समाचार
काठमाडौं ।
कवि अलका मल्लको कविताकृति ‘मनका तरंग’माथि परिचर्चा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकारले कवि मल्लका कविताको प्रशंसा गर्दै उनका कविता जहिले पढ्दा पनि नयाँ कविता नै पढेजस्तो लाग्ने बताए । उनले मल्लका कवितामा जीवनका यावत भाव समेटिएको चर्चा गरे । कवि विश्वविमोहन श्रेष्ठले नेपाली काव्य जगत्मा कवि मल्लको उपस्थिति सार्थक रहेको बताए । यो प्रारम्भ भएको र यसभन्दा पनि अगाडि पनि पुग्नुपर्ने भएकोले काव्यलाई निरन्तरता दिन सुझाए ।
कार्यक्रमको सहजीकरण गर्दै प्रा.डा. सनतकुमार वस्तीले कवि मल्लका कवितामा सकारात्मक सोच र अभिव्यक्तिको तरंग समेटिएको बताए । कवि तथा लेखक प्रकाश सायमीले मल्लको काव्य लेखनको चर्चा गरे । कवि तथा निबन्धकार धु्रव जोशीले मल्लको पुस्तकमा थोरै मात्र रहेको गजलहरूले आफूलाई तानेको बताउँदै गजल लेखनलाई पनि निरन्तरता दिन भने । कृतिका सम्पादक माधव घिमिरे अटलले मल्लका कवितामा भावनाका, द्वन्द्वका, मिलन र बिछोडका तरंगहरू भेटिने उल्लेख गरे । कवि मल्लले आफ्ना केही कविता वाचन गर्दै आफ्नो लेखनकर्मबारे बोलिन् ।
कार्यक्रममा कवि साहित्यकार उषा शेरचन, सुनी सिंह, बिटु केसी, रामचन्द्रमान सिंह, रेणु लक्ष्मी सिंह, नरेश भट्टराई, शैलेश सिंह, विक्रमभक्त जोशी, राजेन्द्र शलभ, सुरेश श्रेष्ठले कृतिभित्रका कविता वाचन गरे भने प्रकाशचन्द्र श्रेष्ठ र मथुरा प्रधान श्रेष्ठले गीत गाएर सुनाए ।
