• २०८१ असार १२ मङ्गलबार

तिम्रो अभाव

शीतल पौडेल

शीतल पौडेल

त्यसो त,
अक्षरहरुले पुरिने खाल्डो होइन
तिम्रो अभाव ।
तर हरबार,
म शब्दहरुलाई त्यही खाल्डोमा होमिने
आदेश दिइरहन्छु ।

तिम्रो अभाव,
एउटा बिकराल खाल्डो प्रतीत हुनु
अनि बाँकी सबै खाल्डाहरु समथर लाग्नु ! तिम्रो अभाव,
एउटा महाकाव्य लाग्नु
अनि सिङगो जगत एउटा फुट्कर कविता लाग्नु !
तिम्रो अभाव,
बोटबाट फूल खसेजस्तो लाग्नु
अनिबाँकी सबै अभाव पत्झड मात्र लाग्नु !
तिम्रो अभाव,
मलाई असिना बनेर सताउनु
अनि बाँकी सबथोक मात्र बाछिटो बनेर सताउनु !
तिम्रो अभाव,
मलाइ डट्पेन प्रतीत हुनु
अनि बाँकी सबै अभाव इरेजर सहितका सिसाकलम लाग्नु !
अनि
बिस्तारै
मसँग भिन्चीको कला हुनु,
तिमी अन्धो हुनु !
मसँग देवकोटाको कला हुनु,
अनि तिमी निरक्षर हुनु !
मसँग चौरासी ब्यञ्जन हुनु,
तिमी उपवासमा हुनु !
तिमीसँग रुप हुनु
मसँग नहुनु !
तिम्रो मनमा लेख्न
मसँग एउटा सुन्दर हरफ हुनु,
अनि तिम्रो मन पानीको सतह भैदिनु !
मैले यी संयोगहरुको सम्मान गरे ।
यी संयोगहरुले मलाई दया समेत गरेनन्
कुनै दिन लागोस् मलाइ
तिम्रो अभाव
जस्तो कि
सुर्य पुर्वबाट उदाउनु,
पानी बग्नु,
आकाश निलो हुनु ।
त्यसो त,
अक्षरहरुले पुरिने खाल्डो होइन
तिम्रो अभाव ।

तर हरबार,
म शब्दहरुलाई त्यही खाल्डोमा होमिने
आदेश दिईरहन्छु ।
कुनै दिन संगालेर साहस
म लेख्नेछु एउटा पत्र,
विचित्रको पत्र
त्यही खाल्डोको नाममा
जुन पत्रभरी
हुने छैन कुनै ‘डिका’ को अस्तित्व ।
हुने छन् सबै अक्षरहरु बेग्ला बेग्लै, छुट्टा छुट्टै ।
किनकि,
बाँधिएका, जोडिएका हर चिजदेखी
मात्र ईष्र्या लाग्छ मलाइ ।


शीतल पौडेल