समाचार
काँडामा पैताला राखी हिँडिरहेको यात्रुलाई
फूलको बगैँचामा किन नहिँडेको भनी
प्रश्न नगर्नु !!
एकतर्फी प्रेममा परेर टुटेको हृदयलाई
‘माया त संसार हो, खै त प्रेमी ?’ भनी
प्रश्न नगर्नु !!
च्यातिएको कपडा लगाएर हिँडिरहेको
मानिससँग कुनै ब्रान्डेड कपडाको
चर्चा नगर्नु ।
त्यहाँ कसैको ब्रान्डको
अनि धनी भनिएको
त्यो रित्तो दिमागले गर्ने
चर्चाभन्दा कैयौँ गुणा बढी
गुण त त्यही पुरानो कपडाले कमाएको हुन्छ,
जसले यो खोक्रो र
आडम्बरी संसारमा
उसको लाज त छोपिदिएको हुन्छ !!
थाहा छैन इज्जत–इज्जत भन्छन् मान्छेहरू
तर अन्धो समाजमा त्यो इज्जत कहाँ छ ?
मनले खोक्रो भएको प्राणीले
अरूलाई प्रहार गर्न सक्ने
इज्जतविहीन मानसिकता बोकेको जहाँ छ,
त्यहाँ साँचो मानव हुनु भनेको
सत्य र विनम्र शब्दले
अर्कालाई सम्मान दिन सक्नु हो ।।
भोकाएको मानिसलाई
‘मीठो किन नखाएको ?’ भनी
प्रश्न नगर्नु ।
दिनभरि खटेर पनि
हातमा परेको गाँस
कुनै लुटेराले लुटिदियो ।
‘यो भन्नुभन्दा ठिकै छु भन्नु नै उचित हुन्छ’
भन्ने सोच पलाएपछि
उसको सहयोग माग्न तयार भएको मन
चिनेको अनुहारसँग ठोक्किनेबित्तिकै
क्षणभरमै बदलियो ।
त्यसैले
उसको निर्णय पनि बदलियो।।
आखिर भोकको कहानी,
च्यातिन आँटेको कपडा,
खुट्टाले टेकेको जुत्ताको
मुनी बिझिरहेको काँडा
यी सबै त
कहिल्यै नदेखेका अनुहारहरूसँग मात्र
भन्न सकिने रहेछ ।
यहीँबाट
उसको दिमागमा
सम्बन्धहरूको परिभाषा
बदलियो ।।
गोजी रित्तो थियो,
चाडपर्व मुखैमा आएको थियो।
भन्न नसकेका
अनगिन्ती कुरा मनमा थिए ।
सहयोग माग्न मिल्ने
एउटा रिसाहा हाकिम अगाडि थियो ।
साँझमा भेट्ने
सिंहझैँ गर्जिने धनी मालिक थियो।
दुवै स्थानमा,
जहाँ नबिराएका तमाम लाञ्छना
र तिरस्कारका सयौँ गोली
खानु बरु सजिलो थियो,
तर कुनै पनि हालतमा
आफ्नो समस्या भन्न
मनाही थियो ।।
त्यही दिनदेखि
जीवन उसलाई
तमाम प्रश्नहरूको पुन्जजस्तै
लाग्न थाल्यो ।
जहाँ न्याय, आशा र सहयोगको
अपेक्षा राख्नसमेत मनाही थियो।
जहाँ फेरि बाँच्न सफल भएपछि
यसो आँखा मात्र के उघारेको थियो,
लाइनपछि लाइन
सम्बन्धका व्यापारीहरूले
उसको आफ्नै दैलो घेरेका थिए ।
भोज, दान, सेवा गर्नुपर्ने भन्दै
संस्कारका यावत् शिक्षा दिन
तिनै अनुहारहरू आइपुगेका थिए,
जुन अनुहारबाट हिजो
उसले एक बुँद सहयोगको
आशा त के
कल्पनासमेत गर्न सकेको थिएन ।
ऊ मुकदर्शक भएर
विगतमा फर्कियो ।
फेरि घेरेको झुटो संसारमा
एक नजर डुलायो ।
अन्त्यमा
आफैँलाई एकपटक नियाल्यो
अनि भन्न थाल्यो
कमसेकम
रोग, भोक र शोकमा
एउटा शब्दसमेत दिन नसक्ने
यो भीडले
प्रश्न गर्न मात्र सिकेको रहेछ ।।
आफ्नैलाई गुलाम बनाएर
परीक्षा लिन बानी परेकाहरूलाई
अर्को व्यक्ति
आफ्नै मेहनतले
काँडाको यात्राबाट
खुसीको शिखरसम्म पुगेको
हेर्न पनि गाह्रो हुने रहेछ ।
आखिर जीवनमा
बेतुकका प्रश्न गर्न जन्मेकाहरूलाई
असहाय अवस्थाका मानिसका लागि
नम्रताको दियो बाल्न
अत्यन्त गाह्रो हुने रहेछ !!
यो समाजका अराजकताहरूको
अभिनयबाट
एउटा प्रेरणाको जन्म भयो
जीवनयात्राको कठिन मोडमा
नजर लगाउन नसक्नेहरू,
मेरो निजी जीवनबारे
परिचितजस्तै बनेर
प्रश्न नगर्नु ।
बरु म
आफ्नै आत्माबाट
कर्तव्यबोध गरेर
अब जस्तोसुकै कठिन मोडमा पनि
अपरिचितसँग
अन्ताक्षरी खेल्न तयार छु ।
सुशिला शर्मा “शिलु”