• २०८३ श्रावण २९, शुक्रबार

नेपाली उपन्यासमा ऐतिहासिक-पौराणिक विमर्शबारे राजधानीमा परिसंवाद

काठमाडौं ।

समसामयिक नेपाली उपन्यासका विषयवस्तु, उपन्यासकारको सफलता तथा नेपाली साहित्यमा पौराणिक र ऐतिहासिक उपन्यासको विकासक्रमबारे राजधानीमा विचार-विमर्श गरिएको छ । प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’को छैटौँ स्मृतिदिवस (पुण्यतिथि)का अवसरमा प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानले ‘नेपाली उपन्यासमा ऐतिहासिक र पौराणिक विमर्श’ विषयक परिसंवाद आयोजना गरेको हो । परिसंवादमा नेपाली साहित्यमा ऐतिहासिक तथा पौराणिक उपन्यास लेखनको सुरुआत, विकासक्रम, प्रकृति र वर्तमान अवस्थाका विषयमा चर्चा गरिएको थियो । वक्ताहरूले समसामयिक नेपाली उपन्यासका प्रवृत्ति तथा उपन्यास लेखनमा ऐतिहासिक र पौराणिक विषयवस्तुको प्रयोगबारे समेत धारणा राखेका थिए ।

कार्यक्रममा प्रा. डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’का उपन्यासमा प्रस्तुत ऐतिहासिक तथा पौराणिक पक्षमाथि पनि चर्चा गरिएको थियो। वक्ताहरूले उनका कृतिमा इतिहास र मिथकको प्रयोग तथा त्यसको साहित्यिक महत्वबारे विचार व्यक्त गरेका थिए । परिसंवादमा सेवा भट्टराईले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् भने डा. रजनी ढकाल र डा. अलका आत्रेय चूडाल वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा महिला सहजकर्ता तथा वक्ताहरूको सहभागिता रहेको थियो । परिसंवादपछि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। प्रश्नोत्तरका क्रममा खगेश्वर गौतम, विष्णुप्रसाद भण्डारी, सिर्जना ज्ञवाली, मदनराज थापा, डा. भागवत ढकाल, सुभाषचन्द्र पोखरेल र कोषराज न्यौपानेलगायतले ऐतिहासिक तथा पौराणिक उपन्यास लेखनसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली उपन्यासको विगतदेखि वर्तमानसम्मको यात्रा, ऐतिहासिक तथा पौराणिक विषयवस्तुको प्रयोग र यस क्षेत्रमा भइरहेका साहित्यिक गतिविधिबारे विचार आदानप्रदान गरेका थिए । परिसंवादले नेपाली उपन्यासमा इतिहास र मिथकको प्रयोग, त्यसको बदलिँदो स्वरूप तथा समसामयिक सन्दर्भमा यसको प्रासंगिकतामाथि थप बहसका लागि आधार निर्माण गरेको आयोजकले जनाएको छ ।