• २०८३ श्रावण २०, बुधबार

घिमिरेको कवितासंग्रह ‘आइतबारको अफिस’माथि परिचर्चा सम्पन्न

काठमाडौं ।

कवि तथा बैंकर युवराज घिमिरेको पहिलो कविताकृति ‘आइतबारको अफिस’माथि परिचर्चा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा समालोचक प्रा.डा. हेमनाथ पौडेलले कृतिको चर्चा गर्दै आफूले कविलाई उनका कविताबाट चिनेको बताए । उनले कविताको विचार, पद्दति, कला र शैलीबारे चर्चा गर्दै घिमिरेले कवितामा आफ्ना भोगाइ प्रस्तुत गरेको उल्लेख गरे ।

कविताकृतिमाथि बोल्दै कवि मित्रलाल पंज्ञानीले विनारसको कविता नहुने भन्दै घिमिरेका कविताहरूमा काव्यरस रहेको बताए । उनले निम्न र निम्नमध्यम वर्गका जीवनका अनेक प्रसंग कवितामा समेटिएको चर्चा गरे । साहित्यकार धु्रव मधिकर्मीले कवि घिमिरेलाई शुभकामना दिँदै उनका कवितामा जीवनका अनुभूति समेटिएको बताए । कवि घिमिरेले आफूले कविता लेखेको बाँकी पाठकको जिम्मामा रहेको बताउँदै दुई दशकअघिदेखि नै कविता लेख्न थालेको बताए ।

उनले कृतिभित्रबाट आफ्नो कविता वाचन गरे । भूगोल साहित्य समाजले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरू विनोद नेपाल, कणाद महर्षि, दिनेशविक्रम थापा, उद्धव खनाललगायतले आफ्ना धारणा राखे । कार्यक्रममा शैलेन्द्र शाह, हरिश्चन्द्र गौतम, लक्ष्मी बस्याल घिमिरे र मुकुन्द अर्यालले कृतिभित्रबाट कविता वाचन गरे ।