• २०८३ श्रावण २१, बिहीबार

साहित्यकार भुवन गिरीको पहिलो उपन्यास ‘संसारी’ विमोचन

काठमाडौँ ।

साहित्यकार भुवन गिरीको उपन्यास ‘संसारी’को शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ सदस्य पशुपति गुरुङको सभापतित्व तथा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा रमेशकुमार ढुंगेलको प्रमुख आतिथ्यमा उपन्यासको सामूहिक विमोचन गरिएको हो ।

कार्यक्रममा स्रष्टा भुवन गिरीले आफ्नो पहिलो उपन्यास लेखनको प्रेरणा, सिर्जनात्मक यात्रा तथा कृतिको विषयवस्तुबारे धारणा राख्नुभएको थियो। उपन्यासमाथि समालोचनात्मक टिप्पणी गर्दै प्राडा षडानन्द पौडेलले ‘संसारी’ नेपाली उपन्यास साहित्यमा समसामयिक जीवन र सामाजिक यथार्थता प्रस्तुत गर्ने सशक्त कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । त्यसैगरी ‘संसारी’का सम्पादक बालकृष्ण दाहाल(बिकेडी)ले कृतिको सम्पादन प्रक्रिया, संरचना तथा साहित्यिक महत्वबारे प्रकाश पार्दै उपन्यासले पाठकमाझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

प्रमुख अतिथि प्राडा रमेशकुमार ढुंगेलले नयाँ स्रष्टाको पहिलो कृतिको प्रकाशन साहित्यिक क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको उल्लेख गर्दै यस्ता सिर्जनाले नेपाली साहित्यलाई थप समृद्ध बनाउने धारणा व्यक्त गरे ।