• २०८३ भाद्र १२, शुक्रबार

यो बेला देश हारेको छ

सुबास प्रधान

सुबास प्रधान

यो बेला देश हारेको छ
देश मात्र होइन
मानवता हारेको छ
प्रेम, दया, करुणा र ममता हारेको छ
देश लाज ओढेर निर्वस्त्र उभिएको छ ।

ए देशका अग्ला हिमपर्वतहरु हो !
तिम्रा फेदमा बगेका नदीहरूलाई हेर
त्यहाँ पानी होइन
सारा आमाहरुको रातो आँसु बगिरहेछ ।

तिमीलाई सोध्नु छ–
तिम्रो कुन कानुनको ‘धारा’ले
च्यातिएको त्यो शैशव जोड्छ ?
तिम्रो कुन फैसलाले
आमाको गोदबाट उछिनेको
त्यो अबोध ’संसार’ले न्याय पाउँछ ?
जतिबेला तिम्रो कानुनका दुवै खुट्टा
बैसाखीमा अडेस लागेर
घस्रिरहेका छन् ।

देश
यो पटक
फेरि तिमी हारेको छौ
किन कि–
तिम्रो नपुंसक कानुनको अगाडि
‘गरिमा’को त्यो निष्पाप आत्माले
तिम्रो निम्छरो अनुहारलाई थुकिरहेको छ ।


हाल बेलायत