• २०८३ श्रावण २०, बुधबार

कुतः पिकाक प्रकाशन द्वारा तीन जना स्रष्टा पुरस्कृत

काठमाडौँ ।

कुतः पिकाक प्रकाशनले भक्तपुरमा एक कार्यक्रम आयोजना गरी तीन जना स्रष्टालाई पुरस्कृत गरेको छ । ३२ वर्षदेखि अविच्छिन्न रूपमा प्रकाशन हुँदै आएको ‘लुँध्वाखा’ पत्रिकामा प्रकाशित १७२ लघुकथामध्ये उत्कृष्ट छनोट गरी तीन स्रष्टालाई नगदसहित पहिलो, दोस्रो र तेस्रो घोषणा गर्दै पुरस्कृत गरिएको हो । कार्यक्रममा ‘मुकुट’ शीर्षकको लघुकथाका सर्जक दिव्य गिरि ५५ हजार रुपैयाँ नगदसहित पहिलो भए। यस्तै दिव्या ताम्राकार ३५ हजार रुपैयाँसहित द्वितीय र मनदेवी ताम्राकार २५ हजार रुपैयाँ नगदसहित तेस्रो भएका छन् । समाजसेवी कृष्णलाल प्रधानका आमाबुबा कृष्णमाया तथा हर्षलालको स्मरणमा दुई वर्षको अन्तरालमा एक पटक स्रष्टाहरूलाई पुरस्कार प्रदान गर्दै आएको आयोजक संस्थाका विमल ताम्राकारले जानकारी दिए ।

नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले लघुकथा प्रतियोगितामा सहभागी स्रष्टाहरूलाई पुरस्कारका लागि छनोट गरेका थिए । कार्यक्रममा बोल्दै आधुनिक कवि डा. योगेन्द्र प्रधानले नेपालभाषाको साहित्य क्षेत्र उदार भएकाले गैर–नेपालभाषामा रचना गरिएको लघुकथालाई समेत पुरस्कारको भागीदार बनाएको बताए। भाषिक आदानप्रदानलाई निरन्तरता दिँदै नेपालका विभिन्न विधाका फरक भाषामा रचना गरिएका साहित्यको श्रीवृद्धि, विकास तथा सुदृढीकरण गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेवाः अमेरिकन दबूका संस्थापक अध्यक्ष मनोरञ्जन नारायण धौभडेललाई संस्थाको संरक्षक सदस्य नियुक्त गरियो। कार्यक्रममा संस्कृतिविद् डा. चुन्दा बज्राचार्य, प्राज्ञ अगिब बनेपाली, आशा सफू गुठीका अध्यक्ष शरद कसाः, विष्णुकेशरी ताम्राकार, नेपाल साहित्य मन्दिरका अध्यक्ष माणिक बाबु ग्वंगः, लघुकथा केन्द्रकी लता केसी, न्ह्यज्या खलःका कृष्णमोहन जोशी, विमल भौकाजीलगायतको उपस्थिति थियो ।