• २०८३ भाद्र २३, मंगलवार

रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ सार्वजनिक

काठमाडौँ ।

स्रष्टा रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ । मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित काठमाडौँ र ललितपुरको सीमानामा अवस्थित बागमती र विष्णुमतीको सङ्गममा आयोजित कार्यक्रममा आख्यानकार अमर न्यौपानेले उक्त कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रम सुरु हुनुअघि सहभागीहरूले भोटेकोसी महाविपत्तिमा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्गमस्थलमा दीप प्रज्ज्वलन तथा मौनधारण गरेका थिए। कृष्णजन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको यस कृतिमा कृष्णजन्मस्थल मथुरालगायत नेपाल र भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको ११ दिने यात्रावृत्तान्त प्रस्तुत गरिएको छ ।

कृति सार्वजनिक गर्दै आख्यानकार न्यौपानेले भ्रमण गरिएका स्थलसँग जोडिएका इतिहास, संस्कृति, विश्वास, जीवनशैली र यात्रानुभूतिलाई तिमसेनाले ‘सङ्गम’को व्यापक अर्थसँग जोडेकाले यो केवल यात्रावृत्तान्तका रूपमा मात्र नआई फराकिलो दृष्टिकोणसहित आएको बताएका छन् । १६४ पृष्ठ रहेको उक्त कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको प्रकाशन गृहले जनाएको छ ।