• २०८३ भाद्र २६, शुक्रबार

‘छन्द–तरङ्ग’का दुई पुरस्कार निर्मोही व्यास र सिर्जना अर्याललाई

काठमाडौँ ।

नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियान सञ्चालन गर्दै आएको ‘छन्द–तरङ्ग’ले यस वर्षको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ कवि निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने) र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ युवाकवि सिर्जना अर्याललाई प्रदान गर्ने घोषणा गरेको छ । छन्दकविताका दुई पुस्ताका स्रष्टालाई जोड्ने तथा नयाँ पुस्तालाई छन्दकविता सिर्जनाका लागि उत्प्रेरित गर्ने उद्देश्यले हरेक वर्ष प्रदान गरिँदै आएको पुरस्कारअन्तर्गत २०८३ सालको विशिष्ट पुरस्कार व्यास र युवा प्रतिभा पुरस्कार अर्याललाई प्रदान गर्न लागिएको ‘छन्द–तरङ्ग’ले विज्ञप्तिमार्फत जनाएको हो ।

कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको सञ्चालनमा रहेको ‘छन्द–तरङ्ग’ले २०७६ सालदेखि हरेक वर्ष एक जना विशिष्ट छन्दसाधकलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ प्रदान गर्दै आएको छ। त्यस्तै २०७९ सालदेखि ४० वर्षभित्रका एक जना युवाकविलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गरिँदै आएको छ । वि.सं. २००९ भदौ ४ गते कलैया नगरपालिका–२, भवानीपुर, बारामा जन्मिएका कवि निर्मोही व्यासले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता सिर्जना, अनुसन्धान तथा साहित्यिक क्षेत्रमा योगदान दिँदै आएका छन् । उनले सन् १९७० मा भारतको हरिद्वारबाट प्रकाशित ‘सगरमाथा’ पत्रिकामा ‘सम्झना’ शीर्षकको यात्रानिबन्ध प्रकाशित गर्दै साहित्यिक यात्रा सुरु गरेका थिए ।

व्यासका ‘बेहुली अन्माएको घर’ (२०३३), ‘सरिता’ (२०३६), ‘बोधिवृक्षको छायामा’ (२०६९), ‘बग्दैबग्दै’ (२०७४), ‘तस्वीर तिम्रै’ (२०७५), ‘एकान्त’ (२०८२) र ‘जिजीविषा’ (२०८२) लगायत काव्यकृति प्रकाशित छन्। यसबाहेक उनका नियात्रा, संस्मरण, समालोचना, निबन्ध, कथा र उपन्यासलगायत विभिन्न विधाका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापकसमेत रहेका व्यासले समाज, युग र जीवनचेतनालाई आधार बनाएर छन्दकविता सिर्जना तथा अनुसन्धानमा पु¥याएको योगदानका साथै नियात्रा लेखनमा स्थापित गरेको विशिष्ट उपस्थितिका लागि उनलाई पुरस्कार प्रदान गर्न लागिएको ‘छन्द–तरङ्ग’ले जनाएको छ । यसैगरी वि.सं. २०४३ असार २१ गते सिद्धलेक–१, धादिङमा जन्मिएकी युवाकवि सिर्जना अर्याल २०६० को दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन्। छन्दकविता, गीत, गजल तथा मुक्तकमा सक्रिय उनका ‘सुनको पिँजडा’ (२०७६) र ‘बोध अन्तर्बोध’ (२०८०) गरी दुई कवितासङ्ग्रह प्रकाशित छन् ।

अर्यालले छन्दकविता, गीत तथा बहरबद्ध गजलको स्वराङ्कन र छायाङ्कनमार्फत नेपाली छन्दकविताको प्रवद्र्धनमा समेत योगदान दिँदै आएकी छन्। उनको ‘मुर्दाघर’ नाटक २०८१ मा प्रकाशित भएको छ। छन्दकविता सिर्जना तथा नाट्य क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गर्न लागिएको हो । ‘विशिष्ट छन्दसाधना पुरस्कार’को राशि प्रमाणपत्रसहित ४० हजार रुपैयाँ र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को राशि प्रमाणपत्रसहित २० हजार रुपैयाँ रहेको छ । यसअघि विशिष्ट छन्दसाधना पुरस्कारबाट रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल, गोविन्दराज विनोदी र डा. नवराज लम्साल पुरस्कृत भइसकेका छन्। युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल, रूपक अलङ्कार र पुरुषोत्तम आचार्य सम्मानित भइसकेका छन् ।

पुरस्कार केही समयपछि उपयुक्त मिति तय गरी विशेष समारोह आयोजना गरेर प्रदान गरिने ‘छन्द–तरङ्ग’ले जनाएको छ । यसैबीच ‘छन्द–तरङ्ग’को मासिक कार्यक्रम २०७५ भदौ २२ गतेदेखि काठमाडौँको वानेश्वर थापागाउँस्थित लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रबार सञ्चालन हुँदै आएको थियो। फरक–फरक पुस्ताका तीन कविका पाँच–पाँच कविता प्रस्तुत गर्ने गरी सञ्चालन गरिएको कार्यक्रम १९औँ शृङ्खलासम्म पुगेपछि कोभिड–१९ महामारीका कारण २०७६ चैतदेखि स्थगित भएको हो । कार्यक्रम स्थगित भए पनि छन्दसाधना पुरस्कार भने निरन्तर प्रदान हुँदै आएको छ ।