• २०८३ श्रावण १६, शनिबार

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ सार्वजनिक

काठमाडौँ ।

नुवाकोटका युवा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । राई–लिम्बू समुदायको सांस्कृतिक परिवेश, प्रेम र आत्मीय सम्बन्धलाई आधार बनाएर तयार गरिएको गीतमा एनिश एन्जल राईको शब्द तथा संगीत छ । लोक स्वादलाई आधुनिक संगीतसँग संयोजन गर्दै सुनिल थापा मगरको स्वरमा गीत प्रस्तुत गरिएको छ ।

गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन् । गीतको म्युजिक भिडियो मकवानपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोमा गायक सुनिल थापा मगर र अभिनेत्री रेबिका मगरको अभिनय छ ।भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन् । छायांकन तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठ, निर्माण व्यवस्थापन योगेश राना मगर, मेकअप प्रिया मगर तथा निर्देशन, सम्पादन र कलर ग्रेडिङ एकान्त मगरले गरेका हुन् ।

गीतले प्रेमकथासँगै राई–लिम्बू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई पनि प्रस्तुत गर्ने प्रयास गरेको छ । लोक सांगीतिक स्वाद र आधुनिक प्रस्तुतीकरणको संयोजनले ‘सोल्टिनी सेवारो’ले दर्शक–श्रोतामाझ थप लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ ।