समाचार
काठमाडौंँ ।
हरितालिका तीज नजिकिँदै गर्दा कलाकार तथा सर्जकहरू नयाँ तीज गीतको रेकर्डिङ तथा भिडियो निर्माणमा व्यस्त छन्। यसैक्रममा चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘को मुर्खले लान्छ र मलाई’ सार्वजनिक भएको छ ।
भागिरथ चलाउने र सरिता सुनारको स्वर रहेको गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा जलन विश्वकर्माको शब्द तथा भागिरथ चलाउनेकै संगीत रहेको छ भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।् गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुराली, भोकल सम्पादन राजेन्द्र बाजुराली र रेकर्डिङ सागर बाजुरालीले गरेका छन्। गीतको रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो ।
गीतको भिडियोमा भागिरथ चलाउने र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ। अजय रेग्मीको टिमले छायांकन गरेको भिडियो लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । गायक चलाउनेले यसअघि पनि थुप्रै चर्चित तीज गीत सार्वजनिक गरिसकेका छन्। ‘झमझम झम्काना’, ‘थोपडाले धोका दियो बरिलै’, ‘मायाले त होला’ र ‘मेरा लागि मर्ने केटो मनै परेन’ लगायत उनका गीतले दर्शक तथा श्रोतामाझ लोकप्रियता हासिल गरेका छन् ।
यस वर्ष सार्वजनिक गरिएको ‘को मुर्खले लान्छ र मलाई’ ले पनि श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक चलाउनेले बताएका छन्। तीज नजिकिँदै गर्दा सार्वजनिक भएको यो गीतले तीज गीतको बजारमा थप उत्साह ल्याउने अपेक्षा गरिएको छ ।
