यो। स्नेह, स्मरण र आत्मीयता भने साथमा थियो ।
केही समयपछि फेरि एउटा मेलामा चाँदसँग भेट भयो । मेलामा मानिसहरूको भीड थियो । गीत, नाच, परम्परागत पहिरन र स्थानीय परिकारले वातावरण उत्सवमय बनेको थियो। चाँद पनि त्यहीँ थिई ।
मलाई देख्नेबित्तिकै उसले भनी, “घोगीको सम्झना छ ?”
मैले भनेँ, “घोगी कसरी बिर्सन सक्छु र !”
ऊ हाँसी । “माघ १ गते हाम्रोतिर ठूलो उत्सव हुन्छ । आउनू है । यसपालि राम्रोसँग घोगी खुवाउँछु ।”
मैले आउने वाचा गरेँ। तर परिस्थितिले साथ दिएन। माघ १ गते म जान सकिनँ ।
केही दिनपछि मेरो संघारीको हातमा एउटा पोको आयो। सुखरामले भन्यो, “तिम्रो लागि पठाएको छ ।”
खोलेर हेरेँ। भित्र माछाको परिकार थियो। अर्को भाँडामा घोगी ।

म केहीबेर ती परिकारतिर हेरिरहेँ। मलाई त्यो भाँडाभित्र केवल ढिक्री, माछा र घोगी थिएन। एउटा संस्कृति थियो, गहिरो स्नेह र ममता थियो। पहाडबाट तराई झरेको त्यो अपरिचित केटाप्रतिको फरक संस्कृतिको, फरक परिवेशको अनि त्यसैमा युवतीले दर्शाएको स्नेहको गहिरो अनुभूति थियो। भाषा नै नबुझ्ने साथीसँग भावनात्मक स्नेहले संवाद गराएको थियो ।

परिश्रमको उदाहरण थारू बस्तीमा थियो। खेतमा पसिना बगाइरहेका हातहरू थिए। प्रकृतिको अनुपम उपहारसँगै श्रमको पसिनाका दानाबाट समृद्धि पनि थियो। हलो, कुटो, कोदालोसँगै जाल र फट्याल थिए । पारिवारिक एकता र सद्भाव प्रगाढ थियो । स्नेह, माया, ममतासँगै चाँदको हाँसो थियो। खुला आत्मीयता थियो। मिजडीको पहिलो स्वाद थियो। घाँटीमा अड्किएको त्यो पहिलो घोगी पनि थियो ।

मैले घोगीको एउटा टुक्रा हातमा लिएँ। प्रेममय उपहारले स्नेहमय भावलाई अझ प्रगाढ बनायो। मान्छेको जीवनमा केही भेटघाटहरू क्षणिक हुन्छन्, तर तिनले छोडेको प्रभाव जीवनभर रहिरहन्छ । घोगी मेरो लागि अब केवल नदीको जीव वा एउटा परिकार मात्र रहेन। त्यो त पहाड र तराई जोड्ने एउटा कडी थियो। त्यो उपहारभित्र चाँद थिई, बिन्दु थिई, फुलमती र मेरा थारू गोही तथा संघारीहरू थिए। अनि थियो—मेरो युवावस्थाको एउटा सुन्दर अध्याय ।
मैले संघारीतिर हेरेर भनेँ, “यो घोगी जोगाएर राख्न सकिएला?”
संघारीले अचम्म मान्दै सोध्यो, “किन?”
मैले मुस्कुराउँदै भनेँ, “यसमा मेरो अथाह संसार छ।”
उपहारस्वरूप पठाएको त्यो घोगी मैले फेरि खाएँ । यसपटक भने घाँटीमा अड्किएन ।
धेरै समयपछि चाँदको विवाहको निम्तो आयो । चण्डोल–डोलीमा दुलहा–दुलहीलाई बसाइएको थियो । बधाई दिन गएका सबैले भेटी तथा उपहार दिइरहेका थिए। मैले पनि भेटी दिएँ र चाँदलाई बधाई दिएँ । सफल दाम्पत्य जीवनको शुभकामना भनेँ ।
“आज त घोगीको परिकार छैन,” उसले जिस्क्याउँदै भनी ।
मुस्कुराउँदै बधाई दिँदै बिदा भएँ ।


परशुराम–१२, डडेल्धुरा