समाचार
बुटवल ।
नेपालको कम्युनिस्ट आन्दोलनका नेता स्वर्गीय जीवराज आश्रितको ८३औँ जन्मजयन्तीका अवसरमा ‘जीवराज आश्रितको वैचारिक आलोक’ (जीवनी, व्यक्तित्व र कृतित्व) पुस्तकको विमोचन तथा विमर्श कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ ।
जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य लिला गिरीले पुस्तक विमोचन गर्दै आश्रितलाई अनुशासित, सिद्धान्तनिष्ठ तथा पार्टीप्रति प्रतिबद्ध नेताका रूपमा स्मरण गरे । उनले आश्रितले अँगालेको आदर्श, राजनीतिक संस्कार र संगठनात्मक प्रतिबद्धता आजको सन्दर्भमा समेत अनुकरणीय रहेको बताए । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सभाका पूर्वसदस्य देवेन्द्र घिमिरेले जीवराज आश्रितलाई सिद्धान्तअनुसार जीवन जिउने सच्चा कम्युनिस्ट नेताका रूपमा स्मरण गर्दै उनको राजनीतिक निष्ठा, सादगीपूर्ण जीवनशैली र वैचारिक प्रतिबद्धता भावी पुस्ताका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेले प्रतिष्ठानले सामाजिक रूपान्तरणका लागि निरन्तर वैचारिक तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै पुस्तकले जीवराज आश्रितको व्यक्तित्व, विचार र योगदानलाई नयाँ पुस्तामाझ पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । विमोचित पुस्तकबारे साहित्यकार ऋषिराम भुसाल र रामचन्द्र श्रेष्ठले समीक्षा तथा टिप्पणी गर्दै जीवराज आश्रितको जीवनी, वैचारिक स्पष्टता तथा नेपाली राजनीतिक आन्दोलनमा उनले पु¥याएको योगदानको चर्चा गरे। पुस्तकका लेखक डा. मुरारी पराजुलीले पुस्तक लेखनको उद्देश्य र विषयवस्तुबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष यज्ञ गैरे, डा. सागर न्यौपानेलगायतले आश्रितको व्यक्तित्व, राजनीतिक निष्ठा तथा उनका विचारहरूको समसामयिक सान्दर्भिकतामाथि प्रकाश पारे ।
वक्ताहरूले जीवराज आश्रितले देखाएको वैचारिक मार्गदर्शन, सिद्धान्तनिष्ठ राजनीति र राजनीतिक संस्कारलाई वर्तमान वामपन्थी आन्दोलनले अपेक्षित रूपमा आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलनले विभिन्न चुनौती सामना गरिरहेको धारणा पनि व्यक्त गरे । कार्यक्रममा वाम बुद्धिजीवी, साहित्यकार, प्रतिष्ठानका आजीवन सदस्य, पदाधिकारी, सदस्य तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सहभागीहरूले जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
