• २०८३ श्रावण २८, बिहीबार

दाहाल यज्ञनिधि पुरस्कार भवानी अधिकारी र नवीन सुब्बालाई

काठमाडौँ ।

साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिएको छ । दाहालको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आयोजना गरेको समारोहमा १ लाख ५० हजार रुपैयाँ राशिको पुरस्कार अधिकारी र सुब्बालाई संयुक्त रूपमा प्रदान गरिएको हो । पुरस्कार साहित्यकार एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र सदनकी अध्यक्ष सुधा दाहालले हस्तान्तरण गरे ।

मणिपुरमा रहेर शिक्षणसँगै नेपाली भाषा–साहित्य र पाठ्यक्रम निर्माणमा योगदान र्पुयाएकी अधिकारी तथा नेपाली चलचित्रमार्फत सीमान्तकृत समुदायका कथालाई प्रस्तुत गर्दै आएका निर्देशक सुब्बालाई सम्मान गरिएको अध्यक्ष सुधा दाहालले बताइन्न् । कार्यक्रममा मानवीले नेपाली साहित्य र देशका कुनाकाप्चामा रहेका सिर्जनालाई रेडियो नेपालमार्फत आमजनतासम्म र्पुयाउन दाहालले महत्वपूर्ण भूमिका खेलेको बताइन्। पोखरेलले शिक्षा, साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषाको विकासमा दाहालले र्पुयाएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । साहित्यकार डा. रमेश शुभेच्छुले दाहाल यज्ञनिधि तथा पुरस्कारबाट सम्मानित अधिकारी र सुब्बाको व्यक्तित्व, कृतित्व र सिर्जनाका विषयमा चर्चा गरेका थिए । अधिकारीका ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्यालभित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायत कृति प्रकाशित छन्। उनले विभिन्न कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेकी छन् ।

त्यस्तै, विसं २०४० को दशकदेखि पत्रकारिता तथा चलचित्र समीक्षामार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका सुब्बाले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ र ‘गाउँ आएको बाटो’ लगायत चलचित्र तथा शृङ्खला निर्देशन गरेका छन् उनी हाल ‘लाहुरे जुत्ता’ निर्माणको तयारीमा छन् ।

छ विद्यार्थीलाई बालप्रतिभा पुरस्कार
यस वर्षको ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)बाट कक्षा ८ उत्तीर्ण हुँदा नेपाली विषयमा ४ जिपिए ल्याउने छ विद्यार्थीलाई प्रदान गरिएको छ । २० हजार रुपैयाँ राशि र प्रमाणपत्रसहितको पुरस्कार आराध्या सिंह, प्रतीक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपासना बज्राचार्य र सफलबहादुर खड्काले प्राप्त गरेका छन्। दाहालले लामो समय अध्यापन गरेको दरबार स्कुलमा उनकै नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

दाहालका नाममा स्थापित सदनमा ५१ लाख रुपैयाँको अक्षयकोष रहेको छ । सोही कोषको ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा बालप्रतिभा सम्मान प्रदान गरिँदै आएको छ । समारोहमा सम्मानित अधिकारी र सुब्बासहित सदनका सदस्य डा. विष्णु राईलगायतले मन्तव्य व्यक्त गरेका थिए। डा। गोविन्द आचार्य र देवकुमारी लुइटेल ‘देबु’ले कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्य तथा सञ्चार क्षेत्रका व्यक्तित्व, दाहालका सहकर्मी, शुभेच्छुक र आफन्तको उपस्थिति थियो ।

वि. सं २०१० साउन ८ गते खोटाङमा जन्मिएका दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। नेपाली साहित्य र सञ्चार क्षेत्रमा विशिष्ट योगदान दिएका उनका ‘जदौका निबन्ध’, ‘खुला आकाश’, ‘दाहाल यज्ञनिधिका कविता’, ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ लगायत कृति प्रकाशित छन् ।