• २०८३ भाद्र १७, बुधबार

साहित्यकार ‘गाउँले’को भक्तिमाला विमोचन

काठमाडौं ।

धार्मिक सद्भाव, भाइचारा र एकताको सन्देश बोकेको भजनसंग्रह ‘भक्तिमाला’ काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । साहित्यकार तथा लेखक भक्तराज रञ्जित ‘गाउँले’को सभापतित्वमा सम्पन्न कार्यक्रममा हिन्दू, जैन, बौद्ध, बहाई, मुस्लिम र सिख धर्मका धर्मगुरु तथा प्रतिनिधिहरूले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको थियो । कार्यक्रममा महिला हिंसाविरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल नेपाल (निरन) तथा बहाईहरूको राष्ट्रिय आध्यात्मिक सभाका प्रतिनिधिहरूको सहभागिता थियो।

‘भक्तिमाला’ साहित्यकार ‘गाउँले’को दोस्रो कृति हो । १ सय ५२ पृष्ठको उक्त भजनसंग्रहमा सर्वव्यापी, सर्वज्ञ, निराकार तथा एक ईश्वरको अवधारणामा आधारित निर्गुण भजनहरू समेटिएका छन् । समाजमा आपसी सहिष्णुता, धार्मिक सद्भाव तथा विश्वशान्तिको भावना प्रवद्र्धन गर्ने उद्देश्यले भजनहरू रचना गरिएको लेखकले बताएका छन् । विशेषगरी कक्षा १ देखि ३ सम्मका विद्यार्थी तथा किशोर–किशोरीलाई लक्षित गरी भजनहरू तयार पारिएको जनाइएको छ । विमोचन कार्यक्रममा संग्रहमा समावेश दुई भजन गायक परमेश्वर नारायण जोशीले तबलावादक ओमकृष्ण श्रेष्ठको साथमा प्रस्तुत गरेका थिए ।

कृति प्रकाशनका लागि साहित्यपोस्टले प्राविधिक सहयोग उपलब्ध गराएको छ । डिजिटल संरक्षणलाई समेत ध्यानमा राख्दै ‘भक्तिमाला’लाई साहित्यपोस्टको क्लाउड प्लेटफर्ममा आगामी ९५ वर्षसम्म सुरक्षित रहने व्यवस्था मिलाइएको जनाइएको छ । साहित्यपोस्टका सदस्यहरूले संसारको जुनसुकै स्थानबाट पनि उक्त कृति पढ्न सक्ने व्यवस्था गरिएको छ । धर्म, संस्कृति र मानवीय एकताको साझा भावलाई केन्द्रमा राखिएको ‘भक्तिमाला’ले बालबालिका तथा युवापुस्तामाझ धार्मिक सहिष्णुता, भाइचारा र विश्वशान्तिको सन्देश पु¥याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।