• २०८० जेठ १७ बुधबार

प्रेम

प्रथा

प्रथा

अहंकारी होइन
विनयशीलता उसको परिचय हो
स्वार्थी होइन
उदार ह्रदयको अथाह सागर हो
र क्रोधी पनि होइन
करूणाको विस्तारित आकाश हो

शङ्कालु छैन
अटुट विश्वासको चट्टान जस्तै छ
प्राप्तिको लोभ छैन
समर्पणको सदाबहार वसन्त जस्तै छ
र अधैर्य पनि छैन
पर्खाइमा मुस्कुराउने हिमाल जस्तै छ

माग्न जान्दैन
तर दिएर आनन्दित हुन जान्दछ
हैसियत जान्दैन
तर आफैँलाई मेटाएर दिव्य बनिरहन्छ
र भर्न पनि जान्दैन
तर आफूलाई रित्याए पछि आफैँ भरिन्छ !

किनकि
ऊ अनावरण हुन नसकेको प्रेम हो !

प्रेम चाहनेहरू
प्रेमको अर्थ बुझ्न असमर्थ छन्
युगौं बितिसक्यो
मान्छेहरू प्रेमको गीत गाइरहेछन्
समयको चर्खासँगै
मान्छेहरू प्रेमको धुन बजाइरहेछन्
तर पनि सदियौँ देखि
प्रेमको सीमसार मरूभूमि बनिरहेछ !

सायद,
यिनै प्रेमका भिखारीहरू
यो धर्तीबाट प्रेमको अस्तित्व मेटाइरहेछन् !


प्रथा
[email protected]