• २०८१ भाद्र २५ मङ्गलबार

फरक– ७

सानु शर्मा

सानु शर्मा

जब पहिलोपटक वासुले मलाई ट्वाइलेट लग्यो, म आफ्नो विवशतामाथि कल्पिकल्पी रोएँ ।
एकहप्ता अघिसम्म दुनियाँ हाँकिरहेको म आज यस हालतमा थिएँ– औँला हल्लाउन पनि सक्थिनँ । तिर्खा लाग्दा पानी पिउनका लागि पनि मैले अर्काको मुख ताक्नुपर्ने स्थिति थियो ।
वासु सकभर मेरै वरिपरि भैरहने कोसिस गर्दथ्यो । सुदर्शन पनि सकभर मद्दत गर्न खोज्दथ्यो । सुप्रिया खानासाना खुवाउन अघि सर्थी तर ऊ प्रायः नर्सको व्यवस्था गर्न भनेर कराइरहन्थी ।
फुपू मेरा लागि पूजापाठ गरेर, मलाई प्रसाद ख्वाएर थाक्नुहुन्थेन । सुमन्त सकभर मेरो अगाडि पर्न खोज्दैनथ्यो । श्रेया मलाई उठाउने–बसाउने बहानामा यताउता हात लगाउन चुक्दिनथी । त्यसैले पनि मैले वासुलाई कडा निर्देशन दिएथेँ– श्रेयालाई मेरो बेडरुममा छिर्न नदिन ।

मानिसहरू साँच्चै भन्छन्– आफ्नो र बिरानोको पहिचान केवल दुःखकै बेलामा हुन्छ । यदि यस्तो नहुँदो हो त मैले पनि सायद धनबहादुर काकाको सक्कली रूप कहिल्यै चिन्न सक्ने थिइनँ ।
सधैँ मेरो घरको गेट कुर्ने, बगैँचाको देखभाल गर्ने काका हरेक रात मेरो बेडरुममा धर्ना दिएर बस्दथे । सुत्न जान आग्रह गर्दा उनी कोमल स्वरमा भन्थे– ‘सानो राजा, सारा जिन्दगी सुतेरै बितेको छ, तर अब मलाई लाग्छ आँखा खुल्ला राख्न जरुरी छ । हजुर सुकला होस्, म यहीँ छु ।’
धनबाहादुर काका मेरी आमासँगै यस घरमा भित्रिएका थिए भन्ने मैले सुनेको थिएँ । उनका बाजे–बराजुहरू मेरी आमाको माइतीमा कमारा–कमारी थिए रे ।
काका हाम्रो घरमा भित्रिँदा भरखर जुँगाको रेखी बसेका किशोर थिए रे । उनीसँग मेरो कुनै घनिष्ठता थिएन । भित्र पस्दा, बाहिर निस्कँदा अभिवादन गर्ने भन्दा बढ्ता उनी प्रायः एकदमै आवश्यक नपरेसम्म मेरो अगाडि पर्न पनि आउँदैनथे । उनको घरपरिवार छँदै थिएन या मलाई नै उनको परिवारका बारेमा केही थाहा थिएन, म भन्न सक्तिनँ । त्यसबेला मलाई उनको बारेमा कुनै खोजखबर नराखेकोमा अफसोच लागेर आयो ।

जब पहिलोपटक उनै काकाले मलाई ट्वाइलेट लग्न खोजे, मैले अप्ठ्यारो मान्दै उनीसँग जान अस्वीकार गरेँ । तर उनले अधिकारपूर्वक मेरो ह्विलचेयर धकेल्दै भने– ‘सानो राजा, हजुरलाई त सम्झना छैन होला तर हजुरको बाल्यकाल यिनै दुई हातमा झुलेर बितेको छ । हजुरले कुनै सङ्कोच मान्नै पर्दैन किनभने यी आँखाहरूबाट हजुरको कुनै कोठी, कुनै खत त लुकेको छैन भने…।’
यो मेरो परिवारको मान्छे थिएन तर उसको निष्ठा, आफ्नोपन र रेखदेखमा यौटा न्यानोपन थियो । मेरो मन भारी भयो । मनमा अनेक कुरा थिए तर म केही बोल्न सकिनँ ।
त्यसपछि वासु र काकामै निर्भर भएर मेरो जिन्दगीका हरेक दिन यसरी बिते, जसरी शताब्दी बित्छ ।
मेरो हालतमा कुनै सुधार आउने छाँट देखिएन ।

मेरो अफिस बेडरुममा समेटिएको थियो । कमललगायतका एकदमै विश्वास पात्र र पुरानोमा गनिने कर्मचारीहरू मिलेर मलाई बिजनेस चलाउन मद्दत गरिरहेथे ।
कहिलेकाहीँ मेरो एकदमै जिद्दीमा वासु अफिसमा गएर बसिदिन्थ्यो–जसको सुप्रिया घोर विरोध गर्दथी ।
यसैगरी महिना बित्यो तर म चिन्तित थिएँ– यस्तो तालले कति समय चलाउन सकिएला ? कहिलेकाहीँ मेरो मन साह्रै आत्तिन्थ्यो । म चलमलाउन, उठेर हिँड्न छटपटाउँथेँ । मेरो छटपटाहट देखेर बलिष्ठ शरीरका काका मेरो ह्विलचेयरलाई अनेक तिकडम भिडाएर तलसम्म लैजान्थे अनि मलाई कम्पाउन्डमा र बगैँचामा घुमाउँथे । डाइनिङ् हलमा लगेर खाना ख्वाउँथे, लिभिङ् रुममा बसाएर पत्रिका पढ्न मद्दत गर्थे ।

यो एक महिनामा मैले थुप्रैपटक त्यस युवकलाई आफ्नो घरमा देखेँ, जसको परिचय मसँग ‘कजन’ को रूपमा गराएकी थिई सुप्रियाले ।
लामोलामो कपाल भएको, दुब्लो पातलो, कानमा मुद्री लगाएको त्यस युवकसँग किनकिन अरुचि अनुभव भएथ्यो मलाई पहिलो भेटदेखि नै । ऊ एकदमै सुन्दर थियो तर उसको सुन्दरतामा पुरुषको पौरुष नभएर स्वास्नीमानिसको हाउभाउ र लचक झल्कन्थ्यो । हात नचाएर, नजर बचाएर बोल्ने त्यस पुरुषमा कुन्नि के देख्थी सुप्रियाले, बेला–कुबेला उसलाई घरमा आउने छुट दिन्थी । ऊ घरमा आउनुसँग मलाई कुनै आपत्ति थिएन तर विनाहिच्किचाहट सारा घर चहार्ने उसको नियतसँग चर्को आपत्ति थियो मलाई । उसको उपस्थितिमा श्रेयालाई सधैँ असहज भएको देख्थेँ म । ऊ भरसक त्यो ‘सो कल्ड’ कजन सँग तर्किएर हिँड्थी, थाहा छैन किन ?
अरू पनि धेरै कुराहरू यस्ता थिए जुन मैले यो एक महिना घरमा, ह्विलचेयरमा बसेर नै जानेँ ।

म त्यसरी सारा दिन लिभिङ् रुममा बसिरहनुले खै किन हो सुप्रियालाई असहज बनाउँथ्यो । ऊ मलाई बेडरुममै बसिरहन आग्रह गर्थी अनि उसको त्यो आदेशजस्तै आग्रहसँग चिढिएर म त्यही गर्थें जुन ऊ मलाई नगर्न भन्थी ।
म चाहन्थेँ– ऊ मेरो नजिक बसोस् । मलाई सान्त्वना देओस् । यो विश्वास दिलाउने कोसिस गरोस् कि एकदिन, छिट्टै नै म फेरि आफ्नै खुट्टामा उभिने छु ।
म विनम्र स्वरमा ऊसँग आग्रह पनि गर्थें मेरो छेउमा बसिरहन भनेर तर प्रतिक्रियास्वरूप उसको अनुहारमा झल्कने विरक्तिले मलाई आफ्नो चाहनाप्रति नै पश्चात्ताप लाग्दथ्यो ।
म ग्राउन्ड फ्लोरको गेस्टरुममा सिफ्ट हुन चाहन्थेँ ता कि काकालाई मेरो ह्विलचेयर तलमाथि गराउने कसरत गर्न नपरोस् । तर सुप्रिया म तल आएकोमा त विरोध गर्थी भने झन् तलै सर्ने कुरामा कसरी सहमत हुन्थी ? उसको यो अनुचित विरोधको म कारण सोध्थेँ तर ऊसँग कुनै सही कारण थिएन ।
‘गेस्ट रुम गेस्टहरूको लागि हो । हजुरलाई असुविधा हुन्छ… फेरि हजुर कुनको उठेर हिँडिसिन्छ र ? काका छँदै छैन नि तलमाथि गराउने, खुरुक्क आफ्नै कोठामा बसिस्योस् न ।’ ऊ भन्थी ।
त्यस दिन लिभिङ्रुममा बस्दाबस्दा पट्यार लागेकाले काकाले मलाई भर्खर मेरो बेडरुममा पुर्याएका थिए ।
म मन नलागीनलागी टीभीअघिल्तिर ह्विलचेयरमा बसिरहेथेँ । तिर्खाले मेरो मुख प्याकप्याक भैरहेको थियो ।
निक्कै बेरपछि ढोकामा ढकढकको आवाज सुनेर मैले बडो सकसका साथ अलिकता गर्दन घुमाएर ढोकातिर हेरेँ । तत्कालै मेरा आँखा आश्चर्यले च्यातिएर बाहिर निस्कन तत्पर भए ।

सादा सेतो कुर्था–सुरुवालमा, आकासे रङको राजस्थानी प्रिन्टको सल ओढेकी बिनी ढोकामा उभिएकी थिई ।
आफ्नो लामोलामो केशलाई उसले कसेर पछाडि बाँधेकी थिई । अनुहारमा कुनै मेकअप थिएन । बुच्चो नाक, कान, घाँटी अनि रित्ता नाडी ।
मलाई यस्तो लाग्यो स्वर्गबाट कुनै अप्सरा बाटो बिराएर धर्तीमा ओर्लिएकी थिई ।
‘नारानहिटी दरबार कहाँ छ र कस्तो छ भन्ने मलाई थाहा नभएको भए त म तिम्रो महलको वरिपरि आउने हिम्मत पनि गर्ने थिइनँ सायद ।’ ऊ भनिरहेकी थिई ।
उसको सुमधुर स्वरले मलाई होसमा ल्यायो । मैले च्यातिँदाच्यातिँदा थाकेका आफ्ना आँखालाई केही सेकेन्डका लागि बन्द गरेँ ।
आँखा खोल्दा पनि उसलाई अझै ढोकामा उभिएको देखेपछि मात्र मलाई पत्यार लाग्यो– त्यो मेरो कल्पना थिएन ।
‘त… तिमी… ?’ मेरो मुखबाट निस्कियो ।
‘किन ?’ उसले हिचकिचाउँदै भनी ‘म आउनहुने थिएन र ? मैले त वासुदाइबाट तिमी बिरामी छौ भन्ने सुनेर…।’
‘होइन, होइन…।’ मैले हडबडाउँदै भनेँ– ‘मेरो मतलब त्यो होइन, म त आफूलाई यही विश्वास दिलाउने प्रयास गरिरहेको छु कि तिमी मेरो घरसम्म आइपुगेकी छ्यौ म…म…।’
‘घरसम्म त आइपुगेकी छु तर मलाई लाग्छ– ढोकैबाट फिर्ता पठाउने विचार छ तिम्रो ।’ उसले ठट्टालु पारामा भनी । थाहा छैन कति समयपछि मेरो अनुहारमा हलुका मुस्कान उदायो । मैले हताश स्वरमा भनेँ– ‘उठेर स्वागत गर्न त सक्तिनँ तर पनि तिमीलाई यो अपाहिजको घरमा स्वागत छ ।’
‘धन्यवाद !’ ऊ भित्र मात्र आइन, उसले मेरो ह्विलचेयर धकेलेर मलाई राइटिङ् टेबलनजिक पुर्याई । त्यहीँ भएको कुर्सीलाई मतिर फर्काएर त्यसैमा बस्दै उसले भनी– ‘प्रत्यूष ! समय सधैँ एक समान हुँदैन । जब एक वर्षको छोटो अवधिमा त चार–चारवटा सिजन समेटिएका हुन्छन् भने मान्छेको जीवन त यति लामो हुन्छ । जसरी हामी जाडोलाई न्यानो घामको प्रतीक्षामा, गर्मीलाई शीतलताको प्रतीक्षामा अनि पतझडलाई वसन्तको प्रतीक्षामा बिताइदिन सक्छौँ, त्यसै गरी दुःखको पललाई सुखको आशामा, पीडाको पललाई राहतको आशामा, उदासीको पललाई खुसीको आशामा, आँसुको पललाई मुस्कानको आशामा किन बिताउन सक्दैनौँ भन त ?’
थाहा छैन उसको स्वरमा त्यस्तो के थियो, तर अनायासै मेरो मन हलुको भएर आयो । तथापि मैले आफ्नो डबडबाएका आँखा उसबाट लुकाउन सकिनँ ।
उसले हात बढाएर दुवै हातले मेरा आँखालाई सुस्तरी छोपिदिई केही पलका लागि । अनि फेरि आफ्नो हात हटाउँदै कोमल स्वरमा भनी– ‘उज्यालोको महत्व त्यसबेला झनै धेरै बोध हुन्छ जब अँध्यारोबाट गुज्रिइन्छ । अन्यथा हामी कसरी जान्न सक्छौँ कि रातको पनि आफ्नै महत्व हुन्छ ? जसरी रातको महत्व हुन्छ, त्यसरी नै आँसु र पीडाको पनि महत्व हुन्छ । यदि आँसु नै नभए हामी मुस्कानको महत्व कसरी बुझ्छाँै ? पीडा नै नभए राहतको महत्व कसरी बुझ्छौँ ? जब हामी खुसीलाई हृदयले स्वीकार गर्छौं तब दुःखलाई किन पचाउन सक्दैनौँ ? भन त ?’ उसले बडो आफ्नोपनका साथ मेरा दुवै हात समाई अनि पुनः भनी– ‘अब तिमी आफूलाई नै हेर, आजभन्दा दुई महिनाअघिसम्म कति आत्मविश्वास झल्कन्थ्यो तिम्रो व्यक्तित्वमा ? सारा दुनियाँ जित्ने दृढता देखिन्थ्यो तिमीमा, तर आज ? आज तिमी यति हताश, निराश र दुःखी देखिन्छौ कि विश्वासै लाग्दैन, तिमी त्यही प्रत्यूष हौ, जो गल्ती पनि पूर्ण विश्वासका साथ गर्दथ्यो…।’
‘ब.. बिनी !’ मेरो स्वर थरथरायो ।
उसले मलाई नियालेर हेर्दै भनी ‘जब दुःखको कुनै अन्त्य देखिँदैन तब त्योभन्दा ठूलो दुःखको कल्पना गरेर आफूलाई बहलाउनु नै ठीक हुन्छ । अब मलाई नै हेर न, म आफ्ना ग्राहक आफैँ छान्छु । पैसा आफ्नै मर्जीले तोक्छु । तर मजस्तै पेसामा हुनेहरू यस्ता पनि छन् जो अरूले तोकेको पैसामा, अरूले छानेको ग्राहकसँग, एक रातमा एकपटक होइन, अनेकपटक बेचिन बाध्य हुन्छन् । म उनीहरूको बाध्यताको कल्पना गर्छु अनि भगवानलाई धन्यवाद दिँदै यही सोचेर मन बुझाउँछु कि भगवानले कमसेकम मलाई त्यस स्थितिमा पुग्ने सजाय दिनुभएन ।’
‘बि… बिनी…!’ म अवाक्, उसलाई हेरिरहेँ ।
‘अब तिमीलाई नै हेर, तिमीसँग योभन्दा नराम्रो पनि हुन…।’
‘योभन्दा नराम्रो अरू के हुन सक्थ्यो र मेरो साथमा ?’ मैले उसको कुरा बीचैमा काटेर निश्वास फेर्दै भनेँ ।
‘किन ? तिमी अपाहिजसँगै अन्धो पनि त हुनसक्थ्यौ ?’
‘बि… बिनी…!’
‘मानसिक सन्तुलन पनि गुमाउन सक्थ्यौ ।’
‘फर गड सेक…! अगाडि अरू केही नभन प्लिज…!’ मैले थरथराउँदै उसलाई बीचैमा रोकेँ । म त त्यस स्थितिको कल्पनासम्म पनि गर्न सक्तिनँ जब म होसहवास हराएर आफ्नो लुगा आफैँ च्यात्दै बाटोमा निस्कन्थेँ ।
उसले मलाई ध्यानपूर्वक हेरी अनि भनी– ‘म बस्, तिमीलाई यत्ति नै भन्न चाहन्छु– नराम्रो स्थिति त्यतिबेला झनै नराम्रो बन्न पुग्छ, जब हामी स्वयम् त्यसलाई नराम्रो मानेर हिम्मत हार्दछौँ । जब कि त्यही बेला हामीलाई हौसला र हिम्मतको बढी, सधैँ भन्दा बढी आवश्यकता हुन्छ । प्रत्यूष, यति बेला तिमीले पनि सधैँ भन्दा धेरै हिम्मत जुटाउन आवश्यक छ, किनभने यतिबेला तिम्रो शरीर कमजोर छ । तिमीले मन र आत्मविश्वासलाई पनि कमजोर हुनदियौ भने तिमी साँच्चै नै कमजोर, असहाय हुनेछौ । त्यसैले तिमी आफ्नो आत्मबल दह्रो राख । मनलाई कमजोर हुन नदेऊ । हौसलालाई हार्न नदेऊ । यति बेला तिमी उठेर हिँड्न सक्दैनौ, बाँकी अरू त तिमी त्यही प्रत्यूष होइनौ र जसले यत्रो एम्पायर चलाउन सकिरहेको थियो ? हुनसक्छ अब तिमी तिम्रो बिजनेसलाई अझै फैलाउन नसक्लाऊ तर के यसलाई यथावत चलाइरहन पनि सक्दैनौ ? शरीर पो चलेको छैन, तर तिम्रो दिमाग त उही हो नि, होइन र ? त्यसैले भनेको– प्रत्यूष ! अरूले तिमीमाथि विश्वास गर्नुभन्दा पहिले तिमी आफैँले आफूमाथि विश्वास गर्नु जरुरी हुन्छ । आफूमाथि विश्वास गर ! सोच कि तिम्रो हरपल दौडिरहेको जिन्दगीलाई विधाताले एकैक्षण सुस्ताउने मौका दिनुभएको छ, ता कि केही क्षण सुस्ताएर तिमी अझै रफ्तारका साथ अघिबढ्न सक ।’
मेरा आँखामा फुटेको मूलले खहरेको रूप धारण गर्यो ।
म ह्विलचेयरमा थन्किएदेखि हजारौँ मान्छे मलाई भेट्न आए होलान् । मन्त्रीदेखि सन्तरीसम्म, जजदेखि स्मगलरसम्म, स्टाफदेखि इस्टमित्रसम्म तर कसैको उपस्थिति, कसैको सान्त्वना र कसैको सम्झाइबुझाइले मलाई यति हौसला र आत्मविश्वास दिलाएको थिएन । कसैका शब्द त्यति शक्तिशाली थिएनन् कि ती मेरा कानबाट भित्र छिर्न सकून् तर बिनीले भनेका एकएक शब्द मेरा कानबाट मात्र छिरेनन्, मेरो आत्मामा कुँदिए । मलाई यस्तो लाग्यो– मैले चाहेँ भने म अहिले तुरुन्तै उठेर हिँडिदिन सक्छु । बस्, मैले चाहनु मात्र पर्यो ।
साँच्चै नै, त्यति नै सजिलो थियो हरेक समस्यासँग पार पाउन ? हरेक निराशा र अन्धकारबाट मुक्ति पाउन ? म आँसु झार्दै सोचिरहेँ ।
यतिखेर मभित्र यति धेरै आत्मविश्वास पलाएको थियो, मलाई लाग्यो– मभित्र रुमल्लिरहेको बाक्लो न बाक्लो अन्धकार अब पातलिएको छ । अब बाटोको खाका, धमिलै सही, आँखाले नाप्न सक्ने भएको छ ।
एकपटक आफूमा आत्मविश्वास के पलाएको थियो– यस्तो लाग्यो सारा निराशा, सारा अन्योल पन्छिएर एक्कासि आशाको किरण जगमगाइरहेछ मेरोसामुन्ने ।
उसले मेरो आँसु पुछिदिई । म स्वच्छ भावले मुस्कुराएँ ।
‘द्ट्स् द स्पिरिट,’ उसले मलाई प्रोत्साहित गर्दै भनी– ‘अब बल्ल लाग्यो, म त्यही प्रत्यूषको सामुन्ने छु । अँ यो दाह्रीले अझै शतप्रतिशत प्रत्यूष झल्कन सकेको छैन तर यति बेला मलाई यही प्रत्यूषसँग पनि कुनै आपत्ति छैन ।’ उसले सस्नेह, आफ्ना दुवै हातले मेरो दारीले ढाकेको अनुहार सुमसुम्याई । मेरो फेरि भरिएको आँखा पुछी । मेरो मन ढक्क फुल्यो । तथापि म केही बोलिनँ । डबडबाएका आँखाले उसलाई हेरिरहेँ ।
लगभग २–३ घन्टा हामीले पत्तै नपाई समयको पोल्टाबाट चुहिएर घडीको अङ्कमा समेटिए । सारा समय प्रायः बिनी नै बोलिरही । म सुनिरहेँ । उसका एक–एक शब्द मैले यसरी सुनेँ मानौँ म कुनै गीता, कुनै भागवत् सुनिरहेथेँ ।
‘अब त म जानुपर्छ होला ।’ उसले अचानकै भनी– ‘निक्कै ढिलो भयो, मलाई टाढै पुग्न…।’
‘अहिल्यै ?’ मैले हडबडाउँदै भनेँ– ‘तिमी आएको कति नै भयो र ?’ उसले मेरो अनुहारमा झल्केको हताश र निराश भावलाई हेरी अनि बिस्तारै भनी– ‘जानैपर्छ मैले, एक घन्टा ढिलो र एक घन्टा चाँडोले के फरक पर्छ, भन त ?’
म चाहन्नथेँ, मेरो अनुहारमा कुनै दयनीय भाव झुल्कियोस् तर उसको अनुपस्थितिको कल्पना मात्रै गर्दा पनि मेरो स्थिति यति दयनीय देखियो– मलाई आफ्नो स्थितिमाथि फेरि रुन आयो । उसको आगमनले वर्षाएको तिर्खाले मेरो मुख मात्र सुकेन, मन पनि व्याकुल बनायो । मैले आफ्नो सुक्दै गएको ओठ–मुखमा जिब्रो चलाएर थुकले भिजाउने प्रयत्न गरेँ ।
उसले केही नबोली साइडको टेबलमा भएको जगबाट ग्लासमा पानी खन्याएर ग्लास मेरो ओठसँग जोडिदिई । कसरी बुझी उसले मेरो तिर्खा ? म उसको अनुहारमा हेरेर सोचिरहेँ ।

‘के हुँदैछ यहाँ ?’ अचानक सुप्रियाले भित्र प्रवेश गर्दै दबङ्ग स्वरमा सोधी– ‘को हो यो ?’

बिनी हडबडाई । उसको हातमा भएको ग्लासबाट छचल्केर अलिकति पानी मेरो शरीरमा पोखियो तर मैले सन्तुलित स्वरमा भनेँ– ‘सि इज माइ नर्स, बिनी ।’
बिनीले अविश्वास र आश्चर्यपूर्ण भावले मलाई हेरी तर ऊ केही बोलिन । सुप्रियाले केही बेर सन्देहपूर्ण भावले हामी दुवैलाई पालैपालो हेरी अनि रुखो स्वरमा भनी‘ ‘धन्नै हो, एउटा कुरा त मानिस्यो हजुरले मेरो । अब कमसेकम एकएक जनाले पालो गरेर हजुरलाई ड्युटी दिइरहनु त पर्दैन ।’
सुप्रियाको कुरा सुनेर बिनीले टाउको उठाएर चकित हुँदै पहिले सुप्रियालाई हेरी अनि मलाई । मेरो ओठमा उदास मुस्कान उदायो ।
सुप्रिया भन्दै थिई– ‘तर हजुरले राम्ररी कुरा त गरिस्यो नि ? वि निड अ नर्स फर ट्वान्टिफोर÷सेबेन ।’
‘त…तर म त…!’ बिनीले बोल्न खोजी तर मैले उसलाई अगाडि बोल्ने मौकै नदिई भनेँ– ‘एस, सि विल बि हियर फर ट्वान्टिफोर ÷सेबेन, यु डोन्ट वरी…।’
केहीबेर ऊ अनिश्चित भावले त्यसै उभिइरही । बिनी अप्ठ्यारो मानेर मेरो ह्विलचेयरको पछाडि उभिइरही । म अत्मविश्वासपूर्वक सुप्रियाको आँखामा हेरिरहेको थिएँ ।
‘ओके द्यान…।’ आखिरमा सुप्रियाले पटाक्षेप गर्दै भनी– ‘हजुरको डाक्टरले अलि अनुभवी, पाको नर्स खोज्न सक्थेन ? नर्स खोज्न पनि मोडलिङ् एजेन्सी नै पुगेजस्तो छ ।’ उसको स्वरमा ईष्र्याको भाव प्रस्ट समावेश थियो । म केही बोलिनँ ।
‘केही चाहिन्छ ? केही मगाउनु छ ?’ फेरि उसैले सोधी– ‘म बाहिर जाँदैछु ।’
‘तर सुप्रिया, तिमी त भर्खर बाहिरबाट फर्किएकी होइनौ र ?’
‘के भो त ?’ उसले उपेक्षापूर्वक भनी– ‘एकपटक बाहिर गएर आएर अर्कोपटक जान हुँदैन र ? त्यसमाथि पनि अब त हजुरको हेरचाह गर्ने नर्स छँदैछे ।’
‘एस, मे बि यु आर राइट ।’ मैले खिन्न स्वरमा भनेँ । ऊ बाहिर निस्की ।
‘तिमीले किन झुटो बोलेको ?’ सुप्रिया ढोकाबाट निस्कनेबित्तिकै बिनीले मेरो अगाडि आउँदै भनी ।
‘यसमा झुटो के छ र ? के तिमी मेरो आग्रहमा, मेरो हेरबिचार गर्न यहाँ बस्न सक्तिनौ र ?’ मैले आग्रहपूर्ण स्वरमा सोधेँ ।
‘तर प्रत्यूष म कहाँ… तिमीलाई अनुभवी नर्सको आवश्यकता छ । म त नर्स पनि होइन…त्यसमाथि चौबीस घण्टा त…।’
‘प्लिज, मेरो निम्ति बसिदेऊ न…।’ मैले उसलाई उछिन्दै भनेँ– ‘एक्लोपनसँग आत्तिएर मरिदिन मन लाग्छ कुनैकुनै बेला त । तर हेर न मेरो बाध्यता ! अहिले त मलाई आत्महत्या गर्न पनि अरूकै सहायता चाहिन्छ । मलाई लाग्छ मेरो विवशतालाई नर्सको होइन, यौटा सहृदयी साथीको आवश्यकता छ । यदि तिमी यहाँ भयौ भने कमसेकम मेरो एक्लोपन त कम हुनेछ । अनि त्यसका लागि तिमीले नर्स नै हुन जरुरी छैन । प्लिज…!’
ऊ सोचमग्न देखिई ।
‘तिमी धन्दा नमान,’ मैले हतारिँदै भनेँ– ‘म तिम्रो एकएक मिनेटको मूल्य चुकाउन आज पनि सक्षम छु र चुकाउने पनि छु । एडभान्समै पैसा चाहन्छ्यौ भने पनि म दिन तयार छु । बिनी प्लिज नाइँ नभन । हेर तिमी यहीँ बसे पनि तिम्रो बिजनेस त…।’
‘प्रत्यूष !’ उसले तीखो स्वरमा भनी ‘यो शरीर जतिपटक र जसजसलाई बेचे पनि बिनीले आत्मा बेचेर अहिलेसम्म खाएकी छैन, न त कहिले खाने नै छे । रह्यो कुरा बिजनेसको । सुन, बिनी जतिसुकै प्रोफेसनल भए पनि अपाहिजको ह्विलचेयर धकेलेको ज्याला उसले लिन जानेकी छैन ।’
मलाई यस्तो महसुस भयो, मानौँ कसैले ममाथि हिउँजस्तो चिसोपानी खन्याइदियो । के मद्दत त्यसरी नै मागिन्छ, जसरी म मागिरहेको छु ? म जतिसुकै धनाढ्य सही तर आज त्यहाँ थिएँ, जहाँ म कसैको सहयोगविना तिर्खा लाग्दा एक ग्लास पानी पनि आफैँ पिउन सक्तिनथेँ भने, कसरी कसैको मूल्य चुकाउने घमन्ड गर्दैथिएँ ? मेरा आँखा आत्मग्लानि र पश्चात्तापले मात्र होइन, आँसुको नमीले भिजे । मैले काँतर स्वरमा भनेँ– ‘स.. सरी ! आइ डिन्ट मिन द्याट..बट..मलाई माफ गर प्लिज ।’
केही बेर लाग्यो उसको अनुहारको आक्रोश मेटिन । त्यसपछि ऊ मेरो सामुन्ने आई अनि कोमल स्वरमा भनी– ‘एकदिन आफ्नै खुट्टामा उभिएर, आफ्नै हातले दियौ भने, म तिमीसँग आफ्नो एकएक मिनेटको मूल्य माग्नेछु तर यति बेला होइन…।’
‘तर…तर म कहिल्यै उठ्न सकिनँ भने ?’ मैले दुःखी स्वरमा भनेँ ।
उसले हात बढाएर मेरो हात समाती अनि दृढ स्वरमा भनी ‘पहिले त त्यस्तो केही हुनेवाला नै छैन । तिमी छिट्टै आफ्नो खुट्टामा उभिने छौ, मलाई पूर्ण विश्वास छ । तर यदि त्यस्तो केही भैहाल्यो भने पनि म यही सोचेर चित्त बुझाउने छु कि मासुको व्यापारबाट केही समय फुर्सद निकालेर नै सही, बिनी पनि चारधाम घुमेर आई ।’
‘तिम्रो यो भनाइलाई म तिम्रो स्वीकृति सम्झूँ ?’ मैले आशापूर्ण भावले उसको आँखामा हेर्दै सोधेँ । उसले केही पलका लागि स्थिर भावले मलाई हेरी अनि मुस्कुराउँदै भनी– ‘यस सर, योर नर्स इज एट योर सर्भिस सर, फर ट्वान्टिफोर आवर्स…।’
उसको स्वीकृतिले मानौँ मेरा आँखामा यौटा होइन, कैयौँ सूर्य उदाए ।
क्रमशः
(यो श्रृङ्खला हरेक सोमबार र शुक्रबार नियमित प्रकाशित हुनेछ ।)