कविता-हिन्दी
काठमाडौं ।
नेपाली मौलिक लोकसंगीतमा सक्रिय गायक दिपेश लामा र गायिका श्रेया राईको स्वरमा नयाँ गीत ‘लमजुङको गाउँमा’ सार्वजनिक भएको छ । गोरखा सिरानडाँडाका गायक लामा पछिल्लो समय मौलिक लोकगीतमार्फत नेपाली गाउँघर, संस्कृति र लोकजीवनलाई गीत–संगीतमा प्रस्तुत गर्दै आएका छन्। ‘लमजुङको गाउँमा’मा पनि लमजुङको ग्रामीण परिवेश, मौलिक संस्कृति र गाउँले जीवनशैलीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
गीतमा ध्रुव केसी र प्रतिमा गुरुङको शब्द रहेको छ भने संगीत तथा निर्माण दिपेश लामाले गरेका छन्। गीतमा बाँसुरीमा रत्न बीके, सारंगीमा हेमन्त कान्छा रसाइली र मादलमा पोसनराज घर्ती मगरले साथ दिएका छन् । गीतको मिक्स तथा मास्टरिङ दिक्षित पौडेलले गरेका हुन् रेकर्डिङ तथा स्टुडियोको काम एकस्टिक नेपालमा गरिएको जनाइएको छ ।
गीतको भिडियोमा कमलबहादुर गुरुङ र प्रतिमा गुरुङ मुख्य भूमिकामा छन्। सन्देश गुरुङले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर कबिर गुरुङले गरेका हुन् भने पोस्ट प्रोडक्सन द ग्रेट फिल्म्सले गरेको छ । भिडियोमा लमजुङका गाउँघर, स्थानीय परिवेश र मौलिक संस्कृतिलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ । गीतले नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।
दिपेश लामाले यसअघि ‘गोर्खामेलैमा’, ‘मायाको गाउँ टेकेर’, ‘जुग जाने माया’, ‘फूलको थुँगा टेकेर’ र ‘दरौँदी खोला तिरैतिर’ लगायतका मौलिक कौडा, झ्याउरे तथा लोकगीतमार्फत आफ्नो पहिचान बनाइसकेका छन् । उनको ‘जुग जाने माया’ बोलको गीतले युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेको छ । पछिल्लो ‘लमजुङको गाउँमा’मार्फत पनि मौलिक नेपाली लोकसंगीतलाई निरन्तरता दिने प्रयास गरिएको छ ।
