• २०८३ श्रावण २०, बुधबार

साहित्यकारद्वय डा. अमर गिरी र शशिराम कार्की पुरस्कृत

नेपालगन्ज ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा पु¥याएको योगदानको कदर गर्दै दुई जना वरिष्ठ साहित्यकारहरुलाई नगदसहित पुरस्कृत र सम्मानित गरेको छ ।प्रतिष्ठानले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. अमर गिरीलाई २५ हजार ५५५ रुपियाँ नगदसहितको ‘पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ भने वरिष्ठ साहित्यकार शशिराम कार्कीलाई सात हजार ७७७ रुपियाँ नगदसहितको ‘तुलसीराम स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सनत रेग्मी, हाम्रो पूर्णिमाका अध्यक्ष डा पुष्कर रिजाल, तुलसीराम स्मृति पुरस्कारकी संरक्षक पवित्रा ढकाल र पूर्णिमाका सल्लाहकार महानन्द ढकालले संयुक्त रूपमा दुवै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । प्रमुख अतिथि रेग्मीले नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरुलाई पुरस्कृत र सम्मानित गर्न पाउँदा निकै गर्व महसुस भएको बताउनुभयो । पुरस्कृत र सम्मानित हुनुभएका दुवै स्रष्टाले पूर्णिमा साहित्य प्रतिष्ठानजस्तो देशकै सक्रिय र आशलाग्दो साहित्यिक संस्थाबाट सम्मानित हुन पाउँदा अतिनै खुशीको अनुभव भएको बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा हाम्रो पूर्णिमाका सचिव तथा कवि केशव निमेषको कविता संग्रह ‘मृत्युगञ्जको मौनता’ को गृहविमोचन गरिएको थियो । कृतिको विमोचन साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कवि निमेषका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गर्नुभयो । विमोचनपछि ‘मृत्युगञ्जको मौनता’ माथि विमर्श गरिएको थियो । कार्यक्रममा साहित्यकारहरु डा. इन्द्र भण्डारी, केशव निमेष, जित बहादुर शाह, सुमित्रा न्यौपाने, प्रदीप भट्टराई, कपिल अन्जान, विष्णु पादुका, चरित्रा शाह, दामोदर पौडेल, प्रकाश मरासिन, सागर गैरे लगायतको सहभागिता थियो ।