• २०८३ भाद्र १५, सोमबार

बुवाहजुर: मिथक चिर्दै महाकविको सत्य उजागर

रञ्जना निरौला

रञ्जना निरौला

मन्जिला शर्मा उप्रेती ‘मन्जिला अनिल’ साहित्यकार तथा शिक्षासेवी हुनुहुन्छ । काठमाडौँमा जन्मिनुभएकी शर्मा एम.एड. तथा विभिन्न शैक्षिक तालिम प्राप्त गरी अध्यापन, निजी विद्यालय सञ्चालन तथा साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । वि.सं. २०५९मा ‘बालमनोविज्ञान’ निबन्धमार्फत साहित्यिक यात्रा सुरु गर्नुभएकी उहाँका ‘मन्जिल’ कवितासङ्ग्रह, ‘गोधुली संसार’ उपन्यास, ‘नबिकेको मान्छे’ कथासङ्ग्रह र ‘बुवाहजुर’ महाकाव्यलगायत कृतिहरू प्रकाशित छन् । उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरकी अध्यक्ष हुनुहुन्छ । नेपाल तथा विदेशका विभिन्न साहित्यिक सम्मेलनमा सहभागी हुँदै आउनुभएकी शर्माका रचना र अन्तर्वार्ता, लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित–प्रसारित छन् । शर्माको भर्खरै प्रकाशित महाकाव्य ’बुवाहजुर’को सेरोफेरोमा रहेर रन्जना निरौलाले गरेको स्रष्टा संवाद प्रस्तुत छ ।

१. ‘बुबाहजुर’ लेख्नुको मूल प्रेरणा के थियो ? देवकोटामाथि जीवनी, संस्मरण र अनुसन्धानात्मक कृतिहरू धेरै छन् । यस्तो अवस्थामा देवकोटालाई नै केन्द्रमा राखेर महाकाव्य लेख्ने आवश्यकता तपाईंलाई किन महसुस भयो ?
‘बुवाहजुर’ लेख्नुको मूल कारण साहित्यका तीर्थ महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा फैलिएका अनेकौँ अफवाह र गलत प्रचारलाई चिर्नु थियो। नेपाली भाषा र साहित्य, मानवता तथा राजनीतिमा उहाँले तिर्नुभएको अमूल्य योगदानलाई सही रूपमा बुझ्न आवश्यक छ । उहाँसम्बन्धी सत्य र आधिकारिक कुरा सबैले जान्नु र बुझ्नुपर्छ भन्ने उद्देश्यले यो महाकाव्य लेखेकी हुँ ।

२. ‘बुबाहजुर’ शीर्षक आफैँमा अत्यन्त आत्मीय र अर्थगर्भित छ । ‘महाकवि देवकोटा’ वा ‘लक्ष्मीप्रसाद’ नभई ‘बुबाहजुर’ रोज्नुको सौन्दर्यशास्त्रीय र भावनात्मक अर्थ के हो ?
नाम मन पराइदिनुभएकोमा आभार व्यक्त गर्दछु । पारिवारिक वंशको नाताले मैले उहाँलाई जे सम्बोधन गर्ने गर्छु, सोही शीर्षक छानेकी हुँ, ताकि यो सम्बोधन आधिकारिक पनि हो भन्ने बुझ्न सजिलो होस् ।

३. देवकोटालाई महाकविको सार्वजनिक छविभन्दा पर एउटा ‘मान्छे’का रूपमा प्रस्तुत गर्न तपाईंले कत्तिको सचेत प्रयास गर्नुभएको छ ?
अत्यन्तै सान्दर्भिक प्रश्न हो। उहाँ मानिस भएर जन्मिनुभयो, कर्मले मानव बन्नुभयो र अन्ततः यस धरालाई छोडेर जाने बेलासम्म महामानव बन्नुभयो । किन र कसरी यी सबै पाटाहरू विकसित भए भन्ने कुरा यही महाकाव्यमा शीर्षकसहित प्रस्तुत गरेकी छु ।

४. देवकोटाको जीवन आफैँमा एउटा महाकाव्यजस्तो छ । त्यस्तो विराट जीवनलाई महाकाव्यमा रूपान्तरण गर्दा कुन जीवन–खण्ड वा पक्षलाई केन्द्रमा राख्ने भन्ने निर्णय कसरी गर्नुभयो ?
मैले बुझेको देवकोटा आफैँमा विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो । परिवारभन्दा माथि उठेर सिङ्गो विश्वलाई समभावले हेर्न सक्नु, कर्मकाण्डी पण्डितका छोरा भएर पनि अङ्ग्रेजी शिक्षाको भविष्य नियाल्न सक्नु तथा अरूको पीडा महसुस गरी त्यसअनुसार कर्म गर्नु उहाँका विशेषता थिए । चाहे त्यो राणाशासनको अन्त्यका लागि गरेको योगदान होस्, त्रिभुवन विश्वविद्यालयका लागि जग्गा छनोटको प्रसङ्ग होस् वा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको विधान निर्माणको कुरा—हरेक खण्डको महत्त्व दर्शाएकी छु ।

५. देवकोटाको प्रतिभा र उनका निजी पीडाबीच कस्तो सम्बन्ध देख्नुहुन्छ ?
अत्यन्त गहिरो सम्बन्ध छ । परिवारलाई पनि असाध्यै माया गर्ने र सौखिन देवकोटा, जसले परिवारमा कुनै कमी नरहोस् भनेर प्रयत्न गर्नुहुन्थ्यो । अर्कोतर्फ देश, समाज र आफ्नो प्रतिभाप्रतिको जिम्मेवारी पनि उत्तिकै महसुस गर्नुहुन्थ्यो । त्यसैले यी सबै पक्षबीच तारतम्य मिलाउन गाह्रो देखिन्थ्यो । तर पति–पत्नीबीचको आपसी समझदारीले ठूलो भूमिका खेलेको देखिन्छ । एउटा सम्झनुपर्ने उदाहरण प्रस्तुत गर्छु—छोरा प्रकाशको मृत्यु भएपछि पत्नी मनदेवी उहाँलाई लिन भारत जानुभयो र आफ्नो पीडा सुनाउनुभयो। उहाँ रुनुभएन, बरु भन्नुभयो—‘यतिबेला देशलाई मेरो आवश्यकता छ । छोरा सहिद बन्यो, तिमी नरोऊ, गर्व गर ।’ भनेर पत्नीलाई सम्झाउनुभयो ।

६. देवकोटाको निजी जीवनलाई साहित्यमा पुनर्सिर्जना गर्दा तथ्य र कल्पनाबीचको सीमा कसरी निर्धारण गर्नुभयो ?अथवा ऐतिहासिक व्यक्तित्वमाथि लेख्दा सर्जकको कल्पनाले कति स्वतन्त्रता पाउनुपर्छ ?
स्वतन्त्र भएर लेख्दा कुनै कुराको बन्धन हुँदैन । लेखकले जति चाह्यो कल्पनाको उडान भर्न सक्छ। तर कसैको जीवनीमा कलम चलाउँदा धेरै फरक रहेछ । सत्यता, सजगता, सीमारेखा र परिधिको आवश्यकता किन छ भन्ने कुरा लेख्नुपर्ने रहेछ । लेखक स्वतन्त्र त छँदैछैन, ऊ समाजको कठघराभित्र उभिनैपर्छ ।

७. देवकोटाको लोकप्रिय छविसँग धेरै मिथक र किंवदन्ती जोडिएका छन् ।
‘बुबाहजुर’ले ती स्थापित मिथकलाई पुनर्पुष्टि गर्छ कि तिनलाई प्रश्न पनि गर्छ ? यही मिथक र किंवदन्तीलाई चिर्न नै यो महाकाव्य लेख्न मेरो अन्तरात्माले घचघचाइरह्यो। यसले भ्रमहरू हटाएर सत्यको उजागर पक्कै गर्नेछ भन्ने विश्वास छ।

८. देवकोटालाई आजका पुस्तासँग कसरी जोड्न सकिन्छ ?
‘बुबाहजुर’ले देवकोटाको समयलाई मात्र पुनस्र्मरण गर्छ कि आजको पुस्ताका लागि पनि कुनै नयाँ प्रश्न उठाउँछ ? भाषा र साहित्य त कहिल्यै मर्दैनन् । मानव सभ्यता रहेसम्म साहित्य पनि रहिरहन्छ । जसले साहित्यमा रुचि राख्छ, उसले देवकोटा त पढ्छ नै । त्यसका साथै यो पुस्तकले अग्रज र अनुज पुस्ताबीच पुलको काम गर्नेछ र एउटा आदर्श स्थापित गर्नेछ ।

९. ‘बुबाहजुर’मा देवकोटाको साहित्यिक व्यक्तित्वलाई उनको पारिवारिक सम्बन्ध र मानवीय सम्बन्धसँग जोड्नुको उद्देश्य के हो ?
कुनै पनि व्यक्ति सफल हुनका लागि परिवारको साथ र सहयोग उत्तिकै आवश्यक पर्छ । यदि पत्नीले उहाँको समय, खानपान, स्वास्थ्य, अतिथि सत्कार र बालबच्चाको जिम्मेवारी नसम्हालिदिएको भए उहाँ कसरी महाकवि बन्न सक्नुहुन्थ्यो र उहाँको प्रतिभाले स्थान पाउन सक्थ्यो ? त्यसैले परिवारको साथ, विशेषतः माता–पिता र पत्नीको भूमिकालाई पनि यसमा समेटेकी छु ।

१०. महाकाव्य विधा आजको समयमा चुनौतीपूर्ण विधा मानिन्छ ।समकालीन पाठकको बदलिँदो रुचिका बीच देवकोटाजस्तो व्यक्तित्वलाई महाकाव्यमा प्रस्तुत गर्नुको औचित्य तपाईं कसरी पुष्टि गर्नुहुन्छ ?
महाकाव्य लेख्नु अत्यन्तै चुनौतीपूर्ण रहेछ भन्ने कुरा लेख्दालेख्दै महसुस भइरह्यो। आँसुले पाना भिजिरहे, कलम पटक–पटक रोकियो । शास्त्रीय छन्दका कारण युवा पुस्ताले तिरस्कार पो गर्ने हो कि भन्ने डर पनि थियो। तर अहिले व्यापक माग युवापुस्ताबाटै आइरहेको छ । महामानवलाई महाकाव्यमै उतार्न मन लागेको पनि हो ।

११. ‘बुबाहजुर’ महाकाव्य हो कि देवकोटाको पुनर्पाठ ? तपाईं स्वयं यस कृतिलाई कुन कोणबाट हेर्नुहुन्छ ?
‘बुवाहजुर’ महाकाव्य नै हो, किनभने महाकाव्यका आफ्नै नियम छन्। ती नियममा बाँधिएर एउटा सद्वंशमा जन्मिएका, धीरोदात्त स्वभावका शूरवीर नायकको जीवनीलाई समेटेकी छु । जसले धर्म, अर्थ, काम र मोक्ष—चतुवर्ग फल प्राप्त गरेका छन्। त्यसैले यो महाकाव्य नै हो ।

१२. देवकोटाको जीवनलाई एउटी महिला सर्जकले पुनर्सिर्जना गर्दा दृष्टिकोणमा केही फरक आएको छ कि छैन ? विशेषतः परिवार, संवेदना, सम्बन्ध र निजी जीवनलाई हेर्ने दृष्टिमा लैङ्गिक अनुभवले कुनै प्रभाव पारेको छ ?
पक्कै आएको हुनुपर्छ । पुरुषको तुलनामा महिलामा संवेदनशीलता बढी हुन्छ र अरूले देख्न नसकेका वा नबुझेका विशेषताहरू बढी आएका होलान् । साथै, परिवारको सदस्यको नाताले उहाँको जीवनरूपी आरोह–अवरोहलाई नजिकबाट नियाल्ने अवसर पाएकाले पनि फरक दृष्टिकोण आएको हुन सक्छ ।

१३. देवकोटाको जीवनमा व्यक्तिगत स्वतन्त्रता र सामाजिक दायित्वबीच कस्तो द्वन्द्व थियो ? महाकाव्यले त्यस द्वन्द्वलाई कसरी अभिव्यक्त गरेको छ ?
देवकोटा आफैँमा अत्यन्तै मनमौजी मान्छे हुनुहुन्थ्यो, जसलाई कुनै बन्धनले तान्न गाह्रो थियो—चाहे व्यवहारमा होस् वा स्वच्छन्द लेखनमा । त्यतिबेलाको समाज रूढिवादले ग्रस्त थियो। ईश्वरवादी चिन्तन र आश्रित सोचले दिएको पीडा देवकोटालाई मन परेको थिएन। ‘अरूको काँध चढेर मन्दिर जानुपर्दैन, मानिस भई कर्म गर’ भन्ने सिद्धान्त उहाँको थियो । त्यसैले ‘यात्री’ कविता त्यसबेलाको एउटा क्रान्ति नै थियो। युगको द्वन्द्वले उहाँ समाजको परिवर्तन खोजिरहनुभयो । दशकौँ अगाडिको दिमाग लिएर जन्मनुभएका देवकोटालाई समाजले फरक र जादुगरजस्तो हेथ्र्यो ।

१४.देवकोटाको राष्ट्रचेतना र विश्वचेतनालाई तपाईं कसरी हेर्नुहुन्छ ? उनी केवल नेपाली राष्ट्रिय चेतनाका कवि हुन् कि विश्वमानवका कवि पनि हुन् ?
देवकोटा सच्चा राष्ट्रसेवक हुनुहुन्थ्यो, त्यसैले उहाँलाई महाकवि बनायो । स्वयं राणाहरूका शिक्षक भए पनि राणाशासन फाल्न उहाँको अमूल्य योगदान रह्यो। नेपाली भाषालाई अनिवार्य गराउनुभयो। त्रिभुवन विश्वविद्यालयको जग्गा छनोटमा उहाँकै योगदान थियो। मानवताको दृष्टिकोण र सामाजिक चेतना नै उहाँको परिचय हो। राहुल सांकृत्यायन, पन्त र निरालाजस्ता महान् कविहरूसँग तुलना गर्दै ‘एक देवकोटा बन्छन्’ भन्ने आवाजसमेत सुनिन्थ्यो । रुसमा गएर रुसी भाषामा कविता लेखेर बेचेर फर्किएका उदाहरणसमेत छन् ।

१५. देवकोटालाई हामीले ‘महाकवि’ बनाएर कतै उनका मानवीय कमजोरी, असफलता र अन्तद्र्वन्द्वलाई ढाकेका त छैनौँ ?
पक्कै छैनौँ, किनभने उहाँको समयको अस्तव्यस्तता र भाइहरूसँगको संगत पनि हामीले स्पष्ट रूपमा देखेका र लेखेका छौँ । उहाँको कर्म र काव्यले नै उहाँलाई महाकवि बनाएको हो ।

१६. एउटा सर्जकले अर्को महान् सर्जकको जीवन लेख्दा त्यो जीवनी हुन्छ, पुनर्सिर्जना हुन्छ कि सर्जक स्वयंको आत्मसंवाद पनि हुन्छ ? ‘बुबाहजुर’मा मञ्जिला शर्मा स्वयं कति उपस्थित हुनुहुन्छ ?
ओहो, कति गहन! मलाई लाग्छ, यो लेखक र महाकविको आत्मसंवाद नै हो । जुन घरका इँटा स्पर्शदेखि उहाँले प्रयोग गर्नुभएका सबै भौतिक चिजको सामीप्यता, अन्तिम समयसम्म पनि देवकोटा पत्नीको काखमा लुटपुटिएका र मुखारविन्दबाट व्यक्त भएका अनुभवहरू नै यसका सिर्जनाका आधार हुन्। म मन्जिला प्रत्येक सर्गमा, भावमा, कलमको टुप्पोमा, ठोकिएको समाजमा र परिवारको संगतमा कहाँ उभिएकी छैन र ? म मन्जिला र यो महाकाव्य पर्यायवाचीभन्दा पनि हुन्छ ।

१७. देवकोटाको जीवनलाई पुनर्सिर्जना गर्दा तपाईंले कुन देवकोटालाई पाठकसमक्ष ल्याउन खोज्नुभएको हो—इतिहासले चिनाएको देवकोटा, परिवारले चिनेको देवकोटा कि तपाईंले अनुभूत गरेको देवकोटा ?
मैले देवकोटालाई चिनाउन खोज्दा माथि उल्लेख गरिएका तीनवटै देवकोटालाई परिचित गराएर फैलाइएका भ्रम र विकृति बोकेका विचारहरूलाई चिरफार मात्र गरेकी छु । तीनवटै कोणमध्ये एउटा मात्र झिकियो भने देवकोटा लङ्गडो बन्नुहुनेछ भन्ने मेरो मान्यता हो । यसमा म सजग र इमानदार दुवै छु ।

१८. देवकोटाको जीवन र सिर्जनाको सबैभन्दा ठूलो अन्तर्विरोध तपाईंलाई के लाग्छ ?
सबैभन्दा ठूलो अन्तर्विरोध देखिएको नै त्यसबेलाको समाजले उहाँको मस्तिष्कको विराटतालाई नबुझी पागलको संज्ञा दिनु हो । एक डाक्टरले समेत ‘ज्योग्राफिकल मिस्टेक’ भन्दै यो मुलुकमा जन्मनु नै उहाँको दुर्भाग्य भएको उल्लेख गरेका थिए—‘यदि यो टाउको पाश्चात्य मुलुकले पाएको भए के हुन्थ्यो?’ समयभन्दा अगाडिको मस्तिष्क लिएर जन्मनु सौभाग्य कि दुर्भाग्य, के भनूँ !

१९. अन्ततः ‘बुबाहजुर’ पढिसकेपछि पाठकले देवकोटालाई नयाँ ढङ्गले चिनोस् भन्ने तपाईंको सबैभन्दा ठूलो अपेक्षा के हो ?
मेरो उद्देश्य नै कुनै पनि पुस्ता भ्रमित नभई सत्य इतिहास पढोस् र उजागर गरोस् भन्ने हो। इतिहासले गलत लेख्यो भने त्यो नजिर बन्छ। त्यसैले भ्रम चिरेर जे सत्य हो, त्यसलाई आधिकारिक रूपमा प्रस्तुत गरेर लेखेकी छु । त्यसैले यो आधिकारिक दस्तावेज पनि हो ।

२०. यदि आज देवकोटा स्वयं तपाईंको अगाडि उपस्थित भएर ‘बुबाहजुर’ पढ्नुभएको भए, तपाईं उहाँलाई एउटा मात्र प्रश्न सोध्न पाउनुहुन्थ्यो भने के सोध्नुहुन्थ्यो ?”
यदि स्वयं देवकोटा उपस्थित हुनुभएको भए, त्योभन्दा ठूलो अहोभाग्य मेरो लागि अरू के हुन्थ्यो होला र ! म उहाँसँग मानवतावादी दृष्टिकोण र हृदय, जुन आज रित्तिँदै गइरहेको छ, त्यसलाई कसरी पुनः स्थापित गराउन सकिन्छ भनेर आशीर्वाद माग्थेँ होला । काश, सपनामै भए पनि उहाँसँग साक्षात्कार हुने सौभाग्य जुरोस् भनेर पटक–पटक ईश्वरलाई पुकारेकी छु ।