• २०८३ श्रावण २९, शुक्रबार

म र मेरो साथी रामचन्द्र मल्लिक

दीपक श्रेष्ठ

दीपक श्रेष्ठ

रामचन्द्र रोयो,
मैले आँसु देखेँ
तर रामचन्द्रको पीडा बुझिनँ भने
मेरो त्यो केवल हेराइ हो,
समानुभूति होइन।

मेरो अगाडि आइपुग्दा रामचन्द्र हाँस्यो,
मैले उसको मुस्कान देखेँ
तर उसको त्यो मुस्कानभित्र
लुकेको पीडा मनन गर्न सकिनँ भने
त्यो केवल मैले देख्नु हो,
समानुभूति होइन।।

रामचन्द्र चुप लाग्यो,
मैले मौनता सुनेँ
तर रामचन्द्रको मौनताले
के भन्न खोजिरहेको छ भन्ने
बुझ्ने प्रयास मैले गरिनँ भने
त्यो केवल सुन्नु हो,
समानुभूति होइन।।।

मैले रामचन्द्रप्रति समानुभूति गरेको त त्यतिवेला हुन्छ
जब म केही समयका लागि
रामचन्द्रको ठाउँमा उभिन्छु,
रामचन्द्रको आँखाबाट संसार हेर्छु,
रामचन्द्रको मनबाट पीडा महसुस गर्छु
र म जोडजोडसँग भन्न सक्छु-
यदि म तिमी भएको भए
सायद म पनि यस्तै महसुस गर्थें।

तिमी र मबीच जात फरक होला,
कसैको लिङ्ग फरक होला,
कोहीको भाषा फरक होला,
धर्म, संस्कृति र पहिचान फरक होला,
अनि कसैको रङ र रहनसहन फरक होला,
तर मनको भाखा एउटै हुन्छ,
पीडाको अनुभूति एउटै हुन्छ,
मान्छे भएर मान्छेजस्तै बाँच्न पाउने इच्छा उस्तै हुन्छ।।

यो सबै बुझ्दै जाँदा रामचन्द्र र ममा के नै पो फरक छ ररु
मैले रामचन्द्रको ठाउँमा आफूलाई राखेको भए सायद आज
हाम्रो समाजमा रहेको विभेद र असमानताको दूरी घट्ने थियो।
रामचन्द्रको व्यथा र आँसुको मूल्यलाई मैले आफ्नो ठानेको भए,
रामचन्द्रले जे महसुस गरेको छ, त्यो महसुस गर्न सकेको भए,
समानुभूतिको परिभाषा अरूलाई बुझाउँदै आफैँले नबुझेकोले
जीवन बुझ्ने र बुझाउने पाटामा म अझै अधुरै रहन पुगेको छु।
यति अहिले बुझेर मनन गरेकोले आफूलाई धन्य ठानेको छु।।।

(दलित साथी र मबीचको आत्मानुभूति)


दीपक श्रेष्ठ