समाचार
काठमाडौँ ।
नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
बजारमा तीजको मौलिकता र पर्वको मर्मभन्दा तडकभडकलाई प्राथमिकता दिने गीतहरू आइरहेका बेला ‘पति परमेश्वर’ले भने तीज पर्वको धार्मिक तथा पारिवारिक भावलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । गीतमा पार्वतीले भगवान् शिवको दीर्घायु तथा सुख–शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसङ्गलाई आधार बनाइएको छ । श्रीमान्–श्रीमतीबीचको प्रगाढ प्रेम, आपसी समझदारी र समर्पणले परिवारमा सुख, शान्ति र खुसी ल्याउँछ भन्ने सन्देश गीतले दिन खोजेको छ ।
गीतका शब्द तथा सङ्गीत हेमन्ता भट्टराईको रहेको छ भने एरेन्ज लोकप्रिय गायक, सर्जक तथा एरेन्जर विनोद बाजुरेलीले गरेका छन् । गीतको रेकर्डिङ काठमाडौँस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो । भक्तपुरको गुन्डु मन्दिरमा छायाङ्कन गरिएको भिडियोमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेले अभिनय गरेका छन् ।
हरेक वर्ष तीजका अवसरमा मौलिक गीत प्रस्तुत गर्दै आएको बताउँदै गायिका हेमन्ता भट्टराईले यस वर्ष पनि दर्शक तथा श्रोताका लागि मौलिक तीज गीत ल्याएको बताइन् । भट्टराईले भनिन्, सधैँझैँ यस गीतमा पनि अझ बढी माया र साथ पाउने विश्वास लिएका छौँ ।
