• २०८३ भाद्र २४, बुधबार

तीर्थश्राद्ध: गया, बनारस, ब्रह्मकपाली र कागबेनी

ईश्वर पोखरेल

ईश्वर पोखरेल

१९ बैसाख, २०८३ का दिन हामी मुस्ताङ् जिल्लाको कागबेनीको होटल कर्णालीमा थियौंं । कागबेनीमा मैले पितृको तीर्थश्राद्ध गर्नु छ । त्यसैले हामी हिजै रानीपौवाबाट कागबेनीमा ओर्लेका हौं । वि.सं. २०७९ सालमा पिता गोविन्दप्रसाद पोखरेलको निधन भएपछि म पितृश्राद्ध गर्ने भूमिकामा आएको हुँ । यसअघि हामीले काठमाण्डौको गोकर्णमा गरेका थियौं- तीर्थश्राद्ध । अब आज यहाँ मैले गर्नु छ ।

केही वर्षअघि म बा, आमा र काकाबासंग लागेर भारतीय भूमिमा तीर्थयात्रामा निस्किन पाएको थिएँ । यस तीर्थयात्राको केन्द्रीय उद्देश्य पितृको तीर्थश्राद्ध नै थियो । तीर्थश्राद्धको प्रारम्भ पुनपुनबाट भएको थियो । १० भाद्र २०८३ को भोटेकोशी र त्रिशुली नदीमा आएको अकल्पनीय बाढी र त्यसले धनजनमा पु¥याएको अत्यासलाग्दो क्षतिलाई विश्व सञ्चारमाध्यममा मुख्य विषयको रूपमा रह्यो । बिबिसी विश्व सेवामा पनि यो चर्चाको शिखरमा रह्यो । नेपालका नदीहरूमा आउने बाढीले भारतको विशेषतः बिहार राज्यको ठूलो क्षेत्र डुबानमा पर्ने सम्भावना हुन्छ । बिबिसी हिन्दी सेवाको सन्ध्याकालीन प्रशारण ‘दिन-भर’मा १८ भाद्रमा बिबिसीकी सम्वाददाताले बिहारका केही ठूला नदीहरूको चर्चा गर्दा पुनपुनको नाम पनि उच्चारण गरेकी थिइन ।)

हिन्दू धर्ममा पिण्डदान र तीर्थश्राद्धका लागि अत्यन्तै पवित्र मानिने पुनपुन नदी र यसको घाट भारतको बिहार राज्यको पटना जिल्लामा रहेछ । यसलाई ’आदि गङ्गा’ पनि भनिदों रहेछ । गरुड पुराणमा गयामा श्राद्ध गर्नुअघि पुनपुन नदीको तटमा पहिलो पिण्डदान गर्नु पर्छ भनिएको छ रे । हामीले पटनाबाट बसमा पुनपुनको बाटो पक्रेका थियौं । बाआमाले पितृश्राद्ध गर्ने पुनपुन नदी हेर्दा मामुली खोल्सो जस्तो थियो । फोहोर पनि उत्तिक्कै । मुखमा थियो- सानो ग्रामीण बजार । यही बजारमा श्राद्धसामग्री जुटाएर बा आमाले पितृश्राद्ध गर्नु भएको थियो । (बिबिसीको उक्त प्रसारणमा पुनपुन नदीलाई बिहारका मुख्य नदीमा सामेल गरेको सुनेपछि पुनपुन हामीले चिनेकोभन्दा फरक नदी रहेछ क्यारे भन्ने मलाई लाग्यो ।)

साँझमा हामी गया पुग्यौं । भोलिबिहान गयामा पनि पितृश्राद्ध गर्नु थियो । हामी सागरकिनारामा सखारै पुगेका थियौं । पण्डाहरूले घेरी हाले । बा र काकाबाले ढाकाटोपी लगाउनु भएको थियो; नेपाली पहिचान खुल्ने नै भयो । अनि आयो— भाइभतिजासहित नेपाली पण्डा । नेपाली पण्डा र अन्य पण्डाका बीचमा झन्डै हात हालाहालको स्थिति बन्यो । अन्ततः नेपाली पण्डाकै जीत भयो ।

यहाँ पण्डाले संकल्पका बेला बार्गेनिङ र मानसिक दबाब दिने रहेछन् । खासमा ’संकल्प’ को चरणमा पण्डाबाट तीर्थयात्रीको आर्थिक अवस्था बुझ्ने प्रयास हुने रहेछ । तीर्थयात्रीले सोचेबमोजिम रकम दिन नसक्ने बताएमा, “पितृहरूले मुक्ति पाउँदैनन्”, “पितृको आत्मा भोकै फर्किन्छ र सराप दिन्छ” पनि भन्दारहेछन् । श्राद्धको विधि बीचतिर पुगेपछि वा पिण्ड सेलाउने चरणमा पुगेपछि पण्डाले “यो कुलको पूजा बाँकी छ” वा “यो देवीदेवतालाई छुट्टै चढाउनुपर्छ” भनेर थप मोटो रकम वा सुनचाँदीको माग गर्ने । माग पूरा नगरेसम्म श्राद्धको बाँकी विधि अगाडि बढाउन अस्वीकार पनि गर्ने । पिण्डदान सकिएपछि ’सुफल’ (आशीर्वाद) दिने बेलामा पण्डाले गाई, ओछ्यान, लुगाफाटा आदिको नाममा ठूलो रकमको माग गर्ने । यसबाहेक, श्राद्धका लागि आवश्यक जौ, तिल, चामल जस्ता सामान्य सामग्रीका लागि बजार मूल्य भन्दा कयौँ गुणा बढी शुल्क असुल्न खोज्ने ।

दक्षिणाको सवालमा लफडै पर्छ जस्तो भयो । यहाँ पनि गुन्डागर्दी मात्र होइन; राज्यको उपस्थिति पनि होला भन्ठानेर हामी पण्डाको मनोमानीको विरुद्धमा हुन्छौं; बाले भन्नु भो- ‘यो सधै झेल्नु पर्ने परिघटना होइन; यिनीहरूको मुख बुजो लगाएर बाटो लाग्नु नै बुद्धिमानी हुन्छ ।’ बा, काकाबाले जे भन्ठान्नु हुन्छ; त्यही कार्यान्वयन हुन्छ; तर मन भित्रैबाट अमिलो भएको छ ।

दिउँसो हामी टाँगामा बोधगया गयौं । बोधगया र गयाका बीचको दूरी १२- १३ किलोमिटर होला ।
बोधगया धार्मिक दृष्टिले अत्यन्तै पवित्र र पर्यटकीय दृष्टिले मनमोहक स्थल रहेछ । पढिएकै थियो ः गौतम बुद्धले बोधगयामा रहेको बोधि वृक्षमुनि ज्ञान (बुद्धत्व) प्राप्त गर्नुभएको । सन् २००२ मा युनेस्कोले महाबोधि मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको रहेछ । यहाँको मुख्य आकर्षण नै सातौं शताब्दीमा निर्मित प्राचीन भारतीय इट्टा वास्तुकलाको उत्कृष्ट नमुना महाबोधि मन्दिर हो । मन्दिरको ठीक पछाडि पवित्र पीपलको रूख रहेछ; यसकै मुनि बसेर सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभएको रे । बोधि वृक्षको मुनि बज्रासन (ढुङ्गाको आसन) पनि थियो । बुद्धले ज्ञान प्राप्त गरिसकेपछि कृतज्ञता प्रकट गर्दै बोधि वृक्षलाई एकनासले हेरेको ठाउँ र हिँडेर ध्यान गरेको मार्ग पनि यहीँ रहेछ । अनि जापानको दाइजोक्यो सम्प्रदायद्वारा निर्मित भगवान बुद्धको ८० फिट अग्लो बुद्धको आकर्षक मूर्ति पनि यहीँ रहेछ । बोधगया विश्वभरका बौद्ध देशहरूले आफ्नो परम्परागत शैलीमा निर्माण गरिदिएका कलात्मक गुम्बा तथा मन्दिरहरूले सजिएको स्थल रहेछ । सडक पनि उत्तिकै सफा । अग्लो पिपलको रुखमुनि पद्माशनमा ध्यानस्थ- बौद्धमार्गीहरू ।
कति शान्त र सुरम्य बोधगया!
यहीँ बसी रहुँ जस्तो !!

बिहान गयामा तीर्थश्राद्धका क्रममा चड्केको टाउको बोधगयामा शान्त भयो ।

बास बस्न हामी बनारस पुग्यौं ।

आफ्नो विद्यार्थी कालको केही समय बाले बनारसमा बिताउनु भएको थियो । उसो त हजुरबाकी बहिनी (हाम्री हजुरदिदी) यहाँ कासीबास बस्नु भएको थियो । उहाँ जीवित रहदै बाको काँधमा चढेर म पनि आएको थिएँ— बनारस । केही दिन उहाँको स्नेहमा बिताउन पाएको घुर्मैलो सम्झना मेरो स्मृतिमा पनि छ । बाको स्मृतिमा यहाँका धेरै गल्ली छन्; घाटहरू छन्; मठमन्दिरहरू छन् । हामी केही बेलुकै घुम्छौं र केही भोलिका लागि थाति राख्छौं ।

भोलिपल्ट यहाँ पनि तीर्थश्राद्ध गर्नु पर्छ । यहाँ पनि पण्डा हामी जस्तै जजमानको खोजीमा हुन्छ । बा भन्नुहुन्छ- ‘तँ घाटतिर घुम । बजार गए पनि हुन्छ । तँलाई यहाँ गाह्रो हुन सक्छ ।’ म कतै जान सकिनँ; त्यहीँ बसें । यहाँ पनि पण्डाको पारा उस्तै उस्तै छ; तर ठ्याक्कै उस्तै भने छैन । गयाको कठिन चपेटाबाट आएकाले होला; म यहाँ केही खुकुलो अनुभव गर्छु ।

दिउँसो हामी हरिद्धारका लागि प्रस्थान गर्छौं ।

बा काकाबाले जमुनोत्रीमा तीर्थश्राद्ध गर्नु भो; गंगोत्रीमा पनि गर्नु भो । आमा अस्वस्थ्य भएकाले हामी गौरीकुण्डसम्म गयौं; केदारनाथ जान सकेनौं । जो जे गर्नु पर्ने थियो; गौरीकुण्डमै गर्नुभयो— बा काकाबाले । अनि हामी बद्रीनाथ गयौं ।

ब्रह्मकपाली वा ब्रह्मकपाललाई ‘मोक्ष स्थल’ पनि भनिदोंरहेछ । यो स्थल बद्रीनाथ मन्दिरबाट करिब १०० देखि २०० मिटरको दूरीमा अलकनन्दा नदीको किनारमा पर्ने रहेछ । यो एउटा समतल चट्टानी घाट हो। सनातन हिन्दू धर्ममा ब्रह्मकपालीलाई पितृहरूको मोक्ष प्राप्तिका लागि सबैभन्दा उत्तम र अन्तिम तीर्थस्थल (महातीर्थ) मानिन्छ रे । ब्रह्माजी आफै यहाँ अदृश्य रूपमा निवास गर्ने हुनाले यहाँ गरिने तर्पण सोझै भगवान र पितृहरूसम्म पुग्छ भन्ने मान्यता रहेछ ।

जमुनोत्री, गंगोत्री र बद्रीनाथमा श्राद्ध गर्दाका पुरोहितहरू अत्यन्त सज्जन । गया र बनारसका पण्डासंग तुलना हुनै नसक्ने स्तरका असल । ब्रह्मकपालीमा तीर्थश्राद्ध गर्ने पुरोहितले भनेका थिए—‘अब तपाईहरूले पितृश्राद्ध गर्नु पर्दैन । घरमा पनि पितृश्राद्ध नगर्नोस् ।’

तर बा, काकाबाले फर्केपछि घरमा पूर्ववत् पितृश्राद्ध गरी नै रहनु भयो ।

अघिल्ला तीर्थश्राद्धहरूमा कर्ताको भूमिकामा बा र काकाबा हुनुहुन्थ्यो, म सहयोगी÷रमितेको भूमिकामा मात्र थिएँ। कागबेनीको तीर्थश्राद्धमा भने म आफै कर्ताको भूमिकामा रहनु पर्ने भयो । त्यसैले यसलाई कसरी सहज र विधिपूर्वक सम्पन्न गर्ने भन्ने कुरामा मेरो मुख्य चासो थियो ।

‘कागबेनीमा तीर्थश्राद्ध गर्नुपर्ने भए हामीले चिनेका पुरोहित छन्’ भनेर बेनीमै एक शुभचिन्तकले एउटा फोन नम्बर दिनुभएको थियो। मैले दिउँसै त्यो नम्बरमा सम्पर्क गरेर आधारभूत जानकारी लिएँ ।

कागबेनीमा श्राद्ध सामग्रीका पसलहरू कति कति ! हाम्रै होटलवाला लामा दाइको पनि श्राद्ध सामग्रीकै पसल रहेछ । बिहानै उठेर हामी फ्रेस हुने र स्नान गर्ने हतारोमा लाग्यौं। धारामा तातो पानी आएन। कागबेनीको चिसोमा नुहाउन लाग्दा तातो पानी छैन । क्या फसाद !

बुझ्दा के रहेछ भने, होटलका सबै कोठा टनाटन भरिएका थिए, सबैजना श्राद्ध गराउन आएका रहेछन्। उनीहरू हामीभन्दा फुर्तिला भएछन् र तातो पानी सकिएछ। हामीले होटलवाली भाउजूलाई गुहार्यौं । उहाँले पानी तताइदिनुभयो। बल्ल नुहाइयो ।

पाँच बज्दा नबज्दै पुरोहितजीको फोन आइहाल्यो । हामी श्राद्ध सामग्रीको जोरजाममा लाग्यौं। हामीसँग नभएका सामग्री किन्नु पनि थियो– पिण्ड बनाउन जौको पीठो चाहिने रहेछ, गाईको दूध पनि चाहिने नै भयो। फूलपाती, दुना–टपरी आदि इत्यादि त्यहीँ किन्न पाइने रहेछ । तीर्थश्राद्धमा कर्ता हुनुको लाभ के भने, श्राद्ध सामग्री र श्राद्ध विधिसँग निकट भएर साक्षात्कार हुन पाइने ।

हाम्रा लागि खटाइएका मान्छे होटल नजिकै आइपुगेका रहेछन् । हामीले उनलाई पछ्यायौं । उनलाई पछ्याउँदै हामी कालीगण्डकीको किनारतिर लाग्यौं। कागबेनीको बिहान निकै चिसो! कालीगण्डकीको सुसाहट र माथिबाट बगेर आएको चिसो बतासले हातका औँला कठ्याङ्ग्रिने ! कागखोला र कालीगण्डकीको संगम ः यही नै मुख्य तीर्थ हो । कागबेनीमा गरेको पिण्डदान सिधै बैकुण्ठमा पुग्छ भन्ने कथन रहेछ ।

घाटमा पुग्दा दृश्य अर्कै थियो । सयौं कर्ताहरू आ–आफ्ना पुरोहितसँग लहरै बसेका। कसैले जौको पीठो मुछ्दै, कसैले पिण्ड बनाउँदै । घाटभरि धूपको बासना, मन्त्रको गुन्जन र कालीगण्डकीको गडगडाहट एकैसाथ । हाम्रो पुरोहितका हामी सातजना जजमान । सर्वप्रथम सबैलाई आआफ्नो गोत्रको बारेमा सजग गराइयो । त्यसपछि पुरोहितले माइक पक्रिए र संकल्प गराए । हातमा कुश, जल, जौ र तिल लिएर आफ्नो गोत्र, पितृहरूको नाम उच्चारण गर्दै हामीले ‘आज कागबेनी तीर्थमा आएर श्राद्ध गर्दैछु’ भनेर संकल्प ग¥यौं । त्यसपछि पनि सबै विधिका मन्त्र/पाठ पुरोहितले माइकबाटै गरे; उनले संकेत गरेअनुसार हामीले स्नान र तर्पण दियौं । कालीगण्डकीको हिउँजस्तो चिसो पानीले तर्पण गर्दा शरीर सिरिङ्ग हुने ।

त्यसपछि मुख्य कर्म– पिण्डदानको प्रक्रिया प्रारम्भ भयो । दुना–टपरीमा जौको पीठो, तिल, घ्यू, मह, दूध मिसाएर तीन÷पाँच÷सात पिण्ड बनाइयो। अनि हरेक पिण्डमा हाम्रा दिवंगत पितृहरूको आह्वान गरियो। अन्त्यमा कालीगण्डकीमा पिण्ड विसर्जन, ब्राह्मण भोजनको संकल्प र दक्षिणा । पुरोहितले भने, ‘तीर्थश्राद्ध भनेको औंला समातेर बाटो देखाइदिने कर्म हो, पितृहरूलाई मुक्तिको बाटो ।’

लौ; कागबेनीको तीर्थश्राद्धमा त न मोलमोलाई; न ‘यति राख् उति राख्’को किचकिच; न श्राद्धकर्म छाडेर बीचैमा हिडिदिने धम्की; न पितृलाई अलपत्र पारिदिने त्रास; न दक्षिणा यति दिनै पर्छ भन्ने दाबी । यहाँ पुरोहितले माइकमा मन्त्र पढेर धेरैजनाको एकै झमटमा ‘थोकमा पितृश्राद्ध’ गरिदिने रहेछन् । भाइ टिकाराम पोखरेल परिवारसहित तीर्थयात्रामा निस्केका छन् । हिजो वा आज ऊ गया वा बनारसमा पितृका नाममा तीर्थ श्राद्ध गर्दै होलान् । कागबेनीमा यति सहज रूपमा तीर्थश्राद्ध सम्पन्न भयो; उनलाई भने पण्डाहरूले हाबाकाबा पार्दै होलान् ।

घाटबाट फर्कँदा घाम लागिसकेको थियो । कागबेनीको रातो डाँडा र सेता गुम्बाहरू उज्याला देखिएका थिए । रमिते हुँदा नदेखिएका धेरै कुरा कर्ता हुँदा देखिँदा रहेछन् । बा र काकाबा कर्ता बस्दा किन गम्भीर देखिनुहुन्थ्यो भन्ने कुरा मैले त्यस दिन आफू कर्ता भएपछि बुझेंं ।

‘तीर्थ श्राद्ध तीर्थमा आफ्नो ‘जरा’ सम्झने एउटा मौन संवाद पनि रहेछ’ भन्ने पनि बुझियो ।


(लेखकका बारेमा: कविता, निबन्ध÷संस्मरण र कथा÷लघुकथा जस्ता विधामा कलम चलाउने पोखरेल कोटगाउँ, तीनपाटन; सिन्धुलीमा १९ असारमा जन्मिएका हुन् । यी सामाजिक घटनाको समाजशास्त्रीय विश्लेषण रुचि राख्छन् र पाठ्यक्रममा आधारित भई विविध तहको पाठ्यपुस्तक लेखनमा लामो समयदेखि संलग्न छन् । यिनको हालको ठेगाना महालक्ष्मी- ३, बोझेपोखरी, ललितपुर हो ।)