• २०८३ श्रावण २७, बुधबार

फालेलुङमा स्थानीय कला, साहित्य र सङ्गीत समेटिएका दुई कृति विमोचन

फिदिम ।

पाँचथरको फालेलुङ गाउँपालिकामा स्थानीय कला, साहित्य र सङ्गीतको अभिलेख समेटिएका दुई कृति विमोचन गरिएको छ । फालेलुङ–६ स्थित सेमिच्योङ भवनमा आयोजित कार्यक्रममा फालेलुङ वाङ्मय प्रतिष्ठान विद्वतसभाले प्रकाशन गरेको ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ स्रष्टा अभिलेखीकरण पुस्तक तथा साहित्यकार पूर्ण परिचित जबेगूको गजल सङ्ग्रह ‘शब्दहरूको माङघेन्ना’ विमोचन गरिएको हो ।

पूर्वमन्त्री तथा कोशी प्रदेशसभा सदस्य कमलप्रसाद जबेगू र फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङनिमाले संयुक्त रूपमा दुवै कृति विमोचन गरेका थिए । ‘फालेलुङका कला, साहित्य र सङ्गीतकर्मीहरू’ मा फालेलुङ क्षेत्रमा कला, साहित्य तथा सङ्गीतका क्षेत्रमा योगदान पु¥याएका स्रष्टाहरूको परिचय र योगदानलाई अभिलेखका रूपमा समेटिएको छ। स्थानीय स्रष्टा र सिर्जनाको दस्तावेजीकरण गर्दै फालेलुङको साहित्यिक तथा सांस्कृतिक इतिहास संरक्षणमा कृतिले सहयोग पु¥याउने कृतिकार पूर्ण परिचित जबेगूले बताए । त्यसैगरी ‘शब्दहरूको माङघेन्ना’ गजल सङ्ग्रहमा साहित्यकार जबेगूका विभिन्न गजल समेटिएका छन्। विमोचित दुवै कृतिमाथि साहित्यकार प्रेम ओझा र शिक्षक सुकबहादुर मेयोङहाङले चर्चा गरेका थिए ।

कार्यक्रममा फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू फुङनिमा, राजनीतिकर्मी पुष्प तिमिल्सिना, शिक्षाकर्मी टेकनाथ रिजाल र पनिता राई तथा फालेलुङ–६ का वडाध्यक्ष अमरवीर राई र वडा नम्बर ७ का वडाध्यक्ष टेकबहादुर केरुङले शुभकामना मन्तव्य दिएका थिए । फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कला तथा संस्कृतिको झल्को दिने विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।