हिन्दी कविता
आकाशमा घामका केही धर्साहरु मात्र देखिँदै थिए । अघिल्लो दिनको घनघोर वर्षाले मन सशंकित थियो तर पनि दैवले तँ आँट म पुर्याउँछु भन्छन् भनेझैँ आजको दिनमा यात्राको योजना पूरा हुने संकेत देखिएको थियो । वर्षा ऋतुको श्रावण महिना र अत्यधिक मौसमी चुनौती भएपनि मनको उत्साहले चुनौतिलाई जितेको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रूपन्देही जिल्ला शाखाको आयोजना र लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल केन्द्रको संयोजनमा आयोजित “साहित्यिक पर्यटन सद्भाव यात्रा–२०८३“ का लागि लुम्बिनी प्रवेशद्वार भैरहवामा सद्भाव यात्राका संयोजक तिलक लामीछाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष छवि ज्ञवाली संस्कृति विद् विजय सागर, डा. श्यामप्रसाद न्यौपाने, रूद्र ज्ञवाली, डा. शंकर नेपाल, सरू ज्ञवाली, सृजना खनाल लगायतका साहित्यकारहरुको टोली करिब सवा सात बजे जम्मा भैसक्नुभएको थियो। केही साहित्यकार साथीहरू आफ्नो पायक पर्ने ठाउँबाट चढ्ने निधो गर्यौँ। लगभग सवा सात बज्दा “साहित्यिक पर्यटन सद्भाव यात्रा–२०८३” लाई प्रमुख अतिथि संस्कृति विद् विजय सागरज्यूले उद्घाटन गर्नुभयो र यात्रा आरम्भ भयो। यो एउटा यस्तो यात्रा थियो, जसको गन्तव्य कुनै साधारण पर्यटन र मनोरञ्जन मात्र थिएन, बरु साहित्यसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित समरभूमीदेखि शान्तिभूमि सम्मको साहित्यिक यात्रा थियो ।
यात्रा भैरहवाबाट सुरू भईसकेको थियो । बस आउन लागिसकेको जानकारी साहित्यकार मित्र डि. आर. सूर्यबाट प्राप्त भएपछि म हतारिँदै हातमा ध्वनि संयन्त्र लिएर शान्ति कुञ्ज तर्फ लागेँ । केही समय साथिहरुले पर्खनु परेछ र म पनि सँगै यात्रामा जोडिएँ। हाम्रो यात्राको पहिलो गन्तव्य जितगढी किल्ला (बुटबल) तर्फ अगाडि बढ्यो ।
जितगढी: गौरवमय इतिहासको सुन्दर खुला पुस्तक
पूर्व पश्चिम राजमार्गको तिनाउ नदिको पुल पार गर्ने बित्तिकै जितगढी किल्ला रहेको छ । मुल सडकमा बस रोकिएपछि करिब २०० मिटरजति दक्षिणपूर्व हिडिसक्दा बुटवलको जितगढी किल्ला पुग्यौँ । त्यहाँ पुग्दा लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल केन्द्रका अध्यक्ष ऋषि आजाद, जितगढी किल्लाको अनुसन्धान गरिरहनुभएका अनुसन्धानकर्ता तथा अग्रज साहित्यकार देवेन्द्रराज शाक्य लगाएतले हामीलाई स्वागत गर्नुभयो। यो स्थल पाल्पाली राजा मणिमुकुन्द सेनका सेना प्रमुख कर्णेल उजिर सिंहले मोर्चा सम्हाली अङ्ग्रेज फौजमाथी विजय प्राप्त गरेको जितगढी किल्ला हो। नदि किनारमा रहेको हुँदा यसलाई जल गढी पनि भनिदो रहेछ। यहाँ रहेका युद्धका साङ्केतिक नमूना र स्मारक हेर्दा नेपाल अङ्ग्रेज युद्ध इतिहासको त्यही कालखण्डमा युगेको अनुभूति भयो । जितगढी किल्लाको सामरिक इतिहासका बारेमा यसै विषयमा अनुसन्धान गरिरहनुभएका अनुसन्धानकर्ता तथा अग्रज साहित्यकार देवेन्द्रराज शाक्यले विस्तृत जानकारी दिनुभयो। यश स्थलमा सरू ज्ञवाली, गोविन्द प्रसाद रेग्मी यदु लामीछाने लगाएतका साहित्यकारहरूले रचना वाचन गर्नु भएको थियो । कवि यदु लामिछानेको जितगढी र यसैको फेरोमा रहेर रचना गरेको झ्याउरे लयको लयात्मक कविता र यसको वाचनले सबैलाई मन्त्रमुग्ध बनायो र धेरैलाई नचाईपनि छाड्यो। भ्रमणको साक्षी स्वरूप केही तस्बिरहरू लियौँ । करिब एक घण्टाको त्यो छोटो बसाइले पनि हामीलाई जीवन्त ज्ञान र सौर्य प्रदान गर्यो। मनमा जितको प्रफुल्लता बोकेर हामी त्यस ठाउँबाट अर्को गन्तव्यका लागि निस्कियौँ ।
वनवाटिकाः प्रकृतिको काख प्रकृतिको साथ
साढे नौ बजे यात्रा तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र अर्थात “वनवाटिका“ पुग्यो। त्यस स्थलको चाँजोपाँजो उपाध्यक्ष कविता पन्थीले गर्नुभएको थियो । जितगढी युद्धको बिभिषिकाको छापबाट निस्केर हरियालीको कोमलतामा समाहित हुँदा एक किसिमको राहत महसुस भयो। त्यहाँ पुग्दा प्रकृतिले आफ्नै लयमा गीत गाइरहेको आभाष हुन्थ्यो । अनुसन्धान केन्द्रका व्यवस्थापक महेन्द्र बस्नेतले शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको वस्तुस्थिति, योजना र लक्ष्यका बारेमा जानकारी दिनुभयो । यस स्थलमा बाल उद्यान, प्राणी उद्यान, पिकनिक स्थल र पार्क , पुस्तकालय साहसिक खेल स्थल रहेका छन्। व्यवसायीक वनवाटिका टावर निर्माण भईसकेको तर प्रयोगमा नआएको देख्दा मन खिन्न भयो । यस्ता संरचनाको निर्माण गर्नुपूर्व उपादेयता तथा सम्भाव्यता अध्ययनको कमि भएको महसुस भयो । मिठो चिया सँगै विभिन्न साहित्यकारहरूका मिठा रचनाहरु पनि वाचन भए। तिज गीत प्रस्तुति र राम्रा नृत्य पनि हेर्न पाइयो । लक्ष्मण ज्ञवालीको पर्या कवितामा वनवाटिकाको मिहिन काव्यात्मक विश्लेषण सुन्न पायौँ । साथै यहाँ यज्ञलाल सुवेदी, राधा भट्टराई लगाएतका साहित्यकारका रचना सुन्यौँ । वनवाटिका प्रकृति संरक्षणको महत्त्वपूर्ण एकाइ हो । प्रकृति रहे मात्र हामी रहन्छौँ ।
देवदहको भोजन र सम्झनाको स्वादः
करिब १०ः३०बजे देवदह खैरेनी पुग्यौँ । देवदह नगरपालिकाले खैरेनी पिपलडाँडा स्थित न्यू सनलाईट होटलमा खानाको व्यवस्थापन गरेको रहेछ । थालमा खानाका जति परिकार थिए, त्योभन्दा बढी साहित्यिक कुराकानी, हाँसो र सद्भावको न्यानोपन थियो । यहाँ रहेर यात्राको अनुभव साट्यौँ । खाना स्वादिलो थियो । त्यहाँ पुगेपछि यात्राले भौतिक विश्रामको साथसाथै सामूहिक आत्मीयताको स्वाद पनि चाख्यो । भोजन त निहुँ मात्र थियो, वास्तविक सन्तुष्टि त सामूहिकतामै लुकेको थियो ।
पाकरी वृक्ष: समयको साक्षी
खानाको आनन्दानुभूती पछि अब हाम्रो यात्रा देवदहमा रहेको ऐतिहासिक पुरातात्त्विक महत्व बोकेको पाकरी वृक्ष तर्फ लाग्यो । यो बृक्ष कति पुस्ताको साक्षी होला ? यसले कति हिउँद र कति वर्षा सह्यो होला? कसैलाई थाहा छैन । तर जानकारहरू यो वृक्ष एसियाकै सबैभन्दा ठूलो वृक्ष भएको र बुद्धकालिन समयको मान्दछन् । यसको अजङ्गको फैलावट र चराचुरुङ्गीले यसमा गुँड नबनाउने सत्यता देख्दा आश्चर्यचकित बनायो । यसको फेँदमा पुग्दा सबैलाई बुद्धत्व प्राप्तिको अनुभूति भयो। केही साथीहरू त तपस्यानै पो गर्न थाल्नुभो भने केही साथीहरू समयलाई क्यामेरामा कैद गर्न। यस वृक्षको छहारीमुनि खगेन्द्र बश्याल का हाईकु, सरला गाहाको गजल, कमल पौडेल को गित प्रस्तुति रोचक थिए । साथै अन्य साहित्यकारका रचना पनि प्रस्तुत भए । स्थानिय रूद्र पाण्डेले पाकरी बृक्षको बारेमा राम्रो जानकारी दिए । फोटा खै कस्ता खिचिए थाहा भएन सबै भन्दा रोचक त क्यामेरामेनको मोबाइल घुमाएर फोटो खिच्ने शैली थियो । निक्कै हाँस्यौँ र यहाँबाट हाम्रो यात्रा बुद्ध मावली भवानीपुर तिर मोडियो ।
बुद्ध मावली भवानीपुरः बत्ति मुनि अध्यारो
सवा एक बजे देखि पौने तीन बजेसम्म हामी भवानीपुरमा रह्यौँ । यो स्थल बुद्ध कालिन इतिहाससंग जोडिएको पवित्र स्थल हो । यो स्थल भगवान गौतम बुद्धको मावली र यशोधराको माईती पनि हो । रोहिणी नदी भन्दा पूर्वको यो क्षेत्र कोलिय राज्यमा पर्दछ। भवानीपुर विकास समितिका अध्यक्ष लिलाबल्लभ भट्टराईले यस स्थलको विकास अपेक्षानुरुप गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै हाल सम्म भएका प्रयास र प्रगतिको वृतान्त सुनाउनुभयो । यसैगरी संस्कृति विद् विजय सागर ले बुद्दकालिन इतिहास र यसका आयामका बारेमा बृहत् चर्चा गर्नुभयो । यस स्थानमा पनि नारायण भण्डारी, सङ्गम अनुरागी ,विष्णु गजुरेल लगाएतका थुप्रै साहित्यकारका गहकिला रचनाहरू सुन्यौँ । एकीकृत लुम्बिनी विकास अवधारणा अन्तर्गत भवानीपुरलाई पनि जोड्न सके यो स्थल ओझेलमा पर्दैनथ्यो कि भन्ने हामी सबैको मनमा परिरह्यो। यो स्थललाई पनि जोडेर बुद्ध सर्किट बनाई आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउन सके भवानीपुरको ऐतिहासिक एवम् पुरातात्त्विक महत्व अझ बढेर जानेछ । यो ठाउँमा उभिँदा एउटी जगत्जननी को पदचापको गम्भिरता झल्कन्छ, जसका गर्भवाट शान्तिदूत गौतम बुद्धको जन्म भएको थियो। आज हामी त्यही पवित्र स्थानमा हिँड्ने अवसर पाउनु साँच्चै गौरवमय क्षण थियो ।
लुम्बिनी: समरको अन्त्य र शान्तिको सुरुवात
अब यात्राको अर्को गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी थियो । भवानीपुर बुद्ध मावली कोलिय राज्यबाट रोहिणी नदी हुँदै भवानीपुर–मणिग्राम सडक खण्डबाट सिद्धार्थ राजमार्गमा निक्लियौँ र भैरहवा तर्फ लाग्यौँ । रोहिणी नदी कोलिय राज्य र शाक्य गणराज्यको सिमाना रहेछ । जितगढीको सामरिकभूमि बाट सुरु भएको यो यात्रा प्राकृतिक मनोरम छटा अवलोकन गर्दै अन्ततः बुद्ध जन्मस्थली लुम्बिनीमा आईपुग्यो । यो त्यही भूमि हो जहाँबाट संसारले पहिलोपटक “अहिंसा”को अर्थ बुझेको थियो। करिब साढे तीन बजे लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुग्यौँ । विश्वविद्यालयको सभाहलमा समापन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक तिलक लामिछानेको अध्यक्षता, संस्कृतिविद् विजय सागरको प्रमुख आतिथ्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान प्रमुख संस्कृतिविद् डा. गीतु गिरीको विशिष्ट आतिथ्य, लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजादको विशिष्ट आतिथ्य, लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देहीका अध्यक्ष छवि ज्ञवालीको स्वागत तथा सचिव कृष्ण पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा साहित्यकार एम. बि. खड्काको सामाजिक उपन्यास सङ्गत लोकार्पण पनि भयो। उक्त सभाहलमा डा. श्याम प्रसाद न्यौपाने, रूद्र ज्ञवाली, रमेश समर्थन, सिर्जना खनाल, कविता पन्थी,डा. शंकरप्रसाद नेपाल, डा. लक्ष्मी पोखरेल, डि.आर. सूर्य, दुर्गा थापा र म लगायत अन्य थुप्रै साहित्यकारका गहकिला रचनाहरू प्रस्तुत भए। कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरियो। चिया–नास्ता र समापन कार्यक्रमका साथ यात्राले यात्राले औपचारिक विश्राम पायो, तर यात्राले छाडेका मिठा छाप त्यति सजिलै मेटिने खालको थिएन। हृदयभरी यात्राका सम्झना र फरक अनुभूतिको सङ्गालोले मन चङ्गा भएको थियो । अब हामी सबै आ–आफ्नो गृह गन्तव्य तर्फ लाग्यौँ । बस लुम्बिनीबाट भैरहवा हुँदै बुटवल तर्फ अगाडि बढ्यो । आ–आफ्नो गन्तव्य स्थानमा सबै एक एक गरि ओर्लिँदै गयौँ ।

अन्तिम टेकोः
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिका एवम् शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिकाले कार्यक्रम प्रति देखाएको सद्भाव र सहयोग अतुलनीय छ । यस साहित्यिक पर्यटन सद्भाव यात्रा–२०८३ ले साहित्य र पर्यटन सँगै इतिहास, प्रकृति र आध्यात्मलाई एउटै धागोमा उन्ने काम गरेको अनुभुति भयो ।
यो यात्रा “समरभूमिदेखि शान्तिभूमिसम्म”को भावार्थ बोकेको सद्भाव यात्रा थियो । जितगढीको समरभूमिबाट हिँडेर लुम्बिनीको शान्तिभूमिसम्म पुग्नु भनेको द्वन्द्वबाट करुणासम्म, अहंकारबाट अहिंसासम्म र अन्ततः विनाशबाट सिर्जनासम्मको यात्राको प्रतीक थियो । यस किसिमका यात्राहरूले माटो चिन्ने मौका जुराउँछन् अनि प्रकृति,भूगोल कला, संस्कृति र अध्यात्मको माधुर्यलाई फेरि साहित्यिक सिर्जना मार्फत जीवन्त बनाउँछन् । साँचो अर्थमा जीवन भन्नू यात्रा नै त रहेछ ।
उद्धव देवकोटा