• २०८३ भाद्र ९, मंगलवार

‘कविता कोलाज’को पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट सम्पन्न

काठमाडौंँ ।

काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा ‘कविता कोलाज’को पहिलो प्रस्तुति ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ । नेपालभाषा कविता, साहित्य, संस्कृति र सिर्जनशील पुस्ताबीचको संवादलाई सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपालभाषाका विभिन्न पुस्ताका कविहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानका कुलपति एवं उपन्यासकार प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा कवयित्री प्राज्ञ प्रतिसरा साय्मी अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमको उद्घाटन दिवंगत स्रष्टाहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। गत भदौ १ गते दिवंगत मूर्धन्य कवि, गीतकार, नाटककार तथा भाषा अभियन्ता दुर्गालाल श्रेष्ठ, साउनमा दिवंगत नेपालभाषाकी पहिलो नारीवादी कवि नारायणदेवी श्रेष्ठ तथा २०८२ फागुनमा दिवंगत कवि सुरेश किरणको स्मृतिमा एक मिनेट मौनधारण गरी शोकधून बजाइएको थियो । त्यसैगरी दिवंगत कविहरू गिरिजाप्रसाद जोशी, पूर्ण वैद्य, बुद्ध सायमी र सुन्दर मधिकर्मीको स्मृतिमा कविता कोलाजका छ जना स्रष्टाले उनीहरूका सिर्जना वाचन गरेका थिए । कविता कन्सर्टमा नेपालभाषाका १७ जना कविले भायोलिन र बाँसुरीको सांगीतिक साथमा आफ्ना कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा चर्चित कवि उज्ज्वला महर्जनको ‘द मोनोलग’ विशेष आकर्षण बनेको थियो। आयोजकका अनुसार नेपालभाषा कविता क्षेत्रमा वाद्यवादनसँगै कविता वाचन गरिएको यो सम्भवतः पहिलो प्रयोग हो ।

कार्यक्रममा विभिन्न पुस्ताका स्रष्टाहरूले कविता प्रस्तुत गर्दै नेपालभाषामार्फत भाषा, साहित्य, समाज, इतिहास र संस्कृतिका विविध पक्षलाई अभिव्यक्त गरेका थिए। लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ र दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता वाचन गरेका थिए । त्यस्तै राज अक्षोभ्यले ‘च्याना च्वंगु सर्ग जिगु’, श्रीराम श्रेष्ठले ‘छम्ह महाफताह जि’, सविना महर्जनले ‘थःगु तुति मालाच्वंगु छपा लाकां’ तथा प्राज्ञ प्रतिसरा साय्मीले ‘लुसि’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्राज्ञ डा. पुष्पराज राजकर्णिकार, दिलकुमारी डंगोल, विशेष आमन्त्रित कवि उज्ज्वला महर्जन, स्नेह साय्मी, सञ्जयराज शर्मा, रजनीमिला, समाश्री, सुधीर ख्वबि र नारद बज्राचार्यलगायत स्रष्टाले समेत आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। उज्ज्वला महर्जनले ‘द मोनोलग’, स्नेह साय्मीले ‘आइ लभ यु’, रजनीमिलाले ‘जः नाप मनूया सम्बन्ध’ तथा नारद बज्राचार्यले ‘भविष्यवाणी’ शीर्षकको कविता वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राज्ञ मल्ल के. सुन्दरले नेपालभाषा साहित्यको विकासक्रममा समय, समाज र परिवेशले पारेको प्रभाव बुझ्न यस्ता साहित्यिक गतिविधि महत्वपूर्ण रहेको बताए। युवा पुस्ताका स्रष्टाहरूले नेपालभाषा साहित्यका क्षेत्रमा नयाँ प्रयोगसहित कार्यक्रमको थालनी गरेकोमा आफू प्रसन्न रहेको उनको भनाइ थियो । काठमाडौं महानगरपालिका वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले आफू कवि नभए पनि लामो समयदेखि कविता र साहित्यका पारखी रहेको बताउँदै नेपालभाषाको श्रीवृद्धिका लागि हुने यस्ता सिर्जनात्मक गतिविधिमा आफ्नो पूर्ण समर्थन रहने बताए । ‘म कवि त होइन, तर साहित्य र कवितालाई माया गर्ने राजनीतिज्ञ हुँ। समाज र त्यसका सामाजिक तानाबाना बुझ्न कविता सबैभन्दा उत्तम विधा हो जस्तो लाग्छ। कविताले थोरै शब्दमा गहिरो भाव अभिव्यक्त गर्न सक्छ,’ उनले भने ।

अध्यक्ष चिनीकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता कोलाजकी संयोजक तथा कवि रजनीमिलाले संस्थाको अवधारणा प्रस्तुत गरेकी थिइन् । कार्यक्रमले नेपालभाषा कवितालाई परम्परागत वाचनको सीमाबाट बाहिर ल्याउँदै संगीत, प्रस्तुति र बहुपुस्तीय सहभागितामार्फत नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।